चीनकाे रेल अब टाढा छैन: प्रचण्ड

बुटवल— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राणा र शाह शासकहरू जस्तै अहिलेका नेता पनि बडाहाकिम भएको बताएका छन् ।  रुपन्देहीमा भइरहेको तिलोत्तमा लगानी सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष दाहाले नेताहरू बडाहाकिम हुन खोजेकैले समस्या भएको पनि उल्लेख गरे ।

शाहहरू, राणाहरू बडाहाकिम थिए, पञ्चायतमा पनि त्यस्तै देखियो’, उनले भने, ‘तर लोकतान्त्रिक  आन्दोलनपछि अवस्था फेरिन्छन् भनेका नेताहरू पनि उल्टै बडाहाकिम भए।’ अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्थामा दलहरूले जनताका लागि धेरै गर्नुपर्नेमा जोड दिए ।

‘जनताले धेरै नै हुनुपर्छ भनेका छन्, उनीहरूको अपेक्षा पनि त्यस्तै छ’, उनले अगाडि भने, ‘तर कतिपय अवस्थामा राणा बडाहाकिमहरू र नेताहरू उस्तै उस्तै हो कि छुट्याउन गाह्रो भएको छ।’ अध्यक्ष दाहालले अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था नभए पनि सचेत हुने बेला आइसकेको उल्लेख गरे ।

‘अहिले नै आत्तिनुपर्ने परिस्थिति छैन । तर, हामी जहिले पनि नकारात्मक भयौँ’, उनले थपे, ‘जहिले पनि ध्वंशात्मक, जहिले निरंकुश समय जस्तो नकारात्मक हुनु भएन।’  अध्यक्ष दाहालले राजनीतिक घोषणाले मात्रै देशलाई समृद्ध बनाउन नसकिने बताए । ‘राजनीतिक कुराले मात्रै समृद्धि आउँदैन । सोच र शैलीमा परिवर्तन आवश्यक छ’, उनले भने, ‘अब आर्थिक, सामाजिक विकासमा जोड दिनुपर्छ।’ 

दाहालले निजी क्षेत्रहरू ठग हुन्, ठग्नेलाई दुहेर निचोरेर खानुपर्छ भन्ने मानसिकता राज्यले त्याग्नुपर्नेमा जोड दिए । ‘राणा, शाह र पञ्चायतको जस्तै व्यवहार अब देखाएर हुँदैन’, उनले भने, ‘अब हामी त्यसता होइनौ भन्ने प्रमाणित गर्नुपर्छ । अराजकता र अस्थिरता फैल्याउने धमिलो पानीमा माछा मार्न खोज्नेहरूलाई जवाफ दिनु पर्छ।’ अध्यक्ष दाहालले अब चीनबाट आउने रेल धेरै परको नभएको पनि बताए ।

‘रेल अब टाढा छैन। अब केही दिनमा सम्झौता हुँदैछ’, उनले भने, ‘विकासले गति लिँदैन, हामी विकासतर्फ लम्किँदैछौं ।’





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार १२:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया