नयाँ पुस्तालाई पद हस्तान्तरण गर्न उज्वल थापाका १० सर्त

काठमाडौं– विवेकशील नेपाली दलका संस्थापक एवं वर्तमान अध्यक्ष उज्वल बहादुर थापाले दलको अध्यक्ष पद नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । पार्टीका सदस्यहरुलाई सम्बोधन गर्दै थापाले आगामी कात्तिक १ र २ गते जनपपुरमा हुने सम्मेलनबाट आफूले अध्यक्ष पद हस्तान्तरण गर्न चाहेको बताएका हुन् ।  

थापाले विगत आठ वर्षदेखि विवेकशील नेपाली अभियान र पछि दल गठन भएपछि त्यसको पनि नेतृत्व गर्दै आएका छन् । 

यस्तो छ अध्यक्ष थापाको वक्तव्य

विवेकशील नेपालीका सदस्य तथा शुभचिन्तक सहयात्रीहरु,

समय आएको छ, आफूले लिँदै आएको विवेकशील नेपाली दलको अध्यक्षको भूमिका आगामी राष्ट्रिय सम्मेलनपछि नयाँ नेतृत्वलाई हस्तान्तरण गर्नका लागि । विगत ८ वर्ष अगाडि सुरु भएको विवेकशील नेपाली अभियान र दललाई नेतृत्व गर्दै आएको सन्दर्भमा आफूले लिएको पद र यसले बोकेको भूमिकालाई अझ थप ऊर्जा र सिर्जनशीलता बोकेका नेतृत्वमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता मैले आभास गरेको छु ।

विभिन्न उतारचढावका बाबजुद अझ सक्षम र अझ उत्कृष्ट नेतृत्वले दल र राष्ट्रलाई विवेकशील नेतृत्व प्रदान गर्न सक्छ भन्ने कुरामा म निर्धक्कै छु । यसो फर्केर हेर्दा हामी माझ खारिइरहेका ऊर्जावान र उत्कृष्ट नेतृत्वहरुले दशकौँसम्म नेपाली समाज रुपान्तरणमा महत्वपूर्ण भूमिकाहरु खेलि नै रहनेछन् भन्ने कुरामा पनि म विश्वस्त नै छु ।



लोकतन्त्रमा पदीय भूमिका जसलाई आमरुपमा शक्ति भनिने गरिन्छ, त्यो हस्तान्तरण गर्नु पनि एक सुन्दर पक्ष हो जुन हामी सबैले समय सापेक्ष रुपमा गर्नु नै पर्छ । अहिलेसम्म भएका अनेकौँ उपलब्धिहरु र भूलहरु गर्दै हामी यहाँ आइपुगेका छौँ । नेतृत्वको नियमित फेरबदलले हामीले आत्मसात् गरेको मूल्य मान्यता, लोकतन्त्र र राष्ट्र रुपान्तरणको हाम्रो लक्ष्यलाई नै टेवा दिन्छ भन्ने विश्वास पनि बोकेको छु । मैले आशा गरेको छु, अब आउँदो नेतृत्वहरुले विवेकशील नेपाली दल र त्यसका अभियानहरुलाई अझ बलियो बनाउँदै लानुहुनेछ । अबका जुझारु विवेकशील नेतृत्व र सदस्यहरुले बढी भन्दा बढी समय दिई दललाई अघि बढाउनु पर्नेछ भने केही समय विश्राम लिन चाहने नेतृत्वहरुले पनि आफ्नो क्षमता विकासमा लागिपरी भविष्यमा फेरि राष्ट्र र राष्ट्र बनाउन उन्मुख दललाई योगदान अवश्य गर्नुनै हुनेछ ।

राजनीतिक सुसंस्कारको यो हाम्रो यात्रा एउटा ‘रिले म्याराथन’ नै हो । यसलाई आत्मसात् गर्दै हामी अघि बढ्नु जरुरी छ । विवेकशील नागरिक बनाउने हाम्रो गतिशील यात्रा जटिल छ, त्यसै माथि यो परनिर्भर समाजलाई उद्यमशील बनाउँदै, सरकारलाई सेवक बनाउँदै, एक दिगो (उत्पादनमुखी) अर्थतन्त्र बनाउने हितकारी राज्यको परिकल्पनालाई साकार गर्न पर्याप्त सिर्जनशील, नवीन समाधान खोज्न सक्ने ऊर्जाशील, उदार, लोकतन्त्रवादी नेतृत्वहरुको निरन्तर खाँचो परि नै राख्छ ।



यस यात्रामा अब दलको नेतृत्व लिन चाहनु हुने सबै नेतृत्वलाई मैले आफूले अनुभूति गरेका यी केही तिता–ठाी भोगाइ र सिकाइप्रति पनि ध्यान दिनुहुन अनुरोध गर्न चाहेँ ।

तपाईंको नेतृत्व 
१. गाह्रो परिस्थितिमा पनि दलको मर्मलाई आफैले काँधमा बोकी हिँड्ने आँट राखोस् ।
२. सदस्य तथा शुभचिन्तकको चुस्त व्यस्थापन प्रणाली बनाउन र त्यसका लागि चाहिने अपार स्रोत संकलनमा अब्बल बनोस् ।
३. राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय परिस्थितिप्रति पनि सजग र प्रस्ट भिजन बोक्ने दक्षता देखियोस् । 
४. उदार लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रही बृहत् लोकतान्त्रिक सञ्जाल बनाउने खुबी मिलोस् ।
५. संगठनभित्र विचार र आर्थिक पारदर्शिता, विनम्रता, समानुभूति भएको उत्कृष्ट वातावरण बनाइरहोस् ।
६. दललाई स्वागतिलो बनाउन र सदस्यलाई जिम्मेवार राखी राख्न सक्ने सिर्जनशीलता जागोस् ।
७. विविधताबीच एकता बनाउँदै, अतिवादी र अदूरदर्शी ‘हुल’ सोचबाट जोगाउने मध्यममार्गी साहस रहोस् ।
८. जसभन्दा अपजस बढी लिनुपर्ने वातावरणलाई पनि थेग्ने स्टामिना बनोस् ।
९. कार्यसम्पादनबाटै अरुहरुलाई क्रियाशील र जवाफदेही राखिराख्ने बानी बसोस् ।
१०. सदस्य–शुभचिन्‌तकमा रहेका विषहरु खाने आँटका साथ, उनीहरुबाट निस्कन सक्ने अमृतलाई मन्थन गर्ने धैर्य मिलोस् ।

दल र यसले बोकेका अभियानमा साथ दिनुहुने तपाईं सबैजना र असंख्य शुभचिन्तकप्रति हार्दिक आभारी छु । चाहे त्यो भूकम्पमा होस् वा माइतीघरमा होस्, महिलाहिंसाविरुद्धको अभियानमा होस् वा निर्वाचनमा विकल्प दिने प्रयासमा होस्, कुकुर छाप लिँदा होस् वा इस्टकोट, बाघ होस्‌ वा तराजु होस् सबैमा साथ दिँदै अघि बढ्ने ‘हँसिलो मुहार’का दृढ नेतृत्वहरुका प्रत्यक्ष–अप्रत्यक्ष योगदानप्रति फेरि पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु । यस यात्राका दौरान पदमा रहँदा आफूले गरेका अनेकौँ भूलहरु र आफ्ना कमजोरीहरुका लागि पनि म क्षमा माग्न चाहन्छु ।

आगामी दिनमा मेरो योगदान देशमा व्याप्त लुटतन्त्रविरुद्ध सबै उदार लोकतन्त्रवादीहरुलाई विवेकशीलले देखाइरहेको ‘मध्यममार्गी’ दिशामा ऐकबद्ध रुपमा खडा गर्नमा पनि रहनेछ ।

चरमपन्थी चिराले विभाजित हुँदै गइरहेको नेपाली समाजलाई एकीकृत राखिराख्न १. नरमपन्थी नेतृत्वको विकास, २. विवेकशील अभियानहरुको निरन्तरता, ३. गतिशील मध्यममार्गी विचारको पहिचान र प्रवर्द्धन अनि ४.यी सबैलाई दिगो राखिराख्न सक्ने सकारात्मक आर्थिक सञ्जालको निर्माण अब एकदमै आवश्यक रहन्छ ।

यी सबैलाई हामीले ‘प्यारलल्ली’ निर्माण गर्न सके मात्र देशलाई चाहिने सकारात्मक शक्तिहरुको विजय हुन सक्छ भन्ने मेरो विश्वास अहिले पनि कायमै छ र यसको प्रवद्र्धन गर्न मेरो दायित्व पनि रहन्छ । यसरी नेपाललाई विश्वले नै आदार गर्ने एक ‘गुरु राष्ट्र’ बनाउन सकिन्छ भन्नेबारेमा पनि थप अध्ययन, अनुसन्धान र प्रवद्र्धन गर्न मेरो भूमिका रहन्छ ।

लूटतन्त्रको आगमान र अधिनायकवादको प्रयासले ल्याउन सक्ने गम्भीर समस्याहरुमा हामी सबै एक ढिक्का भई उभिने नै छौँ भन्ने आस्थाका साथ वडा, गाउँ–सहर, जिल्ला, प्रदेश र संघमा साथ दिनुहुने सबै विवेकशील परिवर्तकहरुलाई मेरो सलाम ! तपाईंको जय होस् ! नेपालको जय होस्‌ ! नमस्ते ।

उज्वल थापा 
अध्यक्ष,
विवेकशील नेपाली
 

  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १७:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया