लाइदेउ, लाइदेउ माया लाइदेउ हे संगिता...

संगिता । मेरो स्वर ठूलो हुन्थ्यो । यसरी चिच्याउँथे मानौ अब बोल्नु पर्ने केही छैन । मेरो बोली, आवाज यहीँ सकियोस् । त्यसो त संगिताको नाम नै आइसकेपछि थप के बोलिरहनु ? त्यति बेला मन झकृत हुन्थ्यो, स्वासप्रसास बढ्थ्यो, शरिर अलौकिक आनन्दका साथ अर्कै दुनियाँमा प्रवेश गथ्र्यो ।

संगिता चार कक्षामा पढ्थी । म पाँच । तर, दिनभर मेरो मुखमा यही गित झुन्डिरहेको हुन्थ्यो ।

माया भए मनका कुरा पनि सुनिन्छ, दाइहरु भन्थे । के थाहा, संगितामा पनि मप्रति माया पो छ कि ? उसले मेरो मनका कुरा सुन्ने पो हो कि ? उसले मेरो मनलाई सुन्दा मेरो मनमा अनेक कुरा खेलेको थाहा पाइ भने कसरी राम्रो हुँदो हो ? उसलाई नराम्रो नलागोस् भनेर म दिनभर यही गित गुनगुनाउँथेँ ।

चौथो पिरियडपछि हाफ छुट्टी हुन्थ्यो । त्यो दिन हाम्रो चौथो पिरियड खाली थियो । म हाफछुट्टी हुनुभन्दा पहिले नै बाहिर निस्केर बसेको थिएँ । चार कक्षाबाट संगिता निस्किएको हेर्न चाहन्थेँ । हाफ छुट्टीको घन्टी बज्यो, टिनिनिनिनि... । संगिता कक्षाबाट निस्किइ । र, बेतोडले भाग्न थाली । उसको घर नजिकै थियो । घर जान भागेकी थिइ, संगिता । मलाई उसको हात समातेर त्यसरी नै दौडन मन लाग्यो ।

‘हात समातेर पनि दौडन मिल्छ ?’ साथीहरुले भने, ‘दौडँदा त पेन्ट पो समाउनु पर्छ, नत्र लाज देखिन्छ ।‘

‘मैले चाहिँ पर्दैन,’ रमेशले प्वाक्क भन्यो, ‘मेरो त बेल्ट छ ।’



उसले आफूसँग बेल्ट छ भनेर सुनाउनु भन्दा पनि संगिताको हात म समात्छु भन्न खोजेको म प्रस्ट बुझ्थेँ । तर, मैले उसलाई केही भन्न सक्दिनथेँ । रमेश हाम्रो कक्षाको दादा । 

त्यतिबेला बेल्ट बाँधेर स्कुल आउने हाम्रो कक्षामा एकजनामात्र थियो, रमेश । उसको बा बम्बइ गएका थिए । बम्बइबाटै उसलाई त्यो बेल्ट ल्याइदिएका रे । बेल्ट लगाएर आएको पहिलो दिन रमेशले पेन्टभित्र सर्ट हालेको थियो । बेल्ट देखिने गरि लगाएको थियो । त्यसपछि उसले सधैं सर्ट पेन्टभित्र नै राख्न थाल्यो । बेल्ट पाएपछि उसले दादाको जस्तो स्टायलमा कपडा लगाउन छाडिसकेको थियो । 



बम्बइबाट रमेशका बाबुले टिभी पनि ल्याएका थिए । रमेश हामीलाई टिभी हेर्न बोलाउँथ्यो । मानिसहरु चल्थे टिभीमा । कुराकानी गर्थे । एकदिन रमेशले हामीलाई फिल्म देखाउने भयो ।

‘सबैले दसदस रुपियाँ उठायो, फिल्म हेर्नी,’ रमेशले भन्यो । हामी मुखामुख ग¥यौँ– कहाँबाट ल्याउनु दस रुपेँ ? तर, फिलिम हेर्न पहिलो पटक रमेशले भनेको थियो । ‘माकसम, त्यो फिलिम हेरेपछि तिमीहरुले धेरै कुरा सिक्छौ,’ रमेशले लोभ्यायो, ’संगिताजस्तै केटी पनि छे यार । माकसम मैले पहिलो पटक फिल्म हेर्दा त झुक्किएको थिएँ ।’

संगितालाई रमेशले फिल्ममा देखिसकेछ । मलाई उसको कुराले झन् ठूलो पीडा भयो ।

त्यो साँझ घर फर्केपछि मैले बुवासँग दस रुपेँ मागेँ ।

‘किन चाहियो तँलाई,’ बुवाले सोझै मेरो कुरा अस्विकार गरिदिनुभो, ’पढ्नुसढ्नु छैन, फिलिम हेर्नप¥यो ?’ बुवालाई मैले त्यो फिल्ममा संगिताजस्तै केटी छ रे भन्न सकिनँ । कसरी भन्नु ? बुवालाई संगिता भए पनि के, नभएपनि के ?

शनिबार दिउँसो फिल्म हेर्ने योजना बनिसकेको थियो । भोलिपल्ट कक्षाका अरु साथीहरुले दस रुपियाँ ल्याएर रमेशलाई दिए । रमेशले सबैसँग पैसा लिएर मलाई हे¥यो । मैले केही भन्न सकिनँ, घोसेमुन्टो लगाएँ । मनमनै गाइरहेँ– लाइदेउ लाइदेउ माया लाइदेउ, हे संगिता....

त्यो दिन जतिपटक मैले संगितालाई देखेँ, रमेशले भनेका कुरा मनमा आइहाल्थेँ । तर, म विवश थिएँ, रमेशले दस रुपियाँ नदिनेलाई फिल्म हेर्न नदिने निश्चित थियो । रमेशले भनेको थियो, ‘बजारदेखि ब्याट्री चार्ज गरेर ल्याउन पर्छ । कम्ता गाह्रो हुन्न बोक्न । दस रुपेँ पनि नदिने होस् भने हिड् ब्याट्री बोक्न ।’

बुवाले दस रुपियाँ नदिएको झोंकमा मैले रमेशलाई तत्कालै सहमति जनाएँ । म संगिताजस्तै केटी कस्ती रहिछे भन्ने हेर्न छुटाउनै चाहन्नथेँ ।

शुक्रबार हाफ छुट्टीमै स्कुल बिदा भयो । घरमा गयो मलाई ममीले बजार जानै दिनुहुन्नथ्यो । किताब सबै स्कुलमै डेस्कमुनी लुकाएँ । र, बजार गएँ रमेशसँग ब्याट्री बोक्न ।

म बजार नगएको धेरै भइसकेको थियो । आधाघन्टा भन्दा बढी हिड्नु पथ्र्यो । चर्को घाम थियो । बीच बाटोमा पुगेपछि मैले भनेँ, ‘म हेर्दिनँ तेरो फिल्म । बजारदेखि ब्याट्री बोकेर म ल्याउने अनि अरुले जाबो दस रुपियाँ तिरेर फिल्म हेर्ने ?‘ फिल्म हेर्न नचाहेर मैले त्यसो भनेको थिइनँ । फिल्म हेर्न मलाई जति हतार सायद अरु कसैलाई थियो तर म चाहन्नथेँ, त्यो घाममा ब्याट्री बोकेर फर्किउँ । साँझ घरमा बुवाममीको गाली खाने पनि निश्चित थियो ।

‘जाम के यार । म तँलाई जेरी खुवाउँछु,’ रमेशले भन्यो । गोजीबाट पैसा निकालेर देखायो । १० का १० वटा नोट रहेछन् । मैले भनेँ, दुइटा मलाई दे ।

बुद्धिराम विश्वकर्मापैसा नदिए उसको साथी गुम्ने डर थियो । बजार एक्लै गएर उसले ब्याट्री ल्याउन सक्ने थिएन । मैले भनेको उसले सहजै मान्यो । १० रुपियाँका दुइटा नोट सरासर झिकेर दियो ।

मलाई पैसा दिनुपर्दाको पीडा उसको अनुहारमा प्रस्ट देखिन्थ्यो । त्यहाँबाट हामी दुइ चुपचाप भयौँ । सरासर बजार पुगियो । उसले ब्याट्री चार्ज गर्न दिएको ठाउँ जाउँ भन्यो । म मानिनँ । ‘पहिला जेरी खाने,’ मैले भनेँ । 

उसँग विकल्प थिएन । हामी सरासर भुँडे साउको पसलमा गयौँ । जेरी पसलेको नाम के हो, मलाई थाहा थिएन । कहिलेकांही ममी बजार आउँदा मलाई जेरी ल्याइदिनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘भुँडे साउको बाट ल्याको ।’

साउ गजधम्म कुर्चीमा बसेको थियो । म सरासर साउ भएको ठाउँ गएँ । र, भनेँ, ‘तीन जेरी दिनु ।’ 

‘पैसा छ,’ साउले सोध्यो । मैले पुलुक्क रमेशलाई हेरेँ । 

उसले गोजीबाट पैसाको मुठो निकाल्यो । पैसा देखेपछि साउले फेरि भन्यो, ‘चोरेर ल्याइस् क्या हो ?’ 

यसको उत्तर मैले दिनु पर्थेन । रमेशले भन्यो, ‘होइन ।’ र, दस रुपियाँको नोट साउलाई दियो ।

हामी टेबलमा गएर बस्यौँ । साउले भित्र कसैलाई भन्यो, ‘तीन जेरी ल्याइदे ।’

सानी फुच्चीले एउटै प्लेटमा तीनवटा जेरी ल्याएर राखी । र, हामीलाई हेर्दै नहेरी फरक्क फर्किइ । ऊ पर पुगेकी थिइन, रमेशले भन्यो, ‘मलाई यो केटी मन पर्छे यार । आइ लभ यु ।’

मैले रमेशको कुरा सुने, नसुने झैं गरेँ । मेरो ध्यान जेरीमा थियो । रमेशले दुइटा खाला भन्ने पिर थियो । तर, रमेश आफ्ना कुरा सुनाउन तिर बढी चासो दिइरहेको थियो ।

उसले भन्यो, ‘बाले ल्याएको फिल्म हेर्दा म जहिल्यै यही केटी सम्झन्छु यार । आजभोलि बजार आउँदा दिनदिनै म यहाँ आउँछु, जेरी, समोसा खान्छु । यो केटीलाई हेर्छु । यो केटी ऐश्वर्या रायजस्तै छ यार । आँखा पनि ऐश्वर्याका जस्तै छन् ।’

ऐश्वर्या को हो मलाई थाहा थिएन । मैले रमेशलाई सोध्दा पनि सोधिनँ । उसको बा बम्बइबाट फर्किएपछि धेरै फिल्म हेरेको थियो रमेशले । कुनै फिल्मकी केटी होली भन्ने सोचेँ । र, अर्को जेरी खान थालेँ ।

रमेश रोकिएन, ‘माकसम, यो केटीले मलाई बिहे गर्छे भने भोलि नै गर्छु यार । बरु पोखरा भाग्छु । त्यहाँ गएर म दुःख गर्छु, यसलाई सुख दिन्छु । बरु म आफैं जेरी पसलमा काम गर्छु, उसलाई चिटिक्क परेर कोठामा बस भन्छु । यसका आँखा मलाई बहुत राम्रा लाग्छन् यार ।’ रमेशले केही दिन यता हिन्दी शब्दहरु पनि प्रयोग गर्न थालेको थियो । म उसले भनेको आधा बुझ्थेँ, आधा बुझ्दिनथेँ ।

‘म योसँग प्यार गर्छु, मोहब्बत सारा गर्छु,’ रमेशले भन्यो । म चुपचाप तेस्रो जेरी खान लागेँ । रमेशले एउटै जेरी खाएन । जेरी खाइसकेपछि मैले भनेँ, ‘मैले त्यसको आँखा देखिनँ यार ।’ 

‘अर्को पटक याद गर् न,’ रमेशले भन्यो ।

‘होइन, अब दुइटा जेरी मगा । एउटा तँलाई, एउटा मलाई,’ मैले आइडिया दिएँ, ‘त्यतिबेला हेर्छु म त्यसको आँखा ।’

रमेश खुसी भयो । टेबलबाटै साहुलाई अ¥यायो, ‘थप दुइ जेरी ।’ रमेशसँग पैसा देखिसकेको थियो साहुले । ऊ फेरि चिच्यायो, ‘दुइ जेरी दे बाहिर ।’

रमेशलाई मन परेकी केटी फेरि अर्को प्लेटमा जेरी लिएर आइ । हामीलाई दिइ । मैले उसको आँखा हेरेँ । नीला आँखा रहेछन् मोरीका । त्यही भएर न रमेशले मनमै राखेको ।

‘सोलिड छैन त,’ रमेशले मलाई कसम खान लायो, ‘माकसम कसैलाई भन्दिनँ भन् ।’

मैले जेरी खाइसकेको थिएँ । रमेश पैसा तिर्न गयो । 

उसलाई कुरिरहेको थिएँ, मनमनै गाइरहेँ, लाइदेउ लाइदेउ माया लाइदेउ, हे संगिता ।

ब्याट्री चार्ज गर्न दिएको ठाउँ पुग्यौँ हामी । रमेशले ४० रुपियाँ दियो । र, ब्याट्री बोक्यो । आधा बाटो हिँडेपछि भन्यो, ‘अब तँ बोक् न यार । मलाई गाह्रो भयो । अघिको कुरा कसैलाई नभन है ।’

हामी एकछिन आराम गर्ने भयौँ । रमेशले चकलेट किनेको थियो । गोजीबाट झिकेर मलाई दियो । अर्को गोजीबाट पैसा निकाल्यो । दुइटा नोट रहेछन् ।

मैले गोजी छामेँ । मेरो गोजीमा पनि दुइटै नोट थिएँ ।

चकलेट खोलेर मुखमा मात्र के हालेको थिएँ, रमेशले भन्यो, ‘माकसम, म संगितालाई बहुत प्यार गर्छु यार । तँलाई मात्र भनेको हो ।’ गोजीबाट अर्को चकलेट झिकेर देखायो र भन्यो, ‘यो चकलेट उसैलाई दिन राखेको ।’

मलाई भाउन्न भयो । मैले रमेशलाई रमेश देख्न सकिनँ । एउटा ढुंगा टिपेँ र उसलाई हिर्काएँ । ढुंगाले रमेशलाई टाउकोमै लाग्यो । मुखमा आधा पग्लिसकेको चकलेट थियो । आधा टोकेँ र थुकेँ, ‘तेरो चकलेट तै खा ।’

त्यहाँबाट सरासर उठेर हिडेँ म । स्कुल गएँ । किताबकापी सबै स्कुलमै छोडेको थिएँ । बेलुकी घरमा पुग्दा किताब कापी नभए बुवाममीको कुटाइ खाने निश्चित थियो ।

स्कुलमा पाले दाइले सबै ढोका लगाएर बाहिर निस्किसक्नु भएको रहेछ । फसाद् प¥यो । के गर्नेनगर्ने सोच्नै सकिनँ । स्कुलको चउरमा बसेर संगिताको घरतिर हेरिरहेँ ।

केही समयमा रमेश आइपुग्यो । निधारमा ठूलो टुटिल्को उठेको रहेछ । ब्याट्री बोकेरै स्कुल आएको थियो रमेश । मैले उसलाई हेरेँ । केही बोलेन उसले ।

गोजीबाट चकलेट निकालेर मलाई दियो र भन्यो, ‘ला, यो संगितालाई दे । तँ पनि संगितासँग भाग्, म पनि संगितासँग भाग्छु ।’

मैले वरिपरि हेरेँ । स्कुलको चउरमा ढुंगा थिएनन् । 

ऊ फिस्स हाँस्यो र भन्यो, ‘त्यही जेरी पसलकी केटीको नाम मैले संगिता राखेको यार । गितमा गाउन पनि सजिलो हुने । तैले अघि यत्तिकै कुरै नबुझी ढुंगाले हानिस्,’ उसले भन्यो । र, टुटिल्को छाम्यो । उसको अनुहार १८० डिग्रीमा बदलियो ।

कक्षाको दादा हो, रमेश । तर, यति विनम्र भएको देखेर मलाई नै अचम्म लाग्यो ।

हामी दुवै त्यहाँ बस्यौँ र गाउन थाल्यौा, ‘लाइदेउ लाइदेउ माया लाइदेउ, हे संगिता...’

मनबाट संगिताको टेन्सन हटिसकेको थियो । किताब कसरी झिक्ने भन्ने टेन्सन थियो । रमेशलाई मैले गुहारेँ । उसले सहजै भन्यो, ‘एकैछिन पख ।’

ऊ सरासर कक्षा पछाडि गयो, झ्याबाट कक्षामा छिरेछ । मेरो झोला लिएर आयो । र, भन्यो, ‘ला तेरो झोला ।’

ढिला भइसकेको थियो । म त्यहाँ धेरैबेर भुल्न चाहन्नथेँ । संगिताको घरको बाटो हुँदै म जाने भएँ । रमेश र म छुट्टियौँ । छुट्टिने बेला उसले भन्यो, ‘भोलि छिट्टै आइज है । तँ छिटो आइस् भने हामी पहिले त्यो ऐश्वर्या रायको फिल्म हेरौला अनि अरु आएपछि अर्को ।’

‘हुन्छ,’ म सरासर हिडेँ, ‘लाइदेउ, लाइदेउ माया लाइदेउ, हे संगिता ।’

‘ममी आज म क्विजमा फस्र्ट भएँ,’ घर पुग्दा ममीले गाली गर्न पाउनुभन्दा पहिले मैले भनेँ, ‘यी सरले दिनुभएको १० रुपेँ ।’ रमेशले दिएको दुइटा नोटलाई गोजीमै छुट्ट्याएँ र एउटा ममीलाई दिएँ ।

साँझ बुवासँग मैले फेरि दस रुपैँ मागे । बुवाले फेरि गाली गर्नुभयो । उल्टो बुवालाई धम्काएँ, ‘ममीलाई दिएको छु मैले दिउँसो । म त्यही लिएर फिल्म हेर्न जाने हो, रमेशको घरमा ।’

खाना खानेबेला बुवाले ममीलाई भन्नुभयो, ‘त्यो साइलोले बम्बइबाट अनेकथरी ल्याएर छोराछोरी बिगार्ने भयो । यो उमेरमा के फिल्म हेर्ने भनिरा होलान् यिनीहरु ?’

शुक्रबार सरहरुले खासै गृहकार्य दिनुहुन्थेन । म सुत्न गएँ । तर, अरु दिनको जस्तो निद्रा लागेको पो ? कतिबेला बिहा होला र फिल्म हेर्न जाउँला भन्ने कल्पिरहेँ । मनमा उही संगिताको अनुहार धपधप आइरहेको थियो । अँध्यारो कोठामा जता हेरेपनि संगितालाई देखिरहेको थिएँ म । दाइहरु भन्थेँ, ‘माया बसेपछि त्यस्तै हो । जताततै त्यही एउटै केटी देखिन्छ ।’

रमेशले पनि संगितालाई देखिरहेको होला, टाउको छाम्दै टुटिल्को समाउँदै सोच्दै थियो होला, संगितासँग पोखरा जाने कुरा । उसले त रंगित सोच्दो हो, फिल्म हेरिसकेको थियो । म पनि उसको जस्तै सोच्न चाहन्थेँ, रातभर जति प्रयास गर्दा पनि संगिताले फिल्म खेलेको सोच्नै सकिनँ ।

बिहान ममीले कराउँदा झस्याङ्ग भएँ । नौ बजिसकेको रहेछ । शनिबार भएर मात्र यति ढिलासम्म सुत्न पाएको । अरु दिन भएको भए सातै बजे ममीले उठाउनुहुन्थ्यो । किताब लिएर पढ्न बस्नु पथ्र्यो ।

हतारहतार मुख धोएँ । खाना खाने बेला भइसकेको थियो । खाना पनि हतार हतार खाएँ । मुख राम्रोसँग कुल्ला पनि नगरी दगुरँै, ‘म रमेशको घर गएँ है ममी ।’

भित्रबाट ममीले केही भन्दै हुनुहुन्थ्यो, मैले केही सुनिनँ । बेतोडले भागिरहेको थिएँ । र, गाइरहेको थिएँ, लाइदेउ लाइदेउ माया लाइदेउ हे संगिता ।

रमेशको घरमा अझै खाना खाएका रहेनछन् । रमेशले मलाई अरुले थाहा नापउने गरि उसको कोठामा लग्यो । हाम्रो उमेरको रमेशमात्र एक थियो, जसको छुट्टै कोठा थियो । कोठाको भित्ताभर उसले पत्रिका टाँसेको रहेछ । राम्रा राम्रा केटीहरुको तस्विर थियो पत्रिकामा । ती केटीहरुको तस्विर तल रमेशले नाम लेखेको रहेछ, ‘संगिता, संगिता, संगिता ।’ र, एउटामा लेखेको थियो, ‘आइ लभ यु संगिता ।’

के गरेको होला रमेशले यस्तो, मैले बुझ्न सकिनँ । बाहिर उसकी आमा उसलाई कराउँदै हुनुहुन्थ्यो, ‘पढ्नु छैन, खाली साथी बटुलेको छ । फिलिम हेर्नी भनेको छ । फुटाइदिन्छु म त्यो भाँडो अनि थाहा पाउँछ । बाउ फर्केपछि यसले एक शब्द पढेको भए मरिजाउँ ।’

रमेशका बा फेरि बम्बइ गइसकेका रहेछन् । उसकी आमाले गाली गरिरहँदा मैले कोठामा हात जाडेँ, ‘हे भगवान, आजको दिन नफुटाइदिए पनि हुन्थ्यो, त्यो भाँडो ।’

खाना खाएपछि रमेश कोठामा आयो । फिल्म सुरु ग¥यो । मान्छेहरु हिँड्न थाले, बोल्न थाले । एउटा सिन आएपछि रमेशले टक्क रोक्यो । भन्यो, ‘ल हेर, संगिताको जस्तै आँखा छैन त यसको ?’ जेरी पसलकी केटीका आँखा र त्यो हिरोइनका आँखा ठ्याक्कै उस्तै थिए । मलाई संगिता खेलेको फिल्म हेर्न आतुर भयो । मैले रमेशलाई भनेँ । उसले टिभीनजिकै मुख लग्यो, चुप्प आवाज आयो । संगिताको फिल्म आउँदा पनि म त्यस्तै गर्न चाहन्थेँ ।

‘अरुलाई पनि आउन दे न,’ मेरो हतारलाई रमेशले बुझ्यो ।

केहीबेर पछि सोम आयो । उत्तम आयो । बुद्धिराम, अनिल आए । अनि बल्ल रमेशले भन्यो, ‘ल अब सुशिल र अरुलाई नपर्खिउँ । फिल्म सुरु ग¥यौँ ।’ कोही बोलेनन् ।

फिल्म सुरु भयो । सुरुमै गाना रहेछ । ‘यो गाना सुपरहिट गाना छ यार,’ रमेशले नै गितलाई गाना भन्न सिकायो त्यो दिन । सुपरहिट भनेको के हो, मैले बुझिनँ । सोध्दा पनि सोधिनँ ।

  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १०:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया