एजेन्सी– भारतले ५ अगस्टमा आफ्नो संविधानको अनुच्छेद ३७० निष्प्रभावी बनाउँदै जम्मुकश्मिरलाई मिलेको विशेष राज्यको दर्जा हटाएको अब ६ साता भइसकेको छ । तर, पाकिस्तानी मिडियामा यही विषयले प्राथमिकता पाइरहेको छ ।
भारतले अनुच्छेद ३७० हटाएपछि भारत र पाकिस्तानबीच पहिले देखिकै खराब सम्बन्ध थप खराब भएको छ ।
भारतले पछिल्लो समय भारत प्रशासित कश्मिर मात्र नभएर पाकिस्तान प्रशासित कश्मिर पनि भारतको अभिन्न अंग रहेको जनाउँदै आएको छ ।
अर्कोतिर पाकिस्तानले कश्मिर एक विवादित ठाउँ भएकाले संयुक्त राष्ट्रसंघको प्रस्ताव तथा कश्मिरी जनताको इच्छाअनुसार यस विषयमा अन्तिम फैसला लिनु पर्ने बताउँदै आएको छ ।
यो साताभर पनि पाकिस्तानी पत्रिकाका पहिलो पानामा कश्मिरकै विषयले प्राथमिकता पाएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत तथा पाकिस्तानबीच युद्ध भएमा आफूहरुले परमाणु युद्धको रुप अख्तियार गर्ने बताएका छन् । त्यहाँका पत्रिकाहरुले यसलाई विशेष प्राथमिकता दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री खानले आफू प्रधानमन्त्री बनेपछि बारम्बार भारतलाई वार्ताको निम्तो दिएको तर भारतले उनको अपिललाई अस्वीकार गर्दै आएको गुनासो पनि गरेका छन् ।
पाकिस्तानी पत्रिका जंगका अनुसार चीनले चाहिँ भारत प्रशासित कश्मिरमा भारतीय कदमको विरोध गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्रीको पाकिस्तानी यात्रामा यस विषयमा गम्भीर छलफल भएको पत्रिकामा उल्लेख गरिएको छ ।
पाकिस्तानी राष्ट्रपति आरिफ अलवीले पनि विश्वले कश्मिरीको विषयमा चुपचाप बस्दा अन्तर्राष्ट्रिय संकट उत्पन्न हुने बताएका छन् ।
पाकिस्तानको अर्को पत्रिका ‘दुनिया’ कश्मिरको विषयमा १७ सेप्टेम्बरमा युरोपेली संसदमा बहस हुने लेखेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।