प्रचण्ड दिल्लीका दूत: बिजुक्छे

भक्तपुर- नेपाल मजदूर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले सत्ता र शक्तिका लागि कम्युनिस्ट पार्टीहरुले सिद्धान्तहिन राजनीति गरेको आरोप लगाएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘दिल्लीको दुत’ को संज्ञा दिएका छन् । ‘प्रचण्ड दिल्लीका एक दूत हुन् वा नेपालका नेता हुन् ? अब साधारण जनताले पनि चिन्नुपर्छ,’ बिजुक्छेले भने । 

भक्तपुरको सल्लाघारीमा शुक्रबार पार्टीको सातौँ महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले प्रचण्ड नेतृत्वको माओवादी कम्युनिस्ट भनिने अराजक र पुँजीवादी दल एमालेमा कहिल्यै नउम्किने गरी पतन भएको बताए । दुई कम्युनिस्ट पार्टीले माक्सवादको धज्जी उडाएको नेता बिजुक्छेको भनाइ थियो । उनले संसदमा नेमकिपाले अमेरिकी सामराज्यवाद र भारतीय बिस्तारबादको निरन्तर विरोध गर्दै आएको भन्दै त्यसलाई क्रान्तिकारी संसदवादको नाम दिए ।

नेमकिपाका सचिव प्रेम सुवालले भारतले खुल्ला सीमाकै कारण दशगजामा पाँच दर्जन भन्दा धेरै बाँध बनाउने कार्यको विरोध गरे । ‘सडक हुदाँ सीमा विवादको विषयमा कराउने वर्तमान नेकपाका नेताहरु सरकारमा गएपछि चुइक्क बोल्दैनन्,’ उनले भने । कार्यक्रममा केन्द्रीय सदस्य सुनिल प्रजापति, डिल्ली काफ्ले, अनुराधा थापामगर लगायतले मन्तव्य राखे । 

तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । त्यसअघि भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वरबाट छुट्टा-छुट्टै -याली सुरु गरी सल्लाघारी चौरमा पुगेर सभामा परिणत भएको थियो । ०३१ सालमा स्थापना भएको पार्टीले ४५ वर्षसम्म निरन्तर नारायणमान बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष मान्दै आएका छन् । यसपटक पनि बिजुक्छेको विकल्प नखोजिएको नेताहरु बताउँछन् । 

सातौं महाधिवेशनले पनि विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ ।





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार ६:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया