Sat, 19 Oct, 2019


अर्जुन कपुरलाई पेस्तोल ताक्दा...
सुर्वण थापा
फरकधार / भदौ २७, २०७६
फिल्म इन्डियाज माेस्ट वान्टेडकाे एउटा दृश्य । याे पाेखरमा छायांकन भएकाे दृश्य हाे ।

सुर्वण थापा 
 



काठमाडौं– म लामो समय फ्रान्समा बसेँ । झन्डै १७ वर्ष । बीचबीचमा नेपाल आएर काम त गरिरहेको थिएँ तर त्यसले मेरो चित्त बुझेको थिएन । बीचबीचमा नेपाल आएर काम गर्दा जुन रुपमा म सन्तुष्ट हुनुपथ्र्यो, त्यो हुन सकेको थिइनँ । 

त्यसैले मैले दुई वर्षअगाडि नेपालमा नै बसेर काम गर्ने मनासय बनाएँ र फ्रान्सबाट फर्किएँ । यी दुई वर्षमा मैले निरन्तर नेपाली सिनेमा क्षेत्रमा काम गरिरहेको छु । कहिले सर्ट फिल्ममा काम गरिरहेको छु, कहिले फिचर फिल्ममा । मैले जीवनमा केही बुझेको छु भने नेपाली समाज बुझेको छु, नेपाली जीवन बुझेको छु । त्यसैले म नेपाली समाजलाई प्रतिनिधित्व गर्ने गरि नेपाली सिनेमामा काम गरिरहेको छु । 

फ्रान्समा लामो समय ‘फिल्म’ र ‘डिरेक्सन’ पढेँ । तर, योबीचमा मैले अभिनय चाहिँ खासै गरेको थिइनँ । न आफैंले निर्देशन गरेको चलचित्रमा अभिनय गरेँ, न अरुले गरेको चलचित्रमा नै अभिनय गर्न पाएँ । 

कहिलेकांही चाहिँ अरुको निर्देशनमा बन्ने चलचित्रमा अभिनय गर्न पाए पनि हुन्थ्यो भन्ने मनमा खेल्थ्यो । 

गत वर्ष सेप्टेम्बरको कुरा हो । नेपालमा बलिउड फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ सुट हुने भएछ । त्यही फिल्ममा मैले अभिनय गर्न पाएँ, मैले अरुको निर्देशनमा बन्ने पहिलो फिल्ममा काम गर्ने मौका पाएँ ।

यो फिल्म नेपालमा पनि सुटिङ हुँदैछ र नेपालमा पनि अडिसन भइरहेको छ भन्ने त मैले थाहा पाएको थिएँ तर अडिसन दिन जान्छु, यो फिल्ममा काम गर्छु भन्ने चाहिँ मैले सोचेको थिइनँ ।

तर, एउटा संयोगले मलाई त्यहाँ पुर्यायो । मैले फिल्मका लागि अडिसन दिएँ । त्यो खासमा यत्तिकै दिएको अडिसन थियो, कुनै तयारीविना, अडिसन दिन्छु भन्ने योजना नबनाएर नै दिएको अडिसन थियो । 

गत वर्ष ‘बुलबुल’ फिल्मको अनाउन्समेन्ट थियो, सांग्रिला होटलमा । त्यहाँ म पुगेको थिएँ । कार्यक्रम सकियो । हामीसँगै कास्टिङमा काम गर्ने एकजना भाइले फर्किने बेला भन्नुभयो– दाइ, इन्डियाज मोस्ट वान्टेडको अडिसनमा जाऔँ न । 

त्यो अडिसनबारे मलाई पहिले थाहा भए पनि मैले बेवास्त गरेको थिएँ । तर, भाइले पनि बाटोमा पर्छ, जाऔँ भनेपछि म गएँ । त्यो अडिसन दिने ठाउँ हामी घर फर्किने बाटो थियो । बाटोमै पर्ने भएकाले पनि दिऔँ न एकपटक भन्ने भयो । तर, आफू पूर्णरुपमा कन्भिन्स भइसकेको थिइनँ । दोधार हुँदाहुँदै म अडिसन हुने ठाउँमा पुगेँ । 

त्यहाँ पुगेपछि मलाई अडिसन कुन रोलका लागि लिन लागिएको छ भन्ने थाहा भयो । त्यसले मलाई झन् लोभ्यायो । यो रोल नेपालको पार्टका लागि मुख्य रोल नै रहेछ । झन्, फिल्मका अभिनेता अर्जुन कपुरसँग प्रत्यक्ष संवाद यो रोलमार्फत् हुने रहेछ । 

मुख्य भूमिकामा रहेर अर्जुन कपुरसँग प्रत्यक्ष अभिनय गर्ने कुराले चाहिँ मलाई लोभ्याएको थियो । 

मैले अडिसन दिएँ ।

सुवर्ण थापा ।

अर्जुन कपुरसँग स्क्रिन सेयर गर्न पाउँछु भन्ने आश पनि भयो । मलाई यो एउटा महत्वपूर्ण अवसर हो भन्ने लागिरहेको थियो । व्यक्तिगत रुपमा अर्जुन कपुर अब्बल कलाकार मानिन्थे । उनको काम मैले त्यसअघि टु स्टेट्स फिल्ममा देखिसकेको थिएँ । त्यति बेला पनि मैले उनको अभिनयको प्रशंसा नै गरेको थिएँ ।

म अडिसन हलमा छिरेँ । अडिसन लिन दुई जना केटाहरु बसिरहेका थिए । उनीहरुको एपियरेन्स मलाई त्यति प्रभाव पार्ने खालको लागेन । मैले मनमा बेक्कारमा आएछु भन्ने पनि सोचेँ । फेरि मनमा अर्को कुरा पनि खेल्यो– म निर्देशक भइसकेको मान्छे, अडिसनमा पास भइनँ भने त राम्रो हुँदैन नि । 

एउटा विदेशी फिल्मका लागि म पहिलो पटक अडिसन दिँदै थिएँ । त्यसअघि मैले न विदेशी फिल्मका लागि अडिसन दिएको थिएँ, न कुनै दिन बलिउड फिल्ममा खेल्छु भन्ने सोचेको थिएँ । तर, राम्रो भूमिका पाएको खण्डमा म यो अवसर गुमाउन पनि चाहन्नथेँ । 

अडिसन दिएपछि त्यहाँ आउनु भएका अन्य नेपाली कलाकारहरुसँग मेरो कुराकानी भयो । मभन्दा निकै सिनियर दाइहरु पनि अडिसनका लागि पुग्नु भएको थियो । यसले मैले आफैंलाई ढाडस दिन पाएँ । 

अडिसन दिएर घर फर्किएँ । अब घरमा पुगेपछि बल्ल मैले कस्तो अडिसन गरेँ होला भन्ने सोच्न थालेँ । साँच्चै गम्भीर भएर सम्झिए एकपटक । अनि मनन गरेँ कि मैले साच्चिँकै राम्रो गरेको छु । 

नभन्दै केही समयमा नै मलाई भारतबाट एउटा फोन आयो, म अडिसनमा पास भएछु । त्यसपछि पारिश्रमिकको कुरा भयो । यी सबै कुरा मिलिसकेपछि मेरो शरीरको नाप लिइयो, मेरो पोशाक पनि भारतमा नै बनेर आउने भयो ।

इन्डियाज मोस्ट वान्टेडमा मैले सिभिल ड्रेसमा एउटा प्रहरीको भूमिकामा काम गरेको छु । मलाई फिल्ममा भन्नुपर्ने मेरो डायलगहरु पठाइएको थियो, मैले त्यो डायलग याद गरेँ । 

१० सेप्टेम्बरदेखि १५ सेप्टेम्बरसम्म सुटिङ हुने भयो । यसको सुटिङ पोखरामा हुने तय भएको थियो । 

म तोकिएकै दिन पोखरा पुगेँ । फिल्म युनिटलाई मैले पोखरामा नै भेटेँ । त्यसपछि त्यहाँ फिल्मका निर्देशकसँग कुराकानी भयो । उनले मलाई मेरो भूमिकाबारे बताउँथे । केही समयको कुराकानीपछि हामी त्यही फिल्मको कुरा मात्र गरेर रोकिएनौँ । हामीले हाम्रो व्यक्तिगत जीवन, करिअर, नेपालमा सिनेमा, विश्वमा सिनेमा र यसको मेकिङका विषयमा धेरै कुराकानी गर्यौँ । मैले फ्रान्समा फिल्म पढ्दाका कुरा र निर्देशन र अभिनयका कुरा उनलाई सुनाएँ । उनले पनि आफ्ना अनुभव मलाई सुनाए । 

इन्डियाज मोस्ट वान्टेडमा नेपालबाट हामी चार जना अभिनयका लागि छनोट भएका थियौँ । चारजनामध्ये नेपाली युनिटलाई मैले लिड गरिरहेको थिएँ । हाम्रो भूमिकामा हामीमध्ये एकले गाडी चलाउनु पर्ने थियो । तर, अरु साथीहरुलाई गाडी चलाउन नै नआउने रहेछ । फिल्मको कथाअनुसार मैले गाडी चलाउनु हुँदैनथ्यो किनकि म लिड रोलमा थिएँ । तर, अन्य साथीहरुलाई नआउने भएपछि मैले नै गाडी चलाएर फिल्ममा काम गरेँ । 

यो फिल्ममा काम गर्दा मैले अर्को के कुरा ख्याल गरेको थिएँ भने हाम्रो हिन्दी टोन । हामी नेपालीले हिन्दी बुझे पनि फिल्ममा राम्रोसँग भन्न सकिँदैन कि भन्ने हुन्थ्यो । अनि फेरि मेरो डायलग पूरै हिन्दीमा थियो । तर, सुटिङकै क्रममा मैले आफैंले ‘इम्प्रोभाइज’ गरिदिएँ, हिन्दीमा राम्रोसँग उच्चारण गर्न सक्दिनँ कि भन्ने शब्दहरुलाई अंग्रेजीमा भनिदिएँ । 

फिल्मका अभिनेता अर्जुन कपुरसँग मैले डाइरेक्ट संवाद गर्नु पर्ने थियो । उनी एउटा भवनमा छिर्न खोज्दा रोक्नु पर्ने थियो । त्यति बेलाको डायलगमा केही ‘हार्स’ शब्द पनि थिए । मैले त्यसो भन्दा रमाइलो गर्दै अर्जुन कपुरले भनेका थिए– सर यसा मत बोल्ना !

पहिले तय भएको स्क्रिप्टमा अर्जुनलाई त्यसरी रोक्दा मैले पेस्तोल ताक्ने कुरा उल्लेख गरिएको थियो । मैले अर्जुनलाई धकेल्नु पर्ने चाहिँ थिएन । तर, सुट गर्दा मैले उनलाई धकेलिदिएँ । मलाई लागेको थियो, स्क्रिप्टमा नै नभएकाले मैले धकेल्दा अर्जुन रिसाए होलान् । तर, अहँ उनी रिसाएनन् । 

निर्देशक चाहिँ स्क्रिप्टमा जे छ, त्यही मात्र गर्नू भनिरहेका थिए । तर, अर्जुन कपुरले मात्र होइन, क्यामेरामेन, लाइनम्यानहरुले पनि मैले गरेको यी इम्प्रुभाइजेसनलाई राम्रो मानिरहेको थिए । 

खासमा बलिउडमा कलाकार तथा निर्देशकमात्र होइन, फिल्म युनिटका अन्य सदस्य पनि नेपाली कलाकारको अभिनयप्रति प्रश्न उठाउँछन् । उनीहरुमा एक खालको पूर्वाग्रह हुने रहेछ । त्यसैले उनीहरु फिल्ममा काम चलाउ कलाकार भए हुन्छ भन्ने सोच्दा रहेछन् । 

तर, इन्डियाज मोस्ट वान्टेडको सन्दर्भमा यो लागु भएन । हामीले जसरी काम गर्यौँ, त्यसले उनीहरुलाई पनि प्रभावित गरेको थियो । 

मलाई यो कुरा किन महसुस भयो भने प्रत्येक टेक लिँदा क्यामेरामेन मुस्कुराउँदै मलाई भन्थे– अच्छा हुवा । उनको यो प्रशंसाले मलाई झन् खुसी बनायो, हौसला थप्यो, ऊर्जा थप्यो ।

त्यसअघि मैले अन्य साथीभाइबाट नेपाली कलाकारलाई बलिउडले दुव्र्यवहारमात्र गर्छ भन्ने सुनेको थिएँ । तर, त्यसो होइन रहेछ । कम्तिमा पनि मैले त्यस्तो अनुभव गर्न परेन । 

अर्जुन कपुरसँग इन्डियाज मोस्ट वान्टेड गर्दा मैले बुझेको कुरा के हो भने बलिउड कलाकारहरु आफ्नो काममा निकै कटिबद्ध हुँदा रहेछन्, निकै मेहनेती हुँदा रहेछन् । हामी नेपाली कलाकारले पनि उनीहरुको जस्तै मेहनेत गर्ने हो भने पक्कै पनि हामीले राम्रो नतिजा ल्याउन सक्छौँ । 

इन्डियाज मोस्ट वान्टेडको सुटिङ पोखरामा सवेरै थियो । खासमा बिहान छर्लङ्ग उज्यालो हुनुभन्दा पहिले । त्यसैले हामीसँग धेरै गफिने समय हुँदैनथ्यो । 

फेरि अर्जुन कपुर आफ्नो सुटिङमा आउँथे, काम गर्थे अनि गइहाल्थे । उनी त्यहाँ सुटिङ स्पटमा भएका कसैसँग पनि खासै बोल्दैनथे । 

मेरो सुटिङ पाँच दिनमा सकियो । त्यहीबीच मैले एक दिन अर्जुनलाई टु स्टेट्स हेरेको र उनको अभिनय मन परेको बताएको थिएँ । 

उनले मलाई धन्यवाद मात्र भनेनन्, उनी लामै समय मुस्कुराए पनि । उनी अलिक हाँसीमजाक गर्न पर्ने खालमा मानिस रहेछन् । र, मलाई अर्जुन कपुरको सबैभन्दा मन परेको कुरा चाहिँ के रह्यो भने उनी सबैसँग घुलमिल हुँदा रहेछन्, सबैसँग उही तरिकाले बोल्ने, सबैलाई समान व्यवहार गर्ने । 

उनलाई पनि फिल्म सुटिङमा सबैले आदर गरेको नै मैले पाएँ । उनीप्रति सबैले सम्मान भाव प्रकट गर्दा रहेछन् ।
 

(फरक धारका कमल विष्टसँगकाे कुराकानीमा आधारित)


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्