फेरिँदै छ चराहरुको गीत

एजेन्सी– गाडीका हर्न, मानिसको हल्लीखल्ली, मेसिनहरुको घ्यारघुर र अरु थुप्रै चर्का आवाजहरुका कारण आज वायुमन्डल चर्को कोलाहलले भरिएको छ । 

जे बाट निस्किएको किन नहोस्, एउटा धूनको तरंगले पूरै वायुमन्डललाई असर पारिरहेको हुन्छ ।

यही कारण त कहिलेकांही हामी फोनमा कुरा गर्दा एकअर्काले बोलेको राम्रोसँग सुन्न सक्दैनौँ । विभिन्न अध्ययनले त हाम्रो सुन्ने क्षमतामा पनि क्रमशः ह्रास आउन थालेको बताएका छन् । 

यो त हाम्रो कुरा भयो । तर, चराहरुबारे के कसैले सोचेको छ ? चराहरु जो स्वतन्त्र आकाशमा उड्छन् र ध्वनीकै कारण एकअर्कासँग विभिन्न सन्देश आदनप्रदान गर्छन् । 

बढ्दो ध्वनी प्रदुषणका कारण उनीहरुलाई कति असर परेको होला ? 

चराविज्ञहरुलाई मान्ने हो भने यसले चराहरुलाई आफ्ना सूचना आदानप्रदान गर्न निकै असहज भइसकेको छ । सडकका छेउछाउ वा सहरमा भएका थोरै रुखहरुमा आफ्नो गुँड बनाएर बसेका चराहरुलाई पनि यो समस्या हुन थालेको छ कि उनीहरुको आवाज जहाँततै राम्रोसँग पुग्न सकेको छैन ।



चराहरुमाथि कस्तो असर परेको होला भनेर वासिङटनको क्रिक पार्कमा बस्ने चराहरुमाथि वैज्ञानिकहरुले अध्ययन गरेका छन् । यो अध्ययन त्यहाँको रैथाने चरा इस्टर्न वुड पिवीमा गरिएको थियो ।

र, अध्ययनले निष्कर्ष निकालेको छ– चराहरुले आफ्नो गीत फेरिरहेका छन् ।



सधैं गुन्जने ट्राफिकको होहल्लाका कारण अब चराहरुले छोटो र कम आवृत्तिका ध्वनी निकालिरहेको त्यो अध्ययनमा पाइएको छ । यसरी चराहरुले आफ्नो गीत फेर्दा गाडीको हल्ला र अन्य हल्लाहरु त चिरिए तर यी चराहरुको बदलिएको आवाजप्रति चासो झन्झन् घट्दो छ । 

जर्ज मेसन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अर्को अध्ययनमा पनि यस्तै अवलोकन गरिएको छ । सान फ्रान्सिस्को वरपर रहने, सेतो जुरे भँगेराले पनि आफ्नो गीतमा परिवर्तन ल्याएको उनीहरुले पाएका छन् । 

तर, के कुरामा चिन्तित हुनु पर्दैन भने अब चराहरुले सधैंका लागि आफ्नो गीत फेरिरहेका हुन् । उनीहरुले त यो बजारको हल्लालाई चिर्नका लागि आफ्नो गीत फेरेका हुन् । हामीले सहरमा हल्ला कम गराउन सक्यौँ भने पक्कै पनि अब उनीहरु फेरि आफ्ना पूरानै लयमा फर्किने विज्ञहरुले बताउन थालेका छन् ।

किनकि रक क्रिक पार्कका चराहरुले जब साँझ पर्दै जान्छ, तब पहिलेकै जस्तो सुरिलो आवाजमा गीत गाउन थालिहाल्छन् । त्यसैले यी अध्ययन गर्नेहरुले सुझाव दिएका छन्– सडकबाट गाडी हटाउन त सम्भव नहोला तर ट्राफिकको हल्ला कम गर्न सकिन्छ नि !

  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार १७:१६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया