‘नेपालले विश्वमा गुरु राष्ट्रको भूमिका निर्वाह गर्ने समय आयो’

काठमाडौं– कुनै समय यस्तो थियो, सरकारले कुनै निर्णय गर्यो र त्यसको विरोध हुँदैछ भने माइतीघर मन्डला लगायतका सार्वजनिक स्थानमा प्लेकार्ड लिएर केही युवाहरु उभिन्थे । उनीहरुको हातमा एउटा प्लेकार्ड हुन्थ्यो, जसमा लेखिएको हुन्थ्यो— विवेकशील नेपाली । यस्तै अभियानबाट जन्मिएको विवेकशील नेपाली यात्राले आज राजनैतिक पार्टिको स्वरुप धारण गरेको छ । यसबीच यसको अर्को नयाँ पार्टी साझा पार्टीसँग समायोजन भयो । तर, त्यो समायोजन लामो समय टिक्न सकेन ।

पार्टी समायोजन बाट छुट्टिएर उज्ज्वल थापाले नेतृत्व गरेको एउटा समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराए— विवेकशील नेपाली दल । यो पार्टीले पहिलो पटक जनकपुरमा राष्ट्रिय सम्मेलन गर्दैछ जसले पार्टीका लागि नयाँ नेतृत्व पनि छान्दैछ । 

तर, अबको नेतृत्वमा आफू नबस्ने उज्ज्वल थापाले बताएका छन् । त्यसैले अब यो पार्टीलाई नेतृत्व गर्न आफू अध्यक्ष हुनु पर्ने दाबीसहित शिव थापा र मिलन पाण्डेले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षका बलिया उम्मेदवार शिव थापासँग फरक धारले गरेको कुराकानीः

विवेकशीलको अबको नेतृत्वदायी भुमिकामा आफू नउठ्ने उज्ज्वल थापाले बताउनु भयो । यो खासमा विवेकशीलको नेतृत्वका लागि पुस्ता हस्तान्तरण हो कि उहाँले आफूले पार्टी चलाउन सक्दिनँ भन्ने महसुस गरेकाले आएको निर्णय हो ?

खासमा उहाँले नेतृत्व हस्तान्तरण गर्ने मनसाय पहिले नै बनाइ सक्नु भएको थियो । तर, पुस्ता हस्तान्तरणको अर्थ आफुले नसकेर वा अब युवालाई लै नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने उहाको मनशाय हो भनेर चाहिँ बुझ्नु हुदैन । सक्षमताको आधारमा नेतृत्व युवा वा बयस्क दुबैले लिन सक्छ । के चाहिँ साँचो हो भने विवेकशील नेपाली दलले सुरु देखि नै कु–संस्कारको जालोलाई पन्छाउँदै सुसंस्कारयुक्त राजनीतिलाई स्थापित गराउने लक्ष्य लिएर अगाडि बढेको हो ।

हामीले राजनीतिलाई समाजको हित र राष्ट्रको सेवाको रुपमा हेर्दै आएका छौँ । त्यसैले पनि उज्ज्वल थापाज्यु को निर्णय आकस्मिक नभएर अगाडि देखि नै योजना बनाउनु भएको विषय हो । उहाँले त नेतृत्वमा नयाँ साथीहरु आउन सकून् भनेर बाटो खोलिदिनु भएको छ । बरु उहाँको यो उदार मानसिकताको हामीले सम्मान गर्नुपर्छ ।यसले नेपाली राजनीतिमा एउटा छुट्टै नयाँ नजिर बसाउन सहयोग गर्नेछ । 



चोकचोकमा प्लेकार्ड लिएर उभिनु र राजनीति फरक कुरा हुन् । सहरमा अभियानहरुका लागि केही युवा जमघट गराएर अभियान चलाउँदै आएको विवेकशीलले राजनीतिमा नयाँ प्रभाव छोड्न सक्ला र ?

खासमा राजनीति भनेको समाज रुपान्तरण र देश निर्माणको लागि तय गरिएको यात्रा हो । यसले सबैभन्दा पहिले आम नागरिकको समस्यालाइ पहिचान गरेर नागरिकको अपेक्षालाई न्यायपूर्ण ढंगले सम्बोधन गर्दै राष्ट्रलाई अगाडि बढाउन सक्नुपर्छ । 



वास्तवमा राजनैतिक यात्राको सुरुवात अभियानबाट नै हुने गर्छ । त्यसैले विवेकशीलले पनि अभियानलाइ आत्मसात् गर्दै आएको हो । अब विवेकशील नेपाली दल राष्ट्रिय राजनीतिको मूल धारमा आउनको लागि पनि पुर्व तयारी गरिरहेको छ । हामीले रोल्पामा नीति सम्मेलन गर्यौँ, त्यो सम्मेलनमा पार्टीको राजनैतिक दर्शन के हुने, मार्ग निर्देशक सिद्धान्तहरु के के हुने तथा दलको नीति र कार्यक्रमहरु के कस्तो बनाउने भन्ने विषयमा वृहत छलफल गरेका छौ ।  अब जनकपुरमा हुने राष्ट्रिय सम्मेलनबाट दलले नयाँ नेतृत्व पाउनुको साथै दलले आफ्नै दर्शण, नीति तथा कार्यक्रमहरुलाइ पनि पारित गर्ने जमर्को गर्नेछौ । त्यसपछि विवेकशील नेपाली दलको यात्रा अझै सशक्त भएर अगाडि बढ्नेछ ।

तर, अझै पनि विवेकशीलले केही गरिरहेको छ भने चोकमा प्लेकार्ड लिएर नै त बसिरहेको छ ?

खासमा हामीले के बिर्सनु हुँदैन भने विवेकशील यात्रा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका आम नेपाली नागरिकको सपनालाइ बोकेर लुम्बिनीमा गएर सबै नेपालीको सपनालाइ साकार पार्ने संकल्पका साथ आधिकारिक रुपमा सुरु भएको थियो । यसको एउटै उद्देश्य विवेकशील नेपाली दल एक वृहत्तर कार्ययोजना बोकेर समाज रुपान्तरण र देश निर्मानको कार्य्दिशामा अगाडि बढ्नकै लागि हो ।

कुनै पनि परिवर्तनको लागि अभियान सुरु हुन जरुरी छ । त्यसका लागि एउटा निश्चित स्थान छनौट गर्नु पर्ने आवस्यक हुन्छ विवेकशीलले आफ्नो अभियानको सुरुवाती बिन्दु काठमाडौं उपत्यकालाइ बनाएको हो, अब हामी छिट्टै नै गाउँगाउँ र बस्तीबस्तीमा पुग्ने छौ । हरेक नेपाली नागरिकको घर दैलोसम्म पुगेर आम नागरिकहरुको आवाजलाई मनन गर्दै न्यायोचित ढंगले सम्बोधन गर्नेछौँ । 

फेरि विवेकशीलको निश्चित सिद्धान्त पनि त छैन, विश्वमा अहिले दुई ध्रुवमा राजनीति बाँडिएको जस्तो देखिन्छ । यस्तो अवस्थामा मध्यममार्गमा आफ्नो सैद्धान्तिक पाटोलाई प्रष्ट नपारी हिँडिरहेको पार्टीलाई जनताले केको आधारमा विश्वास गर्ने ?

हेर्नुस्, हाम्रो देशको भौगोलिक अवस्थिति, सामाजिक तथा सांस्कृतिक विविधता र भू–राजनैतिक परिवेशलाई गम्भीर भएर अध्ययन गर्ने हो भने हामीले पूर्ण रुपमा एउटा एक्स्ट्रीम धारलाइ आत्मसात् गर्न मिल्दैन किनकी हाम्रो देशको समाज नै अनौठो तरिकाले निर्माण भएको छ । अबको विश्वशक्ति उत्तरतिर उदाउँदै गरेको चीन र दक्षिणतर्फ उदाउँदै गरेको भारतमा आएर ठोक्किएको छ । चीन र भारत २ ठूला देश मात्र होइन, २ फरक–फरक राजनैतिक सिद्धान्त बोकेका २ फरक राजनैतिक शक्ति राष्ट्रहरु पनि हुन् । यी दुई देशमार्फत निकट भविष्यमा हुनसक्ने राजनैतिक टकरावको परिस्थितिमा शक्ति सन्तुलनको मध्यममार्गी भूमिका नेपाल बाहेक अन्य देशले निर्वाह गर्न सक्ने सामर्थ्य देखिदैन ।

अनि फेरि अहिले विश्वमा भएका घटना क्रमहरुलाई हेर्ने हो भने पनि अब विश्व समुदायलाइ चाहिने भनेको मध्यमार्गी धार नै हो । मध्यम बिन्दु नै शक्ति सन्तुलनको एक मात्र आधार हो । अतिवादले एक दिन यो समाज, राष्ट्र तथा विश्वलाई नै ढिलो चाँडो विध्वंसको बाटोमा धकेलिदिन्छ ।

तपाईंले विवेकशीलको नेतृत्व गर्नका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । मानौँ, तपाईं नेतृत्वमा आउनु भयो भने कुन कुरालाई बढी मान्यता दिनुहुन्छ ?

अहिले यो देश र समाजले वैचारिक तथा सांगठनिक दुबै खुबीको फ्युजन भएको नेतृत्व खोजी गरिरहेको छ । यो गाह्रो कुरा पनि लाग्न सक्छ तर मेरो लक्ष्य वैचारिक तथा सांगठनिक दुबै पाटोलाइ आत्मसात गरि संगठन र राष्ट्रको हितमा समर्पित भएर सेवा गर्नुमा नै निहित हुनेछ ।  विवेकशीलको विचारले पनि आखिरकार त्यस्तै फ्युजन भएको नेतृत्व खोजिरहेको छ, जो स्वयं मध्यममार्गी चरित्र निभाउन सकोस् ।

एकातिर तपाईं शान्त, भलाद्मी, संयम नेतृत्वको वकालत गरिरहनु भएको छ । अर्कोतिर अहिले विश्वलाई हेर्ने हो भने अमेरिकामा ट्रम्प, बेलायतमा जोन्सन, उत्तर कोरियामा किम जङ–उनजस्ता नेताहरुले शासन गरिरहेका छन् । यसले हेर्दा एउटा देशलाई निश्चित बिन्दुमा पुर्याउन त अलिक अराजक नेतृत्व नै चाहिन्छ भन्ने होइन र ?

हो, मलाई लाग्छ यो आम मानिसको मनमा उब्जिएको प्रश्न पनि हो । शक्तिशाली देशहरुलाई नेतृत्व गर्ने सन्काहा प्रवृत्तिका नेतृत्वहरकै कारण अहिले विश्व आन्तरिक द्वन्दमा झन झन फँस्दै गइरहेको छ । शक्ति परिचालनको गलत संस्कारलाइ चिर्नकै लागि भए पनि हामीले शक्ति सन्तुलनको मार्ग अपनाउन जरुरी छ । यो देशले अब नेपालको लागि मात्रै नभएर समग्र विश्वलाई नै उचित मार्ग्निर्देश गर्नु पर्ने आवश्यकता देखिएको छ । इतिहास साक्षी छ, नेपाल कयौँ ऋषिमुनिहरु तथा बुद्धलगायत कयौँ गुरुहरुको जन्म भुमि र ज्ञानभुमि रहेको राष्ट्र हो । यो देशले विश्व समुदायको लागि पुनः गुरु राष्ट्रको भूमिका निर्वाह गर्नु पर्ने समय आएको छ ।

  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार १०:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया