बाँके आक्रमणकाे विराेधमा कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक पनि अवरोध

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारको राष्ट्रिय सभा बैठक पनि अवरोध गरेको छ । 

आफ्नो पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालालगायतमाथिको आक्रमणमा संलग्न सबैलाई कारबाहीको प्रक्रिया सुरु नगरेसम्म संसदका दुवै सदन अवरुद्ध गर्ने बताएको कांग्रेसले यसअघि प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो ।  

कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा गत बिहीबार बाँकेमा आयोजित कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गरी बाँके कांग्रेस सभापति कोइरालालगायतलाई घाइते बनाएका थिए । 

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभामा आइतबार बाँके घटनाबारे दुईपटकसम्म जवाफ दिएका थिए । चित्तबुझ्दो जवाफ नआएको र पीडितका तर्फबाट किटानी जाहेरी प्रहरीले नलिएको भन्दै कांग्रेसका सांसदले सदन चल्न नसक्ने बताएका थिए ।

राष्ट्रिय सभामा प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले बाँके सभापति कोइरालाको हात भाँच्न संलग्न सबैलाई कारबाहीको प्रक्रिया सुरु नगरेसम्म सदनमा अवरोध नहट्ने बताए ।

कांग्रेस सांसद उठेर अवरोध गरिरहेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सदन स्थगित गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १७:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया