न्युयोर्क– १६ वर्षे स्विडिस जलवायु अभियन्ता ग्रेटा थन्बर्गले ‘पर्यावरण ध्वस्त गरेर आर्थिक विकासको होडमा लागेको’ विश्व-नेतृत्वलाई 'जलवायु समस्या समाधानमा निकम्मा बनिरहे आफ्नो पुस्ताले कहिल्यै माफ नगर्ने' चेतावनी दिएकी छिन् । संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलनमा बोल्दै उनले भावुक, तर कडा शब्दमा विश्व–नेतृत्वपंक्तिको आलोचना गरिन् ।
‘तपाईंहरुले आफ्ना खोक्रा शब्दहरुले मेरा सपना, मेरो बाल्यकाल चोर्नुभएको छ, तैपनि म अझै भाग्यमानीमध्येकी एक हुँ,’ निकै भावुक भाषण दिएकी ग्रेटाले विश्व–नेतालाई सम्बोधन गर्दै भनिन्, ‘मानिसहरु प्रताडित छन्, मरिरहेका छन् । पर्यावरण ध्वस्त हुँदै छ ।’
‘हामी सामूहिक विनाशको संघारमा छौँ, र तपाईंहरु सबै पैसा र आर्थिक विकासको कुरा गर्दै हुनुहुन्छ । तपाईंलाई यस्तो गर्ने हिम्मत कसरी आयो ?’ ग्रेटाले प्रश्न गरिन् ।
पछिल्लो ३० सालको वैज्ञानिक आकडा हाम्रै अगाडि रहेको, तर समस्यासँग जुध्न राजनीतिक प्रयास वा समाधान कतै नदेखिएको भन्दै ग्रेटाले युवा पिढीले अब विश्वका नेताहरुको चाल बुझ्न थालेको बताइन् ।
‘आउँदो पिढीको नजर पनि तपाईंमाथि रहनेछ । अब हामी तपाईंलाई यस्तो गर्न कदापि दिने छैनौँ,’ विश्वभरको राजनीतिक नेतृत्वलाई चेतावनी दिँदै उनले भनिन्, ‘अब तपाईं चाहनुस् या नचाहनुस्, परिवर्तन भएरै छाड्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।