निरन्तरको वर्षाका कारण आएको पहिरोले सोलुखुम्बु–काठमाडौं सडकखण्ड अवरुद्ध

सोलुखुम्बु– निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौं सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौं सडकखण्डको ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।
    
प्रजिअ खनालका अनुसार सदरमुकाम नजिकै सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित साल्मे सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ । सडकमा पहिरो जाँदा जिल्लाबाट काठमाडौंका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएको ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी हवल्दार सञ्जीव चौधरीले जानकारी दिए । उनका अनुसार पहिरोले तिङ्लास्थित सिस्नेरी, साल्मे क्षेत्र अवरुद्ध बनेको छ । त्यस्तै ओखलढुंगाको हर्कपुर क्षेत्रमा पनि पहिरो जाँदा सवारी आवगमन ठप्प बनेको छ । 
    
सवारी आवगमन ठप्प हुँदा सयौं यात्रुबीच बाटोमा नै रोकिएका छन् । जिल्लाबाट कटारी, सिरहा, सुनसरीलगायत प्रदेश राजधानी विराटनगर तथा काठमाडौंलगायतको क्षेत्रमा हिँडेका यात्रु बिहान ११ बजेसम्म बिच बाटोमा नै रोकिएको ट्राफिक प्रहरी इञ्चार्ज चौधरीले जानकारी दिए ।
    
पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहे पनि अविरल वर्षाका कारण समस्या भएको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाको ग्रामीण क्षेत्रका सडकसमेत अवरुद्ध बनेको स्थानीयले बताएका छन् । पानीले जमिन गलेकाले उच्च सावधानी अपनाउन प्रमुख जिल्ला अधकारी खनालले सवारी चालक, यात्रु तथा स्थानीयलाई आग्रह गरेको छन् । 
    
वर्षापछि पहिरोको सम्भावना उच्च हुने हुँदा सबैलाई सावधानीपूर्वक रहन प्रशासनले सबैलाई अनुरोध गरेको छ । अहिलेसम्म जिल्लामा सामान्य पहिरो बाहेक अन्य कुनै पनि अप्रिय घटना भने नभएको सोलुखुम्बु प्रहरीले जनाएको छ । केही विपद् परिहालेमा तत्काल खबर गर्न पनि आग्रह गरिएको छ ।
 





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १६:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया