तीर्थ श्रेष्ठकाे नयाँ कविता सङ्‌ग्रह धर्सैधर्साको चक्रव्यूह

काठमाडाैं— कवि तीर्थ श्रेष्ठले आफ्ना नयाँ कविताहरूको सङ्ग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक गरेका छन् । नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'को सांगीतिक माहोलमा १० गते शुक्रबार साँझ श्रेष्ठको नयाँ पुस्तक विमोचन भएको हो ।

कुनैबेला तरलवादको नामले चिनिएको साहित्यिक अभियानमा लागेका कवि तीर्थ श्रेष्ठ गीतकारका रुपमा पनि परिचित छन् । यसपालीको पलेँटी कवि श्रेष्ठको गीत तथा कविता लेखनबारे केन्द्रीत भयाे । कार्यक्रममा उनले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत भए । संगीत र साहित्यको संगमले गर्दा उनको पुस्तक विमोचन कार्यक्रम चलनचल्तिका पुस्तक विमोचनभन्दा फरक देखिन्थ्यो ।

कार्यक्रमको शुरुवात कवि तीर्थको जन्मभूमीसँग सम्बन्धित गीतबाट भएको थियो । 'मेरै हिमाल जस्तो हेरिरहूँ पोखरा' बोलको गीतमा उनका मित्र सोम बज्राचार्यले संगीत भरेका थिए । कार्यक्रममा तीर्थले संगीतकार तथा गायक सोम बज्राचार्यलाई सम्झना गरे । केही वर्ष अघि संसारबाट बिदा भएका सोम तीर्थका नजिकका मित्र मध्येका हुन् ।

कार्यक्रमको दोस्रो प्रस्तुतिमा कवि तीर्थको चर्चित कविता 'नाम' सुनाइएको थियो । 'हामीले लेखेर आएका छौं, हिउँमा आ-आफ्ना नामहरू'लाई संगीतकार आभासले धुन भरेका हुन् । गीत संगीतका प्रसंगमा गीतकार तीर्थ र पलेँटी संचालक आभास रोचक संवादका साथ प्रस्तुत भएका थिए । तेस्रो गीत पनि आभासकै धुनको 'तिमी मात्र आफ्नो भयौ' रहेको थियो । कवि तीर्थले नेपाली समाजमा सपनामाथि रहेको जनविश्वासलाई लिएर यो गीत लेखेको सस्मरण सुनाए ।

'सपनामा मन पर्ने मान्छे देखियो भने ब्यूँझनासाथ सिरानी उल्टाउनु भन्छन् । त्यसो गर्दा उसको सपनामा पनि आफू प्रकट हुइन्छ रे ! मैले त्यही लोक विश्वासलाई गीतमा संगालेको हुँ ।' तीर्थले गीत सृजनाको अन्तरकथा भन्दै, त्यस गीतसँग प्रसंग जोडिएको मुक्तक सुनाएका थिए ।

तीन चरणमा विभाजन गरिएको कार्यक्रमको दोस्रो चरणमा कवि तीर्थ श्रेष्ठले आफ्ना पूर्व प्रकाशित कविताहरू सुनाएका थिए । उनले कविता सुनाउने क्रममा तिनको रचनागर्भको पनि चर्चा गरेका थिए । उनले 'लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु' र 'बाघ' जस्ता चर्चित कविता सुनाउँदा दर्शकहरूले बजाएको तालीबाट उनका कविताको सम्प्रेण अनुमान गर्न सिकन्थ्यो ।



पुराना कविता वाचनको लगत्तै कवि तीर्थको नयाँ कवितासँग्रह 'धर्सैधर्साको चक्रव्यूह' र उनको सम्पूर्ण काव्यिक व्यक्तित्वमाथि निवन्धकार रोशन शेरचनले मन्तव्य व्यक्त गरेका थिए । 'तीर्थ श्रेष्ठ अथवा तीर्थ दाइ सरल भाषामा गहिरो कुरा भन्ने सामर्थ्य भएका कवि हुनुहुन्छ' निबन्धकार रोशनले टिप्पणीका क्रममा भने- 'तीर्थ श्रेष्ठका कवितामा रहेको जीवन दर्शनले हाम्रो भित्री मनलाई सहजै स्पर्श गर्छ । उहाँले लेखेको ‘हिउँमा लेखेका नाम' प्रथम पल्ट पढ्दा मेरो मन साहित्यिक आनन्दले आल्हादित भएको थियो । त्यो कविता भित्र समेटिएको भावले जीवनप्रतिको सोचलाई वुद्धत्वतर्फ लैजान्छ । तीर्थ दाइको नयाँ सँग्रहमा पनि त्यत्तिकै गम्भीर भावका सरल कविताहरू संकलित छन् । म उहाँलाई शुभकामना व्यक्त गर्छु ।‘ साहित्यकार रोशनले 'धर्सैधर्साको चक्रव्यूह'मा सँग्रहित ‘निर्वाणको यात्रा’ कविता वाचनका साथ आफ्नो मन्तव्य टुंग्याएका थिए ।

त्यसपछि 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक गरिएको थियो । कवि तीर्थले दर्शक दीर्घामा उपस्थित मध्ये आफ्ना अग्रज कलाकार दुर्गा बराल ‘वात्सायन’लाई पुस्तक उपहार दिएर कृति सार्वजनिक भएको उद्घोष गरेका थिए । विमोचनकै क्रममा कवि तीर्थले भन्दै थिए- ‘आजै दिउँसो राष्ट्रकवि आदरणीय माधव घिमिरेका हातमा पनि यही पुस्तक उपहार दिने अवसर पाएको थिएँ । त्यो पुस्तक विमोचनको प्रथम चरण थियो । अहिले दुखसुखका मेरा मार्गदर्शक आदरणीय दुर्गा दाइलाई पुस्तक हातमा सुम्पने अवसर पाएँ । पुस्तक लोकार्पणका यी क्षण मेरो जीवनकै अविस्मरणीय क्षणहरू हुन् ।‘ कवि तीर्थको नयाँ कवितासँग्रहमा चित्रकार दुर्गा बरालले कोरेका रेखाचित्रहरू प्रयोग भएका छन् ।



पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको सहकार्यमा भएको थियो । कवि तीर्थको नयाँ कवितासँग्रहमा उनका १०८ वटा कविताहरू संलग्न रहेका छन् । पब्लिकेसन्स नेपालयले बजारमा ल्याएको पुस्तक सार्वजनिक भएसँगै कवि तीर्थले सँग्रहमा संकलित कविता मध्येबाट केही कविताहरू वाचन गरेर सुनाए । उनले सुनाएका कविताले प्रेम, समाज र प्रकृतिलाई समेटेका थिए ।

कार्यक्रमको अन्तिम चरण फेरि सांगीतिक प्रस्तुतितर्फ मोडिएको थियो । तीर्थ श्रेष्ठका केही गीतहरूलाई संगीतकार आभासकै धुनमा गायक फत्तेमानले गाएका छन् । ‘फेरि आए सम्झनाका दिनहरू’ बोलको गीतसँगै तीर्थले गीतका मूल गायक फत्तेमानसँग बिताएका क्षणहरूको सम्झना गरेका थिए । पोखरेली संगीतकार सुमन श्रापितले धुन भरेको ‘पाइला पाइला’पछि ‘रातको सपना बाँकी हुन्न बिहानीमा उठ्दा’बाट कार्यक्रम समापन भएको थियो । कार्यक्रमको अन्तिम गीत गायक फत्तेमानकै स्वरमा रेकर्ड भएको गीत थियो । यो गीतमा समाजमा रहेको छुवाछुतप्रति कटाक्ष अंकित छ ।

तीर्थ श्रेष्ठको पलेँटीमा प्रस्तुत भएका सबै गीतलाई मीना निरौला र योगेन्द्र उपाध्यायले स्वर दिएका थिए । वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए ।

अँग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको पलेँटी शनिबार र आइतबार पनि हुँदैछ । बाँकी दुई दिनका पलेँटी पनि संगीत र साहित्यमै केन्द्रित रहेको कुरा आयोजक संस्थाले जानकारी गराएको छ । ११ गते शनिबार साँझको पलेँटीमा कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन् । संगीत र कविताकै माहोलमा रिजालको संस्मरण ‘काँडामा हासेको जिन्दगी’ सार्वजनिक हुने भएको छ । १२ गते आइतबार साँझको पलेँटीमा कवि मञ्जुल प्रस्तुत हुनेछन् । पलेँटीको उस्तै माहोलमा मञ्जुलको पुनः प्रकाशित गीति-यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरिनेछ ।

  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १२:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया