वैवाहिक सम्बन्धबारे हेमा मालिनीः हाम्रो सम्बन्ध धेरै परिपक्व छ

बलिउडमा छुट्टै स्थान बनाउन सफल हेमा मालिनी आफ्नो समयकी सफल अभिनेत्री मात्र होइनन्, सँगसँगै उनी एक राजनीतिज्ञ पनि हुन् । उनी अहिले मथुरा (उत्तर प्रदेश)बाट भारतीय जनता पार्टीकी लोकसभा सांसद हुन् ।  हिन्दुस्तान टाइम्समा प्रकाशित हेमा मालिनीको यस आत्मकथालाई फरकधाकर्मी कमल विष्टले नेपाली अनुवाद गरेका छन् ।

धर्मेन्द्रजीसँग मेरो पहिलो भेट ‘आसमान महल’को प्रिमियर सो हुँदा भएको थियो । त्यतिवेला मैले उनी मेरो जीवनसाथी हुन सक्छन् भनेर सोचेको थिइनँ । पहिलोपटक भेट्दा मैले उनीप्रति ध्यानै दिइनँ, सायद उनीप्रति मेरो कुनै चासो नभएकाले होला । यद्यपि, उनको बारेमा मैले उनलाई भेट्नुपूर्व नै धेरै सुनिसकेकी थिएँ । उनीप्रति मेरो लगाव रहेछ भन्ने धेरै वर्षपछि गएर मात्र महसुस भयो । 

संयोग कस्तो भयो भने उनलाई भेटेकै वर्ष मैले उनीसँग चार फिल्म सँगै खेल्न साइन गरेँ । सबैभन्दा पहिलो ‘सराफत’को सुटिङ भयो । त्यसपछि सन् १९७१ मा धर्मेन्द्रसँग खेलेको ‘राजा–रानी’ सुपरहिट भयो । त्यसको एक वर्षपछि मात्रै सन् १९७२ मा ‘सीता और गीता’मा सँगै काम गर्यौँ । निर्देशक रमेश सिप्पीले यो फिल्मको कथा मलाई नै हेरेर बनाएको बताए थिए । धर्मेन्द्रसँग गरेको हिरोइन ओरिएन्टेड यो फिल्मलाई दर्शकले खुबै मन पराए । रमेश सिप्पीको ‘सोले’मा मैले वसन्तीको रोल गरेपछि धर्मेन्द्र मलाई अक्सर वसन्ती भनेर नै बोलाउँथे । उनीसँग गरेका हरेक फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न  थालेका थिए । 

फिल्म ‘चरस’देखि सन् १९७७मा ‘ड्रिम गर्ल’सम्म आइपुग्दा हामीले खेलेका सबै फिल्म सुपरहिट भएका थिए । फिल्म मात्रै होइन, त्यतिवेलासम्म दर्शकले हाम्रो जोडीलाई पनि एकदमै मन पराउन थालेका थिए । यस अर्थमा हाम्रो जोडी पनि सुपरहिट भएको थियो । ‘सोले’ रिलिज भएपछि मेरो विवाहलाई लिएर मेरा बाआमा निकै चिन्ता गर्न थालेका थिए । अखबारमा मेराबारे छापिने समाचारले उहाँहरूमा झनै चिन्ता थपिँदै जान थालेको थियो । उहाँहरूको अस्वभाविक चिन्ता र चासो देखेर मलाई सह्य नभएपछि मैले एक दिन भनेँ– आमा यस्तै चल्दै गयो भने म फिल्ममा काम गर्न छोड्दिन्छु । 

धर्मेन्द्रबाहेक अन्य एक्टरसँग काम गर्दा मेरी आमालाई डर लाग्थ्यो । तर, धर्मेन्द्रसँग काम गर्दा भने उहाँलाई कुनै गुनासो हुँदैनथ्यो । उहाँ एक हिसाबले निश्चिन्त हुनुहुन्थ्यो । त्यसवेलासम्म मैले पनि आमालाई हाम्रो बारेमा सबै कुरा बताउन सुरु गरिसकेको थिएँ । 

पछि हाम्रो विवाह तमिल रीति–रिवाजमा भयो । हामी दुवै यस्तै तरिकाले विवाह गर्न चाहन्थ्यौँ । मान्छेहरूको स्वभाव हुन्छ, कसैको तारिफ उसकै अगाडि गर्ने, तर धर्मेन्द्रले कहिल्यै त्यसो गरेनन् । उनी मेरी आमाजस्तै थिए । मेरी आमा मेरो तारिफ कहिल्यै मेरो अगाडि गर्नुहुन्थेन । मेरो पछाडि भने उनी मेरो औधी तारिफ गर्थिन् । ठ्याक्कै यस्तै स्वाभावका थिए, धर्मेन्द्रको पनि । उनले मेरो तारिफ मेरोअघि कहिल्यै गरेनन् । आमाले मलाई सधैँ सही बाटोमा हिँड्न मार्गनिर्देशन गर्नुभयो । यही आदत थियो, धन्र्मेन्द्रको पनि । 



हाम्रो सम्बन्ध एकदमै ‘म्याच्योर’ छ । धर्मेन्द्र आफ्नो कर्तव्य र जिम्मेवारीबाट कहिल्यै विमुख हुँदैनन् । उनलाई मैले कहिल्यै भन्नुपरेन, उनको परिवारप्रतिको कस्तो जिम्मेवारी, छोरीहरूप्रति कस्तो र मप्रति कस्तो जिम्मेवारी छ भनेर । धरमजीले मेरो र मेरी छोरीका लागि जेजति पनि गरे म त्यसमा खुसी र सन्तुष्ट छु । उनले एउटा बाबा हुनुको कर्तव्य धेरै न्यायोचित ढंगले निभाएका छन् । उनले एउटा बाबाले निभाउनुपर्ने कर्तव्यमा कहीँ कतै पनि चुकेनन् । 

धरमजीका बाबा केवलकृष्ण सिंह देओल, मलाई र मेरो परिवारलाई धेरै मन पराउँथे । उनी मेरा बाबा र भाइसँग अक्सर चिया गफ गर्थे । चिया पिउनुअघि उनी पञ्जालडाइँ पनि खेल्थे । पञ्जा लडाइँमा आफूले जितेपछि उनी ठट्टा गर्दै भन्थे– तिमीहरू घिउ–मख्खन, लस्सी–वस्सी खाने गर । इडली र साम्बर आएर मात्र बल आउँदैन । यति भनिसकेपछि उनी जोडजोडले हाँस्थे । 



धरमजीकी आमा सतबन्त कौर पनि निकै राम्री महिला थिइन् । एकपटक उनी हाम्रो घरमा कसैलाई नभनी मलाई भेट्न जुहू आएकी थिइन् । मैले उनको खुट्टा छुँदा मलाई आशिर्वाद दिँदै भनेकी थिइन्– सधैँ खुसी हुनु छोरी !

धरमजी सांसद हुँदा मैले उनको व्यक्तिगत काममा धेरै सहयोग गर्थें । उनले विकासका लागि ठूलो योगदान पुर्याएका छन् । उनी मलाई आफ्नो संसदीय क्षेत्रको विकासका लागि के–के गर्न सकिन्छ भनेर सोध्ने गर्थे । सानो कुरामा पनि मसँग सल्लाह लिन्थे । आफ्नो संसदीय कार्यकालमा उनले आफ्नो क्षेत्रमा पानीको एटिएम ल्याउन सक्दा उनी धेरै खुसी भएका थिए । 

आज म काम गर्छु । आफ्नो आत्मसम्मान र व्यक्तित्व सधैँ एउटै रूपमा कायम राखिरहन सक्षम छु । आफ्नो जीवनलाई सार्थक र अर्थपूर्ण बनाउन कला र संस्कृतिको सहायता लिने गरेकी छु । मलाई अहिले लाग्छ, त्यसवेलाको परिस्थिति बेग्लै भएको भए आज म यो हुन सक्षम हुने थिइनँ, जे आज बनेकी छु । 

धरमजीलाई हेर्दा आज म निःसन्देह भन्न सक्छु कि मान्छेको उमेरले धेरै अर्थ राख्दैन । कसैले चाह्यो भने, धरमजीजस्तो बच्चा प्रवृत्तिको, जे गर्न पनि अल्छी नमान्ने जो–कोही पनि बन्न सक्छ । आज पनि उनी मलाई सही र गलत बाटो देखाउँछन् । मेरो क्षमतामा उनलाई किञ्चित शंका छैन । उनी मेरो क्षमतामा हरदम विश्वास गर्छन् ।

उनी हेर्दा कठोर मानवजस्तो लाग्छन्, तर वास्तवमा उनी निकै कोमल हृदयका मानिस छन् । मेरी आमाको देहान्त हुँदा हाम्रो परिवार पूरै शोकमा डुबेको थियो । उनले त्यसवेला हामीलाई धेरै सान्त्वना दिएका थिए । 

  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार ०:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया