कन्चनपुरमा वडा कार्यालयमा आगजनी, विप्लव समूहकाे भेटियाे पर्चा

कन्चनपुर— कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंं. १९ को कार्यालयमा शुक्रबार बिहान आगजनी भएकाे छ ।

अज्ञात समुहले भीमदत्त नगरपालिका १९ बाँगफाँटास्थित वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरेको हो । आगजनीबाट वडाध्यक्ष दामोदर सिंह महराको कार्यकक्षमा बढी क्षति पुगेको छ । आगजनीबाट वडाध्यक्षको कार्यकक्षका समाग्री जलेर नष्ट भएका छन् । महत्वपूर्ण कागजात सहितका समाग्री जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ । 

वडा कार्यालय परिसरमा नेत्र विक्रम चन्द समूह नेतृत्वकाे विप्लवकाे पर्चा भेटिएकाे प्रहरीले जनाएकाे छ ।

पर्चामा शुक्लाफाँटा कृषि सहकारी र प्रधानमन्त्री कृषि आधुनिकीकरण धान जोन परियोजनामा भएको आर्थिक अनियमितामा वडाबाट मलजल गरेको, नगरपालिकाद्वारा विनियोजित बजेटको १९ मा कार्यसंचालनमा बजेटको दुरुपयोग गरेको, खानेपानी, ग्राभिलिङ्ग, पञ्चकृत मावि निजी शिक्षक प्रकरण, वडा स्वास्थ्य कार्यालयमा आएको बजेट दुरुपयोग गरिएकाले जनकारबाही गरिएको उल्लेख छ । 

कञ्चनपुरका जिल्ला इन्चार्ज सहदेवद्वारा हस्ताक्षरित पर्चामा नेकपाले सांकेतिक रुपमा कारबाही गरेको अध्यक्षलाई राजिनामा दिन चेतावनी दिइएको छ । वडाध्यक्ष दामोदर महराले वडाको विकासका लागि एकिकृत रुपमा अघि बढिरहेको बताउदै नेकपाले लगाएको आरोप मिथ्या भएको बताए । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता नरेश बहादुर चन्दले घटनाको अनुसन्धान भइरहेको बताए । आगजनी गर्ने समुहको खोजी भइरहेको प्रवक्ता चन्दले बताए । भीमदत्त नगरपालिकाले समेत वडा कार्यालयमा भएको आगजनीको भत्र्सना गरेको छ । 



नगरपालिकाले जनताको आशा, भरोसा र विकासको लागि वडाबाट भइरहेका कामप्रति अत्तालिएर आगजनी गरिएको भन्दै दोषिलाई कारबाही गर्न माग गरेको छ ।



  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १३:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया