कहाँ पुग्यो आनी छोइङ डोल्माको सम्पत्ति शुद्धीकरण छानबिन ?

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिए । त्यसपछि उनले गरेको पहिलो निर्णय थियो– देशभरबाट तुइन हटाउने । 

यही विषयमा २ असोजमा उनको टिभी कार्यक्रम पनि सुरु भयो । पछिल्लो पटक केपी ओली प्रधानमन्त्री बनेपछि सुरु भएको जनतासँग प्रधानमन्त्री कार्यक्रमको पहिलो शृङ्खलामा त्यही तुइनको विषय मुख्य प्राथमिकतामा थियो । 

त्यो कार्यक्रममा सहभागी हुन आएकी थिइन्, गायिका आनी छोइङ डोल्मा पनि । 

कार्यक्रममा गायिका आनी छोइङ डोल्माले प्रधानमन्त्रीलाई तुइन विस्थापनका लागि आफूले एक करोड सहयोग गर्ने घोषणा गरिन् । उनको यो घोषणाले सबैलाई खुसी बनायो । 

तर, लामो समय भएको थिएन, आनीसँग सम्बन्धित अर्को समाचार बाहिर आयो । त्यो थियो, आनीको बैंकमा करोडौं रुपैयाँ विदेशबाट आएको छ । यसबारे सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गर्ने भयो । 

आनीलाई मेगा बैंकमा रहेको खातामा हङकङबाट पैसा आएको थियो । तीन चरणमा पाँच लाख डलरभन्दा धेरै पैसा उनको बैंक एकाउन्टमा जम्मा भएको थियो । यो रकम शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । 



त्यसो त आनीको खातामा पैसा आएको यो पहिलो पटक थिएन । ठूलो मात्रामा उनको बैंकमा यसअघि पनि बारम्बार पैसा आइरहेको थियो । आनी स्वयंले आफूलाई विदेशबाट पैसा आउने गरेको स्वीकारेकी छिन् । 

‘म विभिन्न संघसंस्थामा आवद्ध छु, त्यसका लागि पैसा आउने गरेको हो,’ उनले बताएकी छिन् । तर, उनले त्यसरी किन पैसा आउँछ भन्नेबारे केही बताउन सकेकी छैनन् । कतिसम्म भने उनले त्यो आएको पैसा कहाँ खर्च गरिरहेकी छिन् भन्ने पनि प्रष्ट रुपमा देख्न सकिएको छैन । 



‘अधिकांश पैसा उनले आफ्नै संस्थामा खर्च गरेकी छिन्,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक कर्मचारीले भने, ‘तर, उनीसँग सोधिएको सम्पत्तिको स्रोतबारे उनी आफैंले पनि अहिलेसम्म जवाफ दिन सकेकी छैनन् ।’ विभागले हङकङको बैंकसँग पनि आनीलाई आएको सम्पत्तिको स्रोत मागेको छ । तर, अहिलेसम्म हङकङको बैंकले पनि त्यसको जवाफ फर्काइनसकेको ती कर्मचारीले बताए । 

सम्पत्ति शुद्धीकरण विभागले आफ्नो छानबिन त अगाडि बढाएको छ । तर, अर्कोतिर प्रधानमन्त्री कार्यालयबाट नै रोक्का भएको आनीको पैसा फुकाउन बारम्बार दबाब दिइएको छ । ‘यस्तो दबाब त दिनु नपर्ने हो,’ प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयका एक सदस्यले भने । 

उता, आनीसँग नजिक एक संगीतकार भन्छन्, ‘आनीले हामीसँग यस विषयमा कुनै कुरा नै गरेकी छैनन् । उनको सम्पत्तिको छानबिन हुन्छ भने सायद उनी त्यसका लागि तयार छिन् । तर, हामीले थाहा पाएको कुरा के हो भने उनले नराम्रो काम चाहिँ गरेकी छैनन् ।’

  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार ११:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया