काठमाडाैं— राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यामबाट प्राप्त ज्ञान तथा नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, पहिचान र उजागर हुने गरी राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास व्यक्त गरिन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुईतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गर्दै उनले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुने गरी राष्ट्रिय पुररस्कारहरु स्थापना गर्दै गएकोमा खुसी व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले नेपाल परापूर्व कालदेखिनै खोज, अनुसन्धानको थलोको रुपमा रहेको स्मरण गराउँदै त्यस्ता खालको ज्ञान र विज्ञानको विकास गर्न सम्वद्ध निकायहरु उत्तिकै अग्रसर हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले सो पुरस्कारको पनि व्यवस्था गरेको बताए । उनले सरकारले कृषि क्षेत्रको विकासका लागि पनि वैज्ञानिक अध्ययन र अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिएको स्मरण गराए ।
आँखाको अनुसन्धानमा अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाएका वरिष्ठ चिकित्सक रुईतलाई पाँच लाख नगदसहित सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा वैज्ञानिकद्धय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही नगद दुई लाख ५० हजारसहितको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता’ पुरस्कार प्रदान गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।