ट्रम्पको चिन्ता– छिटोछिटो सैन्यशक्ति बढाएर चीन विश्वकै लागि खतरा बन्यो

वासिंगटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी मुलुक चीन विश्वकै लागि खतरा बनेको बताएका छन् । खासमा उनको चिन्ता चीनको बढ्दो सैन्यशक्तिमाथि छ । 

‘चीन छिटोछिटो सैन्यशक्ति बढाएर विश्वकै लागि खतरा उत्पन्न गरिरहेको छ । यसमा खुलेआम अमेरिकी बौद्धिक सम्पदाको प्रयोग गरिरहेको छ,’ अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँगको भेटपछि शनिबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘अमेरिकाका पूर्वराष्ट्रपतिहरुले चीनलाई हरेक साल ५० हजार करोड अमेरिकी डलरसँगै हाम्रो बौद्धिक सम्पत्तिको अधिकार लैजाने अनुमति दिए । हामीले यसलाई लिएर नयाँ कदम उठाउनु आवश्यक छ ।’

दक्षिणी चीन सागरमा चीनले अमेरिकालाई घेर्ने कोसिस गरिरहेको पनि ट्रम्पले बताए । 

यसवर्ष चीनले आफ्नो सैन्य बजेट ७ प्रतिशत बढाएर १५.२ करोड डलर पुर्याएको छ । अमेरिका चीनको बढ्दो शैन्यबलदेखि चिन्तित छ । केही समयअघि अमेरिकी रक्षा विभाग पेन्टागनले पनि बढ्दो सैन्यबलका कारण चीन अमेरिकाका लागि खतरा हुन सक्ने रिपोर्ट दिएको थियो । 

अमेरिका चीनलाई आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी सम्झन्छ । त्यसैले पनि चीनको बढ्दो आर्थिक र सामरिक प्रभावबाट ऊ झस्किएको हुन सक्छ ।  

सामरिक प्रतिद्वन्द्विताको असर पछिल्लो समय अमेरिका–चीन व्यापार सम्बन्धमा देखिँदै आएको छ । अमेरिकाले चिनियाँ सामानमा एकपछि अर्को अतिरिक्त कर थपिरहेको छ । जवाफमा चीनले पनि अमेरिकी सामानमा कर थप्न थालेपछि दुई सर्वोच्च विश्व अर्थतन्त्रबीचको टकराव उत्कर्षमा पुगेको छ । 





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार २१:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया