Fri, 15 Nov, 2019


बाँके घटनालगायत राजनीतिक विषयमा छलफलका लागि देउवा र ओली भेट्दै
फरकधार / भदौ २९, २०७६

काठमाडौं– बाँके कांग्रेस सभापति किरण कोइरालामाथि भएको आक्रमण र अन्य राजनीतिक विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार साँझ भेट्दै छन् । 



ओलीनिकट एक उच्च स्रोतले दिएको जानकारीअनुसार यो भेटमा ओली र देउवाबीच बाँकेमा भएको आक्रमणको विषयमा छलफल हुनेछ । यस विषयमा यसअघि नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्दै दोषीलाई कारबाही गर्न अनुरोध गरेका थियो ।

आइतबार प्रतिनिधिसभामा गृहमन्त्री थापाले घटनाबारे जानकारी गराएका थिए । तर, उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा अवरोध सिर्जना गर्यो । दुवै सदन सोमबारसम्मका लागि स्थगित भएका छन् । 

त्यहाँको प्रहरीले कोइरालामाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी लिन नमानेको नेपाली कांग्रेसको आरोप छ । उनीहरुले स्थानीय वडाका अध्यक्षलाई यो आक्रमणको योजनाकारका रुपमा किटानी जाहेरी दिन खोजेका थिए । 

आइतबार साँझ हुने प्रधानमन्त्री ओली र सभापति देउवाबीच यही विषयमा छलफल हुने ओलीनिकट उच्च स्रोतले फरक धारलाई जानकारी दिएको छ । ‘सम्भवतः उहाँहरुबीच यो छलफलबाट एउटा निष्कर्ष निस्किन्छ,’ उनले भने, ‘त्यसपछि भोलिबाट सदन चल्ने अनुमान छ ।’

उता, कांग्रेसले भने आक्रमणमा संलग्न वडा अध्यक्ष पक्राउ गरेर कारबाही नगरेसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने अडान लिएको छ । 

‘कांग्रेसले जसका विरुद्ध किटानी जाहेरी दिएको छ, उनलाई पक्रन किन मिल्दैन भने उनी यो ठाउँमा नै छैनन्,’ बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेकपाका नेताहरुसँग रिपोर्टिङ गरिरहेका छन्, ‘घटना भएको समयमा र अहिले पनि उहाँ यो ठाउँमा नै नभएकाले कसरी पक्राउ गर्ने वा कसरी किटानी जाहेरी लिने ?’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्