अर्बपतिहरुको जिन्दगी बदलिदिने किताबहरु

नोबेल पुरस्कार विजेता कवि जोसेफ ब्रोस्कीको एउटा भनाई निकै चर्चित छ, ‘मानिस त्यही हुन्छ जे उसले पढ्छ ।’

हो, विश्वका विभिन्न इतिहास हेर्ने हो भने यस्ता उदाहरणहरु प्रशस्त भेटिन्छन् । पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो । ज्ञान आर्जन गर्नु भनेको जीवनमा त्यसलाई लागु गर्नु पनि हो । एउटा कुरा चाहिँ के निश्चित हो भने जो मानिसहरुमा अध्ययन गर्ने बानी हुन्छ, उनीहरु अरुभन्दा अझ विशेष हुन्छन् । यो कुरा त हामीले विश्वका विभिन्न व्यक्तिहरु सुनिरहेका हुन्छौँ । 

यसरी पुस्तकले आफ्नो जीवन बदलेको कुरा केही व्यक्तिहरुले भनिरहेका पनि हुन्छन् । शेयर बजारका बादशाह मानिने धनाढ्य वारेन बफेट पनि एक हुन् जसले आफ्नो जीवन एउटा पुस्तकले बदलेको बताएका छन् ।

उनले यसबारे बारम्बार आफ्ना अन्तर्वार्ताहरुमा भनिरहेका हुन्छन् । चर्चित अमेरिकी लगानीकर्ता बेन्जामिन ग्राहकको किताब ‘द इन्टिलिजेन्ट इन्भेस्टर’ सन् १९४९ मा छापिएको थियो । यही पुस्तक पढेर वफेटले आफ्नो जीवन बदलिएको बताउँछन् । उनले सुरुमा चाहिँ पढ्छु नै भनेर यो पुस्तक लिएका थिएनन् । तर, पछिल्लो पटक उनी भन्छन् कि यो पुस्तक उनले आधा दर्जनभन्दा धेरै पटक पढिसकेका छन् ।

वफेट १९ वर्ष हुँदा यो पुस्तक किनेका थिए । ‘यो किताबले मेरो जीवन बदलिदियो,’ उनले भन्ने गरेका छन्, ‘यसले मलाई शेयर बजारलाई हेर्ने नयाँ दृष्टिकोण दियो, यो किताब पढेपछि मैले आफूमा धेरै परिवर्तन पाएँ ।’

अर्कोतिर विश्व टेलिभिजन इतिहासमा निकै चर्चित नाम बनिसकेको छ, ओप्राह विन्फ्रीको । उनको कार्यक्रम नै एउटा ठूलो ट्रेडमार्क हो, विश्वका लागि । 



यो टिभी कार्यक्रम आउनुमा पनि उनले एउटा किताबको प्रसंग सम्झिइरहेकी हुन्छिन्– द सिट अफ द सोल । अमेरिकी अध्यात्मिक गुरु तथा लेखक गेरी जुकाभको यो किताबले आफ्नो जीवनमा परिवर्तन ल्याइदिएको ओप्राहले बताउँदै आएकी छिन् । 

‘पहिले म भीडलाई खुसी बनाउन चाहन्थेँ, त्यही अनुसार पढ्थेँ,’ उनले भनेकी छिन्, ‘म अरुलाई खुसी बनाउने महिला थिएँ । यो पुस्तक पढेपछि मैले आफ्ना लागि निर्णय लिन थालेँ । यो किताबले मेरो जीवनमा ठूलो परिवर्तन ल्याइदियो ।’



त्यस्तै, इलोन मस्क अर्का विश्वका प्रभावशाली व्यक्ति हुन् । स्पेस एक्सका संस्थापक इलोन मस्कले आफ्नो जीवनमा आइज्याक एसिमोभको उपन्यासले ठूलो प्रभाव पारेको बताएका छन् ।

सात किताबको सो सिरिजमा एउटा गणितको प्रोफेसरको कथा छ । उक्त किताबमा ब्रह्माण्ड संकटमा हुन्छ । ती प्रोफेसरले ब्रह्माण्डको संकटसँग लड्ने एउटा योजना बनाउँछन । योजना अनुसार पृथ्वीबाट परका ग्रहहरुमा वैज्ञानीकको कोलोनी पठाउँछन र संकटविरुद्ध लड्छन् । 

मस्कले पनि यही किताबले आफूलाई प्रेरणा दिएको र जीवन बदलिदिएको बताउँदै आएका छन् ।

— एजेन्सीहरुको सहयोगमा
 

  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १२:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया