Thu, 17 Oct, 2019


कमनरकाे कथा
#farakक्षमता: ह्विलचेयरमा बसेर मकै बेच्ने ‘दिदी’
फरकधार / भदौ ३०, २०७६

काठमाडौं– नेपाली तारको उपाधि जितेका र पछिल्लो समय नयाँ गीतहरुका कारण राम्रै चर्चा कमाएका गायक सन्तोष लामा अरु कलाकारहरुजस्तै ट्विटरमा निकै सक्रिय छन् । 



केही दिनअघि उनले ट्विटरमा एउटा फोटो ट्विट गरे । फोटोमा एक वृद्ध महिला ह्विलचेयरमा बसेर अगाडि ठेलामा मकै पोलिरहेकी थिइन् । 

सन्तोषले त्यो फाटोको क्याप्सनमा लेखेका छन्– कति सवलाङ्ग दिदीबहिनी बाध्यताले यो गरेँ, त्यो गरेँ भन्नुहुन्छ, जब सानुमाया गुरुङ जस्ती आँटिली दिदबहिनी देख्छु, मलाई बाध्यहरुको बाध्यता कस्तो होला जान्ने मन लाग्छ ।

सानुमाया यसरी ह्विलचेयरमा बसेर मकै बेच्नु र आफ्नो ज्यान पाल्नुको कथा लामो छ । 

र, यसको सुरुवात हुन्छ, लेलेबाट । ललितपुरको लेले । लेलेमा जन्मिएकी हुन्, सानुमाया । 

उनी सानमो अरुजस्तै थिइन्, मेलापात जान्थिन्, घरमा वस्तुभाउ हेर्थिन् । घाँस काट्न आफैैं दौडिन्थिन् । 

एकदिन घाँस काट्न रुख चढेकी थिइन्, सानुमाया । तर, त्यो दिन उनले आफूले काटेको घाँस बटुल्न पाइनन्, उनी रुखबाट लडिन् । सानुमायाको स्पाइनल कर्डमा इन्जुरी भयो । उनको कम्मरभन्दा तलको भाग नचल्ने भयो । त्यसपछि ह्विलचेयरमा सिमित भइन् सानुमाया । 

घरलाई त्यसअघि सपोर्ट गर्दै थिइन्, सानुमाया । तर, जब उनी ह्विलचेयमा सिमित भइन्, घरले उनैलाई बोझ मान्यो । 

‘एउटा भाइ थियो,’ सानुमायाले सम्झिइन्, ‘उसले पनि मलाई बेवास्ता गर्न थाल्यो ।’ घरमा मात्र होइन, छरछिमेकले पनि बेवास्ता गर्न थाले सानुमायालाई । 

त्यसपछि सानुमायाले जिन्दगीको र ह्विलचेयरको पाङ्ग्रा आफैं अगाडि बढाउने निर्णय गरिन् । 

र, त्यही क्रममा उनको भेट भयो, कृष्ण सत्याल, ६६, सँग । गोटीखेलका कृष्ण कामको सिलसिलामा लेले पुगेका थिए । कृष्ण र सानुमाया लेलेमा भेटेपछि निर्णय गरे, जीवनको यात्रालाई सँगै अगाडि बढाउने । 

कृष्णकी पहिलो श्रीमतीको निधन भइसकेको थियो । उनले बाँकी जीवन सानुमायासँग बिताउने भए ।

अनि यी दुईले निर्णय गरे, केही गरेर खाने । कृष्ण पहिले त सिमेन्ट र मार्बलसम्बन्धी कामहरु गर्थे । ‘अब त सक्दिनँ,’ कुसुन्तीमा सानुमायासँग कुरा गर्न जाँदा त्यहाँ नै भेटिएका कृष्णले भने, ‘अब हामी दुवैको आधार भनेको यही मकै बेच्ने काम हो ।’

सानुमाया दिनभर ठेलाको छेउमा बसेर मकै बेच्छिन् ।

त्यसका लागि कृष्ण र सानुमाया दुवै प्रत्येक विहान मकै लिन भनिमण्डल पुग्छन् । दाउरा लिन कुमारीपाटी पुग्छन् । यसरी जाँदा कृष्ण सानुमायाको ह्विलचेयर धकेलिदिन्छन्  । 

ठेलामा मकै र दाउरा लिन कहिलेकांही सानुमाया एक्लै पनि पुग्छिन्, भनिमण्डल र कुमारीपाटी । ह्विलचेयरमा बसेर ठेला धकेल्दै ।

केही दिनअघि सानुमायाको डेरामा पुग्दा विहानभर पानी परिरहेको थियो । 

‘आज विहानभर पानी पर्यो, न मकै लिन जान सकियो, न दाउरा,’ सानुमायाका श्रीमान् कृष्णले सुरुमै भने, ‘विहान पानी पर्यो भने पनि दिनभर व्यापार ठन्डाराम हुन्छ ।’

पानी परेको थिएन भने विहान ६ बजे नै सानुमाया र कृष्ण मकै किन्न पुगिसकेका हुन्थे ।

यो व्यापारसम्म आइपुग्दा सानुमाया र कृष्णले लामो यात्रा तय गरेका छन् । 

विवाह गरेपछि उनीहरु लेलेमा नै बस्थे । तर, सानुमायालाई बारम्बार अस्पताल गइरहनु पथ्र्यो । सातैपिच्छे अस्पताल जानु पर्ने भएपछि उनीहरुले बसाइँसराइँ गर्ने भए, जावालाखेलमा सरे । त्यहाँ बस्दा पनि व्यापार गर्न अलिक अप्ठ्यारो भयो, अनि कुसुन्तीमै एउटा ‘झुप्रो’ भाडामा लिए, त्यहाँ बस्न थाले । यहाँ सरेलगत्तै उनीहरुले २०–२२ वटा कुखुरा पनि पाले । 

‘आफूले अन्डा पनि खान पाइने,’ सानुमायाले भनिन्, ‘अरुलाई बेच्न पनि पाइने । अहिले त कुखुरा सकिए, फेरि थप्नुपर्ला ।’

जीवनमा जेजस्ता दुःख आइपरे पनि सानुमायाले हिम्मत हारिनन् । रुखबाट लडेर कम्मरभन्दा तल नचल्ने हुँदा होस् या निकै धेरै अस्पताल धाउनु पर्ने हुँदा, उनले जहिले सोचिन्, ‘आज बाँच, भोलि जे आइपर्छ, त्यो टरिहाल्छ ।’

त्यसैले त अहिले दैनिक सानुमाया कृष्णसँग सहयोग लिएर बाटोमा मकै बेच्न बसिहाल्छिन् । 

‘यहाँको भाडा, मेरो औषधिउपचार गर्दा महिनाको १२–१३ हजार खर्च हुन्छ,’ सानुमायाले भनिन्, ‘दिनदिनै मकै बेचेर यो सब खर्च चलिरहेको छ ।’

सानुमायाले मकै र दाउरा किन्दा एउटा मकैको घोगाको १३ रुपैयाँ पर्छ । उनले यसको हिसाबकिताब निकालेकी छिन् । अनि उनी पोलेको एक घोगा मकैलाई २० रुपैयाँमा बेच्छिन् । 

‘एउटा घोगामा ७ रुपैयाँ बचाएर जीवन पालेका छौँ,’ सानुमाया हाँसिन्, ‘बचाउन त कहाँ सक्नु ?’

जे होस्, सानुमायाले यही काम गरेर आफ्नो जीवन चलाइरहेकी छिन्, आफ्नो परिवार अगाडि बढाइरहेकी छिन् ।

बीचबीचमा उनलाई सहयोग पनि मिलिरहेको छ । जस्तो कि, २०७२ सालमा वैशाखमा गएको भूकम्पअगाडि सानुमायासँग आफ्नै ठेला थिएन । उनी सडकमा नै बसेर मकै पोल्थिन्, बेच्थिन्, बदाम जोख्थिन्, बेच्थिन् ।

भूकम्प गएको केही समयमा नै उनीहरुको दुःख एउटा कलेजका विद्यार्थीहरुले बुझे । ‘ख्वै कुन कलेज हो,’ सानुमायाले भनिन्, ‘आठ हजार सहयोग गरेका थिए, मैले दुई हजार थपेर यो ठेला किनेँ ।’

जीवनमा अनेक दुःख भए पनि खुसीसाथ जीवन बिताइरहेकी छिन्, सानुमाया । अब त उनलाई ठूलो केही गर्ने आश छैन । आफ्नालागि आफैं खर्च जुटाइरहेकी सानुमायालाई चाहिँ एउटा लोभ छ– नयाँ ह्विलचेयर किन्न पाए हुने !

तर, यसमा पनि उनलाई ठूलो गुनासो छैन । किनकि उनले जीवनमा सबैभन्दा ठूलो साथ पाएकी छिन् कृष्णको । कृष्ण नै अब उनको जीवनका ह्विलचेयर बनेका छन् । 

त्यसैले त यी दुईको जोडीलाई चिन्नेहरु भन्छन्– कस्तो ! भगवानले नै जुराइदिएको जोडी !


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्