वामदेव गाैतमले किन लिए कास्कीबाट निर्वाचन नलड्ने निर्णय ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले १४ मंसिरमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी नदिने बताएका छन् । 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी विजयी यो क्षेत्र अधिकारीको ताप्लेजुङमा परेको हेलिकोप्टर दुर्घटनापछि खाली भएको थियो । त्यसयता त्यो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने विषयमा बारम्बार विभिन्न बहस हुँदै आएका छन् । 

एकपटक रवीन्द्रपत्नी विद्या भट्टराईलाई नै पनि त्यो क्षेत्रकी नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवारका रुपमा हेर्न थालिएको थियो । तर, विद्याले अझै पनि आफू पूर्ण रुपमा राजनीतिमा आउने वा नआउने भन्नेबारे निर्णय दिइसकेकी छैनन् ।

‘उहाँसँग यस विषयमा औपचारिक रुपमा पार्टीको कुरा पनि भएको छैन,’ कास्कीकै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका एक नेता बताउँछन्, ‘तर, उहाँले बाहिर चाहिँ मिल्नै नै भए आउने कि भन्ने आशयमा कुरा गर्नुभएको छ रे ।’

यता, विद्याको निर्णय नआउँदै काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले नै वामदेव गौतमलाई उक्त क्षेत्रबाट निर्वाचनमा उठाउने विषयमा छलफल सुरु गरिसकेका थिए । त्यसो त वामदेव गौतमलाई संसद्मा ल्याउनका लागि यसअघि पनि विभिन्न ठाउँका नेकपा सांसदलाई राजीनामा दिन लगाउने समेत तयारी भएको थियो । काठमाडौंमै रामवीर मानन्धरलाई सांसदबाट राजीनामा दिन लगाउने प्रक्रिया समेत अगाडि बढिसकेको थियो । तर, यसको जनस्तरबाट पनि व्यापक आलोचना भयो । 

पछि वामदेव गौतम स्वयंले आफूले यस पटकका लागि निर्वाचन नलड्ने निर्णय सुनाए । वामदेव गाैतमले याे निर्णय सुनाउँदा घाेषणा गरेका थिए– यसपटकका लागि म कुनै पनि उपनिर्वाचन वा अन्य क्षेत्रबाट उम्मेदवार बन्दिनँ । उनकाे याे घाेषणालाई फेरि जिम्मेवार नेतृत्वकाे घाेषणाका रुपमा लिइयाे ।



तर, अब हुन लागेको उपनिर्वाचनमा वामदेवका लागि कास्की निर्वाचन क्षेत्र उपयुक्त हुनसक्ने अनुमान धेरैले गरेका थिए । अहिले वामदेव गौतम कास्कीबाट निर्वाचन लडेर आएमा भोलि उनलाई प्रधानमन्त्रीका लागि प्रोजेक्ट गर्न पनि सहज हुने बताउँदै आइएको थियो । 

‘कास्कीमै नेताहरु पनि वामदेव गौतमलाई नै उम्मेदवार बनाउने हो भन्दै हिँड्न थालिसक्नु भएको थियो,’ ती नेताले फरक धारसँग भने, ‘अब आज अचानक उहाँले सचिवालयमा आफ्नो निर्णय सुनाउनु भएछ ।’



नेकपाका एक सचिवालय सदस्यले फरक धारसँगको टेलिफोन कुराकानीमा भने, ‘अहिले नकारात्मक भाव उत्पन्न भएर फेरि हारिन्छ कि भन्ने एउटा आशंका त वामदेव कमरेडले चुनाव नलड्ने निर्णय लिनुको कारण हो, अर्को चाहिँ कास्कीका स्थानीय नेताहरुलाई पनि अब अवसर दिनुपर्छ भन्ने उहाँको आशय हो ।’

यतिमात्र होइन, वामदेव गौतमले अब पार्टीमा आफूलाई अझ बढी सक्रिय बनाउने निर्णय गरेको ती सचिवालय सदस्यले बताए । 

सायद गाैतमले आफ्नाे वाचा पनि सम्झिएका छन् । त्यसैले त उनले फेसबुकमा याे स्टाटस राखेलगत्तै उनकाे पक्षमा र प्रशंसामा निकै धेरै कमेन्टहरु आएका छन् । त्यस्ता कमेन्टमा अधिकांशले उनकाे जिम्मेवारपूर्ण निर्णय भन्दै स्वागत गरेका छन् ।

वामदेव गौतमले फेसबुकमा स्टाटस लेख्दै आफूले कास्कीबाट उम्मेदवारी नदिने निर्णय गरेको विषयमा लेखेका छन्, ‘मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि–

आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि ९२०७४ मा० प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया( १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’
 

  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार २१:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया