काठमाडौं– सहरमा कफी कल्चर बढ्दो छ । सँगसँगै चिया पारखीहरु पनि बढिरहेका छन् । त्यसैले हुनुपर्छ, चिया बेच्नकै लागि अब विस्तारै चिया पसलका चेनहरु खुलिरहेका छन् ।
तर, काठमाडौंमा त चिया दोकान प्रत्येक चोकमा भेटिन्छन् ।
त्यस्तै एउटा चिया दोकान हो, सिफलको शुभकामना चिया पसल । यो चिया पसलले ग्राहकलाई साँझ विहान दैनिक चिया पिलाइरहेको छ । केही वर्षपहिले यो चियापसलमा एक कप दूध हालेको चियाको मूल्य थियो– रु १० ।
झन्डै पाँच वर्षअघि यो दाम बढ्यो । चियाको मूल्य पर्न थाल्यो– रु १५ ।
केही वर्षयता यो पसलमा सावित्री पौडेलले एक कप चियाको २० रुपैयाँ लिन थालेकी छिन् । तर, अब यो रकम छिट्टै बढ्न गइरहेको छ । पौडेलले भनिन्, ‘नाकाबन्दी ताका ५ रुपैयाँ बढेको थियो । अब फेरि पाँच रुपैयाँ बढाउनु पर्ने भएको छ ।’
पौडेलले एक कप चियाको मूल्य क्यालकुलेट गरेकी छिन् । र, अहिले बढेको दूधको, चिनीको मूल्य सबै हिसाब गर्दा एक कपमा लगभग एक रुपैयाँ मात्र बच्छ ।
रातोपुलमा चिया पसल चलाइरहेका बद्रीप्रसाद गौतमको अनुभव पनि यस्तै छ । चिया पसलसँगै दूध डेरी पनि चलाइरहेका गौतम भन्छन्– अब चियाको मूल्य नबढाउने हो भने हामी चिया पसले घाटामा जान्छौँ ।
‘१० पैसाको चिया खाइयो,’ उनले भने, ‘ऊबेला एक रुपैयाँमा चिया पिउँदा मान्छेहरु राम ! राम ! भन्थे ।’ काभ्रेका गौतमले एक रुपैयाँमा गाउँमा चिया पिइरहेका थिए । झन्डै ३० वर्षअघि उनी काठमाडौं आइपुग्दा काठमाडौंमा एक कप चियाको ५ रुपैयाँ पथ्र्यो ।
‘पाँच रुपैयाँ तिरेर एक कप चिया पनि खाइयो,’ गौतमले सुनाए, ‘अब अहिले आफैंले बेच्दा चाहिँ २५ रुपैयाँ कप नपुर्याइ सुखै छैन ।’
यसका लागि गौतमले पनि हिसाब निकालेका छन् ।
उनको हिसाब यस्तो छ– एक लिटर दूधको राम्रो चिया बनाउने हो भने आठ कप चिया बन्छ । अहिले दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढेको छ । यसको सोझो हिसाबमा पनि एक कप चियामा ७५ पैसा त दूधका कारणले मात्र बढेको छ ।
तर, दूधको मूल्यमा लिटरमा ६ रुपैयाँ बढाउने सरकारले निर्णय गरेपनि डेरीहरुले अहिले लिटरको ९० रुपैयाँमा दूध बेचिरहेका छन् । यसको अर्थ हो, एक कप चियाकै लागि ११ रुपैयाँ २५ पैसा पर्छ ।
‘हेर्नुस्, यो त दूधको मूल्यमात्र हो,’ गौतमले भने, ‘पछिल्लो समय चिनीको मूल्य पनि बढेको छ, चियापत्तीको मूल्य पनि बढेको छ । अनि यो सब जोड्दा हामीलाई नै एक कप चियाको त्यस्तै १९.५० रुपैयाँ जति पर्न आउँछ ।’
अझ यसलाई उनले एक कप चियाको भन्दा पनि एक लिटर दूधको मूल्यसँग हिसाब निकालेका छन् ।
गौतमको हिसाब छ– एक लिटर दूधले ८ कप चिया बन्छ । त्यसका लागि ९० रुपैयाँ किलोको चिनीबाट २० रुपैयाँको चिनी खपत हुन्छ । त्यसपछि उनले चियापत्तीलाई २० रुपैयाँ राखेका छन् । ग्यास र भाडा माँझ्ने मान्छेका लागि उनले छुट्ट्याएका छन् दश रुपैयाँ ।
एक लिटर दूधको आठ कप चियाको एक सय ४० रुपैयाँ त सोझो अर्थमा पनि खर्च हुने नै देखियो । यसमा गौतमले घर भाडा, आफ्नो मेहनेतको मूल्य र बिजुलीको खर्च जोडेका छैनन् । यी सबलाई समावेश गर्ने हो भने आठ कप चियाको लागत झन्डै १७० रुपैयाँ पर्न जाने उनको बुझाइ छ ।
आठ कपलाई १७० रुपैयाँ लागत पर्नु भनेको एक कपको लागत २१ रुपैयाँ २५ पैसा आउने देखियो ।
यो हिसाब निकालिसकेपछि गौतमले भने, ‘अहिलेसम्म त २० रुपैयाँमा नै चिया बेचिरहेका छौँ, २५ रुपैयाँ नपुर्याउने हो भने हामी नै घाटामा जान्छौँ ।’
तर, गौतमले अहिले नै चियाको मूल्य बढाइसकेका छैनन् । ‘दशैंसम्म नबढाउने र त्यसपछि बढाउने भन्ने योजना छ,’ उनले भने, ‘अहिले त स्टकमा रहेको चिनी पनि कहिलेकांही ८० रुपैयाँ किलोमा नै पाइएको छ । त्यसैले अहिले नै चियाको मूल्य बढाउने पनि कुरा भएन नि !’
गौतमले आफ्नो चिया पसलमा चियाको मूल्य नबढाए पनि काठमाडौंका केही ठाउँमा एक कप चियाको मूल्य २५ रुपैयाँ लिन थालिएको छ । यही अनुपातमा कालो चियाको पनि पाँच रुपैयाँ नै मूल्य बढाउने चिया पसलले तयारी गरेका छन् ।
त्यसैले, अब चिया खान कतै भेटघाट गर्दै हुनुहुन्छ ? २० को हिसाबले होइन, २५ रुपैयाँको एक कपका हिसाबले क्यालकुलेट गर्नुस्, नत्र झुक्किनुहोला ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।