नेटोले पनि भन्यो– इरानले पूरै क्षेत्रमा तनाव बढायो

एजेन्सी– नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो)ले साउदी अरबमा अरामको तेल कम्पनीको दुई प्रशोधन गृहमा भएको ड्रोन आक्रमणबारे चिन्ता जनाएको छ । यसका कारण त्यो क्षेत्रमा तनाव बढिरहेको नेटोले निष्कर्ष निकालेको छ । 

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले भनेका छन्, ‘इरानले पूरै क्षेत्रलाई अस्थिर गरिरहेको छ । हामी सबै पक्षसँग भनिरहेका छौँ कि यस्तो आक्रमण फेरि हुनबाट रोक्नु पर्छ ।’

योभन्दा पहिले अमेरिकाले केही स्याटलाइट तस्वीर सार्वजनिक गर्दै इरानले साउदीको तेल कम्पनीमा आक्रमण गरेको आरोप लगाएको थियो । तर, इरानले यसलाई खण्डन गरिदिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानसँग युद्ध नचाहेको तर इरानका गतिविधिका कारण अमेरिकाले युद्धबारे पनि सोच्न तयार भएको बताएका छन् । उता, इरानका राष्ट्रपति हसन रुहानीले टर्कीको राजधानी अंकारामा रुस तथा टर्कीका नेताहरुसँग भेटघाट गरेका छन् । उनले साउदी अरबको तेल कम्पनीमा यमनका मानिसहरुले आक्रमण गरेको पनि जनाएका छन् ।

‘यमनका मानिसहरुले आत्मरक्षाका लागि वैधानिक अधिकार प्रयोग गरिरहेका छन्,’ रुहानीले भनेका छन्, ‘हाम्रो मान्यता के हो भने यमन संकटलाई राजनीतिक समाधान गरियोस् ।’

यमनको हुथी विद्रोहीले पनि साउदी अरबको तेल कम्पनीमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । आफूहरुमाथि भएको बमबारीको बदलामा यो आक्रमण गरेको हुथी विद्रोहीका प्रवक्ताले बताएका छन् ।



साउदी अरबको यही तेल कम्पनीमा भएको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै गएको छ ।



  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार ९:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया