राजेन्द्र महताेकाे प्रश्न: अब सिंहदरबार बिक्री कहिले ?

काठमाडाैं– राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको बिहीबारको तेस्रो बैठकमा बोल्दै महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर पनि डेढ वर्षसम्म केही नगरेकोमा गम्भीर असहमति जनाए । संशोधन नभए यसअघिको जस्तै संघीय संविधान पनि फाल्नुपर्ने अवस्था सृजना हुने उनले चेतावनी दिए ।

सरकारले उर्दी जारी गर्दैमा दिपावली नहुने भन्दै उनले संविधान दिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने दाबी गरे । संविधानलाई असफल बनाउने र प्रहार गर्ने काम सरकारकै क्रियाकलापबाट भएको उनले जिकिर गरे ।

निर्मला हत्या प्रकरण, वाईडवडी, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण लगायतका घटनाका दोषीलाई कारवाही नभएकोमा पनि उनले सरकारको ध्यानाकर्षण गराए । ‘बालुवाटार बिक्री भइसक्यो,’ उनले भने, ‘सिंहदरबार कहिले बिक्री हुने हो ? त्यो पनि बताइदिनुपर्यो ।’

नागरिकताका सम्बन्धमा न्यायाधीश पिच्छे अलग अलग फैसला आउने गरेको भन्दै उनले नागरिकताको सवालमा अदालतको फैसला लोडसेडिङका बेला बत्ति आउने जाने गरेजस्तो भएको बताए । सरकारमै सहभागी पार्टीले संविधान दिवस नमनाएपछि सरकारमाथि बैधानिकताको प्रश्न उठेको टिप्पणी गरे । समाजवादी पार्टीका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई संविधान दिवस नमनाउने भनेर सरकारमै बसिरहन नमिल्ने भन्दै धारणा स्पष्ट पार्न उनले आग्रह गरे ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले दुई पटक गरेको रुलिङलाई नमानेर सरकारले संसदीय अभ्यासको अपमान गरेको भन्दै उनले संसद अधिवेशन ‘कालो अध्याय’ बनेको टिप्पणी गरे । सभामुखलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईको रुलिङलाई पनि सरकारले लगौटी लगाइदियो ।’





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १८:३७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया