काबेली बी वान जलविद्युत् : २५ मेगावाट विद्युत् दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी

ताप्लेजुङ– काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन सुरु गरिएको छ ।

दशैँअगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिए । ‘आयोजनाको काम सकिएर अहिले परीक्षण उत्पादन सुरु गरेका छौँ, दशैँअगावै काबेली करिडोरमा जोड्ने हाम्रो तयारी छ’, निर्देशक न्यौपानेले भने ।

ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली नदीबाट उत्पादन भएको विद्युत् पाँचथरको अमरपुरस्थित काबेली करिडोरको सवस्टेसनमा जोडिनेछ । नेपाल विद्युत् प्राधिकरणद्वारा अमरपुरमा केही दिनअघि मात्रै काबेली करिडोरको सबस्टेसन निर्माणको कार्यसमेत सम्पन्न भएको छ ।

झण्डै पाँच अर्बको लगानीमा आयोजना सम्पन्न भएको हो । सुरुमा चार अर्बको लगानीमा सम्पन्न हुने अनुमान गरिए पनि बाढी, मूल्य वृद्धि, भारतीय नाकाबन्दी र आयोजनाको अवधि लम्बिएकाले लगानी पनि बढेर पाँच अर्ब पुगेको बताइएको छ । कुल लागतको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाले र बाँकी ३० प्रतिशत निजी क्षेत्रले लगानी गरेका छन् ।

तीन वर्षमा नै निर्माण पूरा गर्ने गरी २०७२ साल वैशाखदेखि आयोजनाको निर्माण सुरु भएको थियो । अघिल्लो वर्षमा नै निर्माण पूरा हुनुपर्ने भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि लम्बिएको आयोजनाले जनाएको छ । ताप्लेजुङको साविकका गाविस थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु, सिनाम र पाँचथरका थर्पु, नागी, अमरपुर आयोजनाको प्रभावित क्षेत्र हुन् ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १६:६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया