नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज : माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताएका छन् । 

संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)ले बिहीबार आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तर्क्रियामा बोल्दै नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश भएको र केही विषयमा छलफल जारी राख्न सकिने जनाए ।

‘अनेक कुरा आए पनि हामीले हाम्रो संविधान जारी गर्ने कार्यलाई सफल बनाइछाड्यौँ । आफ्नो संविधान आफैँ बनाउन सक्ने उदाहरण प्रस्तुत गर्यौँ । यो संविधान आफैँमा अनुपम दस्ताबेज हो,’ नेता नेपालले भने, ‘विश्वका कुनै पनि संविधानभन्दा कमाजोर छैन । यसको कार्यान्वयनमा सबैको भूमिका आवश्यक छ । केहीले सुविधैसुविधा लिएर अरुलाई पाखा पार्ने स्थिति भएमा असन्तुष्टि हुन सक्छ ।’

उनले बालबालिको हितलाई केन्द्रमा राखेर नीति, योजना ल्याइनुपर्ने र बालबालिकालाई सामाजिक र व्यावहारिक बनाउन लाग्नुपर्ने प्रस्ट पारे । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सबै क्षेत्र, वर्ग र तहलाई सम्बोधन गरेकाले नेपालको संविधान संसारकै उत्कृष्टमध्येको एक भएको भन्दै बालबालिकाको मौलिक हकलाई पनि यसले सुनिश्चित गरेको बताइन् । 

उनले संविधानमा व्यवस्था गरिएका बालअधिकारको कार्यान्वयनका लागि गम्भीर र संवेदनशील रूपमा लागेको जनाउँदै बालबालिका देशको भविष्य भएकाले बालबालिका ऐन, २०७५ को कार्यान्वयनसँगै तीन तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर बालअधिकार स्थापित गर्नुपर्ने बताइन् । 



नेपाली का्रग्रेसका नेता गुरुराज घिमिरेले बालबालिकालाई मानव ढाल बनाउने तथा हिंसात्मक गतिविधिमा संलग्न कार्य र महँगो शिक्षा हुने स्थिति गलत भएको बताए । 

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले माध्यमिक तहमा विद्यार्थीको कक्षा छाड्ने दर घट्न नसकेको र बालश्रमिकको अवस्था अन्त्य नभएकाले अधिकारको कार्यान्वयनमा चुनौती देखिएको भनाइ राखे । 



नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बालअधिकारको रक्षा गर्दै विद्यालयमा बन्द हडताल अन्त्य हुनुपर्ने र राज्यले निजी विद्यालयको योगदानलाई बिर्सन नमिल्ने बताए । 

  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १५:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया