बिल गेट्सको एक दिन

काठमाडौं– ‘आजको दिन कस्तो भयो ?’ 

दिनभरको काम सकेर घर फर्कँदा घरमा कुरिरहेका आफन्तले सधैंजसो सोध्ने सामान्य प्रश्न हो यो । अझ कतिपयलाई त सामाजिक सन्जालमा वा मोबाइलमा मेसेज आइरहेको पनि हुनसक्छ– हेलो, हाउ वाज योर डे ? 

हामी सामान्य जीवन बाँचिरहेकाहरुको त एक दिन महत्वपूर्ण हुन्छ भने विश्वकै धनीको सूचीको अग्रस्थानमा पर्ने बिल गेट्सको एक दिनको विषयमा कसलाई चासो नहोला ? माइक्रोसफ्टका संस्थापक गेट्सको एक दिन कसरी बित्दो हो ?

गेट्स प्रत्येक दिन व्यवस्थित बनाउन नोटहरु टिप्ने गर्छन् । अनि आफू त्यहीअनुसार अगाडि बढ्छन् । नयाँ दिनको योजना नभुलियोस् भन्नका लागि उनले नोट आफूसँग राखिरहेका हुन्छन् । 

उनी प्रत्येक विहान सवेरै उठ्छन् । तर, ब्रेकफास्ट गर्ने उनको बानी छैन । 

द टेलिग्राफका अनुसार उनी काम गरिरहँदा समयसमयमा पाँच मिनेटको ब्रेक लिन्छन् । तर, विहान उनी सधैं पत्रपत्रिका पढ्छन् । जति नै व्यस्त भए पनि उनी एकपटक पत्रिका पढ्न बिर्सँदैनन् । द न्युयोर्क टाइम्स, वालस्ट्रिट जर्नल तथा द इकोनोमिस्ट उनको रोजाइका पत्रिका हुन् । 



उनी टेनिस औधी मन पराउँछन् । त्यस्तै, उनलाई मन पर्ने खाना हो, चिज बर्गर । उनी दैनिक चिज बर्गर खाने गर्छन् । दैनिक रुपमा बिल गेट्सले पुस्तक अध्ययनलाई पनि समय छुट्ट्याउँछन् । उनले त पढेर मात्र राम्रो गर्न सकिने भन्दै आएका पनि छन् । त्यति मात्र होइन, समय मिल्यो कि गेट्स लाइब्रेरीमा पुगिहाल्छन् ।

उनले आफ्नै घरमा राम्रो लाइब्रेरी बनाएका छन् । र, दुर्लभ पुस्तकहरु पनि उनले संकलन गरेका छन् । 



अत्यन्त व्यस्त भए पनि गेट्सले सधैं छोरा र छोरीका लागि समय निकाल्ने गरेका छन् । छोराले आफूसँग सिक्न खोज्ने भएकाले आफूले पर्याप्त समय दिने गरेको उनले बताउँदै आएका छन् । यतिमात्र होइन, गेट्स परिवारसँगै बसेर विकेन्डमा तास खेल्छन् । 

कतिपयलाई यो कुरा आश्चर्य लाग्न सक्छ, गेट्स हरेक साँझ आफ्नो घरको काम गर्छन् । उनले आफूले खाएका भाँडा आफैं माझ्ने गरेका छन् । ‘मद्दत गर्न त आउँछन् तर मलाई आफ्नै काम मन पर्छ,’ उनले भन्दै आएका छन् ।

गेट्स निद्राको मामिलामा अत्यन्त सजग छन् । उनी हरेक दिन सात घन्टा सुत्छन् । मानिसले राम्रो सुतेमात्र राम्रो कार्यसम्पादन गर्न सक्ने उनले बताउँदै आएका छन् ।

  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार ६:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया