सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा १५ करोड विनियोजन

काठमाडौं– प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयअनुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ  प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका प्रहरी कर्मचारीका लागि मोटरसाइकल स्कुटर, ल्यापटप, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन किस्ताबन्दीमा समेत खरिद गर्नका लागि सहुलियत ऋण उपलब्ध हुने प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए ।

प्रहरीले यसरी किस्ताबन्दीमा ऋण लिँदा कल्याणकोष कार्यविधि २०७१ को अनुसूची १० अनुसारको निवेदन दिनुपर्नेछ । हलुका सवारीसाधनका लागि ६ प्रतिशत ब्याजदरमा १५ लाखसम्म १० वर्षका लागि ऋण लिन सकिनेछ । 

मोटरसाइकलका लागि भने सोही व्याजदरमा चार वर्षका लागि दुई लाख, ल्यापटप र टिभीलगायतमा ५० हजार र फ्रिज माइक्रोओभनमा २५ हजार ऋण लिन सकिने प्रहरीले जनाएको छ । कार–जिप लिने प्रहरी अधिकृतको हकमा सात वर्ष नोकरी गरेको र कनिष्ठ प्रहरी अधिकृतका हकमा सात वर्ष, प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म पाँच वर्ष र सोभन्दा माथिका लागि तीन वर्ष नोकरी अवधि बाँकी भएको हुनुपर्नेछ ।

अन्यको हकमा भने पाँच वर्ष नोकरी अवधि भएको हुनुपर्ने जनाइएको छ । चाडबाड सुरु भएकाले त्यस्ता सामग्री खरिद गर्न चाहने प्रहरी कर्मचारीका लागि यो सहुलियत ऋण सुविधा उपलब्ध गराइएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १६:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया