logo-img

आफ्नै शिक्षिकासँगकाे फ्रेन्च राष्ट्रपतिको लभस्टोरी

अहिले युराेपमा बेलायत इयुबाट बाहिरिने कुरा निकै चर्चामा छ । र, याे चर्चामा युराेपका सबैभन्दा बढी ध्यान दिएर हेरिएका नेता बनेका छन् फ्रेन्च राष्ट्रपति इमानुएल ।

तर, यस अघि पनि इमानुएल चर्चामा आउँथे । चुनावताका उनी चर्चामा आउनु पछाडि उनको विवाह पनि कारण रह्यो । आफ्नै शिक्षिका र त्यो पनि २४ वर्ष जेठीसँग विवाह गरेका इमानुएलले पहिलो ‘थ्यांक्स स्पिच’ दिँदा टिभीका क्यामरा बारम्बार इमानुएलकी श्रीमती ब्रिगिटतिर सोझिए ।

अहिले पनि समयसमयमा यो विषयमा विश्वभर चर्चा भइरहेकै हुन्छ । किन पनि भने इमानुएलले विस्तारै आफ्नो शक्ति फैलाउँदै छन्, आतंकवादको दलदलमा फसिसकेको फ्रान्सलाई नयाँ जीवन दिने वाचा गरिरहेका छन् ।

जब इमानुएल र ब्रिगिटको विषयमा चर्चा सुरु हुन्छ, सबैभन्दा पहिलो प्रश्न बन्छ– इमानुएलले कसरी फकाए आफ्नै शिक्षिका ? यसको कथा एउटा ‘ट्रिलोजिकल फिक्सन’ जस्तै नै छ । एउटै प्लट र सेटिङ अनि लामो अध्याय । सन् १९९४ को कुरा हो । इमानुएलको परिवारले थाहा पायो– इमानुएल आफ्नै शिक्षिकासँग प्रेममा परेका छन् । झट्ट सुन्दा कुनै नाटकको दृश्य जस्तो महसुस भयो परिवारलाई ।



किन पनि भने इमानुएल नाटक सिकाउने गुरुसँगै प्रेममा परेका थिए । त्यसपछि त्यो परिवार इमानुएललाई घरबाट पर पु¥याउने योजनामा लाग्यो । परिवारको चाहना थियो– इमानुएलले हाइस्कुल पुरा गरुन् । उनलाई अमेन्सबाट दुई घन्टा पर लगेर परिवारले एउटा घरमा थुनिदियो । भनिन्छ– जति टाढा माया झन् गाढा । यही भनाइ इमानुएललको हकमा लागू भयो ।

१६ वर्षे ठिटो इमानुएल ४१ वर्षकी आफ्नी शिक्षिका भेट्न भौंतारिँदै अमेन्स पुग्न थाले । पछिल्लो समय फ्रान्समा तहल्का मच्चाएको फ्रेन्च फस्र्ट लेडीको जीवनीका लेखक माइले ब्रुनले लेखका छन्, ‘इमानुएल हेरक साताको अन्त्यमा घर फर्किन्थेँ । साताभरका फोहोर कपडा सुटकेसमा प्याक गरेर उनी हतारिन्थे ब्रिगिटलाई भेट्न ।’ ब्रुनले पुस्तक ‘ब्रिग्रिट म्याक्रोन: एन अनफिटर्ड वुमन’मा लेखेका छन्– ब्रिग्रिट र इमानुएलको सम्बन्धबारे परिवारले यी दुईलाई सन् १९९४ को गर्मीमा सँगै सनबाथ लिइरहँदा देखेका थिए, इमानुएल अरुले नदेखुन् भन्नका लागि झाडीमा लुक्न पनि जान्थेँ । तर, जो जसले यी दुईलाई त्यहाँ देखे, उनीहरुको सम्बन्धको हल्ला निकै बढ्न थाल्यो । एक कान, दुई कान हुँदै त्यो हल्ला परिवारले पनि सुनिसकेको थियो ।

कतिसम्म भने ब्रिग्रिटको परिवार सन्चालन गरेको चकलेट र म्याक्रोनी उद्योगमा उनीहरुको सम्बन्धबारे लेखिएको र त्यसलाई कडा शब्दमा निन्दा गरिएको चिठी पनि आयो । त्यो चिठी आएपछि उक्त फ्याक्ट्रीमा काम गर्नेहरुले ब्रिग्रिटको ढोकामा थुक्न थाले । त्यति बेला सायदै कसैले सोचेको थियो– ब्रिग्रिट फ्रान्सकी भविष्यकी प्रथम महिला हुनेछिन् । त्यसो त ब्रिग्रिट स्वयंलाई पनि आफ्नो जीवनले कुन मोड लिन्छ भन्ने थाहा थिएन । उनले जुन स्कुलमा इमानुएललाई पढाइन्, त्यो स्कुलमा पढाउन सुरु गर्दा नगर्दै उनले बैङ्कर लुई औजिरेसँग विवाह गरिन् । उनका सुरुमा तीन बच्चा जन्मिए ।

ब्रिग्रिट स्कुलमा निकै लोकप्रिय थिइन् । कतिसम्म भने उनलाई विद्यार्थीहरुले प्रत्येक साताजसो घरमा ककटेल डिनरका लागि निमन्त्रणा गर्थे । उनी पनि विद्यार्थीहरुलाई आफ्नो नामबाट नै बोलाउन उस्काउँथिइन् । केहीले उनलाई सोझै भन्थे– हेल्लो ब्रुन । स्कुलमा नै ब्रिग्रिटले एउटा नाटकमाथि काम गर्ने भइन् । नाटक थियो– इडुर्डो डि फिलिप्पोको द आर्ट अफ कमेडी । इटालियन यी नाटककारको नाटकमा काम गर्न उनीसँग विद्यार्थीहरुको एउटा ठूलो समूह थियो । त्यो समूहमा थिए– इमानुएल पनि । १४ वर्षे इमानुएलको नाटकमा भूमिका थियो– जलेको सानो नाटकघरको म्यानेजर ।



‘उनीहरुबीच त्यही समयमा लभ सुरु भएछ,’ इमानुएललका एक साथीले भनेका छन्, ‘मैले थाहा पाउँदा त उनीहरु दुईबीच लभ परिसकेको रहेछ । उनीहरुको केमेष्ट्री मिल्थ्यो, उनीहरुको जोडी जमेको थियो । त्यो देखेर म आश्चर्यमा परेँ, शक्ड भएँ । उनीहरु दुवै त्यति बेला निकै सुन्दर देखिएका थिए ।’ इमानुएलका अर्का एक साथी भन्छन्– उनीहरुको केमेष्ट्री कस्तो खतरा थियो भने उनीहरु स्कुल अगाडि भएर बग्ने सोमी नदीमा डेटिङका लागि जान्थे । त्यति बेला इमानुएल १६ वर्षका र ब्रिग्रिट ४१ वर्षकी थिइन् । ‘मेरी शिक्षिकासँग एक विद्यार्थी थिए, डेटिङमा,’ ती साथीले भनेका छन्, ‘म त आश्चर्यमा परेँ । तर, मैले यो कसैलाई पनि भनिनँ, गोप्य राखेँ ।’ अर्कोतिर ब्रिग्रिटका श्रीमान् लुईलाई जब थाहा भयो, ब्रिग्रिट एउटा किशोरसँग डेटिङ गरिरहेकी छिन्, उनी आश्चर्यमा परे ।

‘मुखमै झापड हानेको जस्तो भयो,’ उनले भने, ‘मेरो छोरी र उनको त्यो व्वायफ्रेन्ड सँगै पढ्थे ।’ लुई यो थाहा पाउँदा कतिसम्म लज्जित भए भने उनी त्यो सहरमा बस्नै सकेनन्, त्यहाँबाट छोडेर बाहिर निस्किए । कतिसम्म भने उनी आफ्नी आमाको अन्त्येष्ठीमा पनि सहर फर्किएनन् । ‘त्यति बेला निस्किएपछि उनलाई कहिल्यै यो सहरमा देखिएन,’ लुईका एक छिमेकीले ब्रुनसँग किताब तयार पार्ने समयमा भनेका छन् ।

तर, लुई र ब्रिग्रिटबीच औपचारिक सम्बन्धविच्छेद चाहिँ दुई वर्षपछि मात्र भयो । त्यति बेला इमानुएल राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध पढ्न विश्वविद्यालय पुगिसकेका थिए । जहाँ पुगे पनि उनको मनमा ब्रिग्रिट थिइन्, रहिरहिन् । सबैजना दंग पर्ने यो सम्बन्ध झन्झन् झांगिदो थियो । त्यसमा आश्चर्य थपियो– सन् २००७ मा यी दुईले विवाह गरे । त्यति बेला इमानुएल २९ वर्षका थिए भने ब्रिग्रिट ५४ वर्षकी थिइन् ।

कस्तो अचम्म भने यो विवाहका लागि पनि ब्रिग्रिटले त्यही ठाउँ छानिन्, जहाँ उनले आफ्नो पहिलो विवाह गरेकी थिइन् । त्यो विवाहमा इमानुएललाई छोडिसकेको परिवार मात्र आएन, ब्रिग्रिटको पहिलो विवाहबाट जन्मिएका तीनै सन्तान पनि उपस्थित भए । ‘तपाईंहरु सबै विगत १३ वर्षदेखि साँची हुनुहुन्छ,’ इमानुएलले ब्रिग्रिटको हात समातेर भने, ‘तपाईंहरुले हामीलाई स्वीकार्नु भयो, हामी जो छौँ, तपाईंहरुकै लागि बनेका हौँ ।’

यो विवाहपछि इमानुएल पूर्ण रुपमा राजनीतिमा लागे । ब्रिग्रिटले उनलाई साथ दिइन् । दुवैजना पेरिस गए । अनि ब्रिग्रिटले आफूले खाँदै आएको जागिर छाडिन् । निकै छिटो इमानुएल राजनीतिको शीर्ष स्थानमा पुगे । सन् २०१४ मा उनलाई जब फ्रेन्च राष्ट्रपति फ्राँस्वाँ होल्यान्डले अर्थमन्त्री बनाए, तब उनीबारे चासो निकै बढ्यो । त्यो कार्यकाल नै इमानुएलका लागि सुवर्ण अवसर सावित भयो । उनले श्रीमती ब्रिग्रिटलाई नै मुख्य सल्लाहकार बनाए ।

सायद, ब्रिग्रिटको सल्लाहले नै काम गरेको हुनुपर्छ– अर्थमन्त्रीको पद छाडेर इमानुएलले आफ्नै पार्टी खोले । पार्टी खुलेको १८ महिनामा उनी राष्ट्रपति पदका लागि उठ्दा कसैले पनि विश्वास गरेको थिएन, उनले फ्रेन्च राष्ट्रपतिमा आफ्नो नाम दर्ज गर्नेछन् । अन्ततः जब उनले निर्वाचन जिते, विश्वभरका मिडिया उनको र ब्रिग्रिटको सम्बन्धबारे खोजतलास गर्न लागे । अहिले फ्रान्सको राष्ट्रपति निवासमा बसिरहेको यो जोडीको ‘लभ स्टोरी’ अझै केही वर्ष संसारको चासो हुने निश्चित छ ।

  • एजेन्सीको सहयोगमा
  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया