के धोनी अब क्रिजमा देखिने छैनन् ?

एजेन्सी– भारतीय क्रिकेट टिमका पूर्वकप्तान तथा दिग्गज विकेटकिपर महेन्द्र सिंह धोनी विश्वकप सेमिफाइनलमा पराजित भएपछि क्रिकेट मैदानमा देखिएका छैनन् । 

त्यसैले अब उनले खेलबाट सन्न्यास लिने कुरा चर्को रुपमा गर्न थालिएको छ । तर, यस विषयमा न भारतीय क्रिकेट बोर्डले केही बोलेको छ न धोनी स्वयंले केही जवाफ दिएका छन् । 

दक्षिण अफ्रिकासँग सुरु भएको टि–२० सिरिजको टिममा पनि धोनीलाई राखिएको छैन । यो सिरिजको पहिलो खेल चाहिँ वर्षाका कारण रोकियो । यसभन्दा पहिले भारतले गरेको वेस्ट इन्डिजको भ्रमणमा पनि धोनी भारतीय टिममा थिएनन् ।

त्यसैले यस विषयमा भारतमा निकै ठूलो बहस सुरु भएको छ । क्रिकेटका समीक्षक अयाज मेमनले भनेका छन् कि धोनी अब खेल्ने कि नखेल्ने भन्ने विषयमा कुनै सस्पेन्स राख्न हुँदैन । उनले भनेका छन्, ‘धोनी अब खेल्ने कि नखेल्ने भन्ने फैसला उनी स्वयंले लिनु पर्ने हुन्छ । जब उनी यो फैसला लिनेछन् त उनी आफैं आएर सबैलाई भनिदिनुपर्छ । यसरी यसलाई सस्पेन्समा राख्न खोज्दा कुनै तुक हुँदैन ।’

 

तर, पछिल्लो समय भारतीय क्रिकेट कप्तान विराट कोहलीले एउटा तस्वीर आफ्नो सामाजिक सन्जालमा राखेका छन् । अनि त्यसमा लेखेका छन्, ‘म यो म्याच कहिल्यै भुल्न सक्दिनँ । त्यो विशेष रात पनि । यी व्यक्तिले मलाई निकै भगाएका थिए ।’



विराटले राखेको फोटो हो, महेन्द्र सिंह धोनीको । विराटको यो ट्विट आएपछि अब झन् धेरैले धोनीले क्रिकेटबाट सन्न्यास लिने कुरा अनुमान गरेका छन् । 

तर, फेरि धोनीकी पत्नी साक्षी सिंह धोनीले चाहिँ यसलाई अफवाह मात्र भनेकी छिन् । 



एकातिर धोनीको सन्न्यासको विषयमा कुरा भइरहेको छ भने अर्कोतिर उनको आवश्यकता टिम इन्डियालाई महसुस पनि भइरहेको छ । यसबारे त कप्तान विराट कोहलीले पनि बारम्बार बताइरहेका छन् । 

  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १६:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया