संविधान दिवसका अवसरमा निजी मेडिकल कलेजका बहिर‌ंग सेवा निःशुल्क

चितवन– संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि बिहीबार बहिरंग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी अस्पतालमा बिहीबार एक दिनका लागि बहिरंग सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो । जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरंग सेवा निःशुल्क गरेका हुन् । चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरंगका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताए  । अन्य दिन सामान्यमा २५ र विशेषमा ४०० लिने गरिन्थ्यो । 

उक्त मेडिकल कलेजमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी आउने गरेको उनले जानकारी दिए । यसैगरी कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरंग सेवा निःशुल्क गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत शुभप्रभात श्रेष्ठका अनुसार सामान्य र विशेष दुवै सेवा निःशुल्क गरिएको हो । दैनिक एक हजार हाराहारी बिरामी बहिरंग सेवामा आउने उनले जानकारी दिए । 

यता, जिल्लाका सरकारी अस्पताल सबैमा बहिरंग सेवा निःशुल्क गरिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा‍. श्रीराम तिवारीका अनुसार दैनिक एक हजार ९०० सम्म बिरामी बहिरंग सेवामा आउने गर्छन् । बिहीबार झरीको दिन भएकाले केही कम बिरामी हुने अनुमान गरिएको उनले बताए । 

यस्तै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि बहिरंग सेवा निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार दैनिक ७०० हाराहारी बिरामी उक्त अस्पतालमा आउने गर्छन् । संविधान दिवसलाई विशेष रुपमा मनाउन तीन दिनसम्म जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १६:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया