संयुक्त राष्ट्रसंघमा इमरान खानको भाषणः म कश्मिरमा भएको भए बन्दुक उठाउँथे

शुक्रबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्रसंघको महासभामा गरेको भाषण अहिले विश्वभर चर्चामा आएको छ । उनले त्यहाँ जलवायु परिवर्तन, मनि लन्डरिङ, विकास, इस्लामोफोबिया तथा कश्मिरको विषयमा आफ्ना कुराहरु राखेका थिए । उनको भाषण ५० मिनेटभन्दा लामो थियो । त्यही इमरान खानको भाषणको सम्पादित छोटो अंशः

यो एउटा विशेष अवसर हो, मैले यहाँ मेरो देशको प्रतिनिधित्व गर्दै विश्व नेताहरुको यो फोरममा आफ्ना कुराहरु राख्न पाएको छु । हामीसँग यो एउटा विशेष अवसर आएको छ, जहाँ विश्वले सामना गरिरहेका समस्याहरुबारे हामीले कुरा गर्न पाएका छौँ । 

खासमा म यो समयमा यहाँ आउनु हुँदैनथ्यो । मेरो देश अहिले एउटा ठूलो चुनौतिको सामना गरिरहेको छ । तर, पनि विश्वले सम्बोधन गर्नु पर्ने केही कुराहरु छन् । समय नमिल्दानमिल्दै पनि म यहाँ आएँ । 

यसबीच धेरै नेताहरुले जलवायु परिवर्तनबारे कुरा गर्नुभयो । तर, ती कुराहरुमा पनि मैले धेरै कमजोर कुराहरु देखेँ । सायद, नेताहरुले यसको तात्पर्य र यसको जतिसक्दो छिटो हुनु पर्ने आवश्यकता बुझ्नु भएको छैन । फेरि हामीसँग धेरै विचार र विकल्प छन्, आइडिया छन् । तर, ती आइडिया कार्यान्वयन गर्न हामीसँग अर्थको अभाव छ ।

मेरो देश जलवायु परिवर्तनका असरबाट प्रभावित १० देशमध्ये एक हो । हामी कृषिमा निर्भर मुलुक हौँ । हाम्रा नदीहरु हिमालबाट आउँछन्, ती हिमनदी हुन । हो, यस्ता नदीहरु पाकिस्तानी हिमालबाट मात्र आउँदैनन्, भारतीय क्षेत्रमा पर्ने हिमालबाट पनि आउँछन् । तर, ती हिमालहरु पग्लिइरहेका छन् । यस्तै भइरह्यो भने हामी झन् ठूलो समस्यामा पर्ने निश्चित छ । मैले मेरो पार्टी सत्तामा आएपछि मेरो प्रान्तमा १० अर्ब रुख रोप्ने निर्णय गरेका थियौँ, हामीले रोप्यौँ पनि । अब म पाकिस्तानको सत्तामा छु । हामीले अब १० अर्ब रुख रोप्दैछौँ । तर, जलवायु परिवर्तनका लागि एउटा देशले मात्र काम गरेर केही हुँदैन, यसका लागि त विश्वले सामूहिक रुपमा काम गर्नु पर्ने हुन्छ । 

यसका लागि हामी सबैले साझा बल लगाउनु पर्नेछ । यसका लागि संयुक्त राष्ट्र संघले अग्रता लिनुपर्छ, विश्वका विकसित देशहरु यसका लगि अझ बढी जिम्मेवार हुनुपर्छ । राष्ट्रसंघले सबैलाई जिम्मेवार बनाउन सिकाउनु पर्छ ।



हामी त अहिले अर्को झन् गम्भीर विषयको सामना गरिरहेका छौँ । प्रत्येक वर्ष हाम्रा देशहरुबाट अरबौँ बाहिर गइरहेको छ, विकसित देशहरुमा गइरहेको छ । यसले गर्दा हामीजस्ता विकासोन्मुख देशमा गरिबी अझ बढिरहेको छ । धनी र गरिब देशबीचको भिन्नता अझ बढ्दै छ । अहिले त आतंकवादका लागि जति पैसा खर्चिइएको छ, लागूपदार्थका लागि जति पैसा खर्च गरिइएको छ, त्यसको कुनै लेखाजोखा छैन ।

पछिल्ला दस वर्षमा हाम्रो देशमा यति धेरै मानिसहरु मारिएका छन् कि ६० वर्ष यताको संख्या जोड्ने हो भने पछिल्ला १० वर्षको संख्या ४ गुणाले बढी हुन्छ । यस्तो अवस्थामा हामीले कसरी मानव विकासका लागि पैसा खर्च गर्न सक्छौँ ? जब कि विश्वका एलिट देशहरुले हाम्रोजस्तो देशलाई हल्लाएका छन् ? हामीलाई थाहा छ, पश्चिमा देशहरुले हाम्रो सम्पत्ति किनेका छन्, उनीहरुले गरिब देशहरुमाथि निकै ठूलो थिचोमिचो गरेका छन् । जब पश्चिमा देशहरुको यति ठूलो थिचोमिचो गरिरहेका छन्, हामीले कसरी विकासमा खर्च गर्न सक्छौँ ?



अहिले भ्रष्टाचार गरेर हाम्राजस्ता देशहरुबाट पैसा विदेशमा लैजानेहरुको संख्या निकै बढेको छ । कालोबजारी चलेको छ । किन यही संसारमा ट्याक्स हेभनहरु छन् ? किन विदेशमा गोप्य एकाउन्टहरु खोलिएका छन् ? यदि यस्तै अवस्था हुने हो भने अब गरिबहरु झन्झन् गरिब भएर जानेछन् । धनीहरु झनझन् धनी हुनेछन् । अनि यी दुईबीचको खाडल अब झन् बढ्नेछ ।

योभन्दा पनि महत्वपूर्ण मेरा लागि अब तेस्रो पोइन्ट हुने भएको छ । त्यो हो— इस्लामोफोबिया । 

अहिले विश्वभर कम्तिमा पनि १ अर्ब ३ खर्बभन्दा धेरै मुस्लिमहरु छन् । युरोप, अमेरिका र अन्य देशमा पनि सिमान्तकृतका रुपमा मुस्लिहरु नभएका होइनन् । तर, सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि इस्लामोफोबिया निकै बढेको छ । खासमा मानिसहरु सँगै बस्नु पर्ने होइन र ? तर, किन यहाँ एक मुस्लिम महिलाले बुर्का लगाउँदा ठूलो इस्यु बनाइएको छ ? किनकि यहाँ इस्लामोफोबिया बढिरहेको छ ।

अनि विश्वले एउटा यस्तो अवस्था ल्याइदिएको छ, आतंकवादलाई इस्लामसँगको सम्बन्धका आधारमा वर्णन गर्न थालिएको छ । अनि विश्वका देशहरु भनिरहेका छन्— इस्लामका कारण विश्वमा आतंकवाद बढिरहेको छ । र्याडिकल इस्लामको विषयमा उनीहरु कुरा गरिरहेका छन् । किन यस्तो ? किन यस्तो संज्ञा दिइएको छ ? यसले के मुस्लिम देशहरुलाई ठूलो पीडामा पारेको छैन ? अनि झन् युरोप, अमेरिकाजस्ता देशमा के मुस्लिमहरु थप सिमान्तकृत भएका छैनन् ? यसले कस्तो असर पारिरहेको छ भन्नेबारे अहिले सोच्नु पर्छ कि पर्दैन ?

हो, यसलाई हामीले सम्बोधन गर्नुपर्छ । हामी मुस्लिम नेताहरुले पनि यसलाई ठोस रुपमा सम्बोधन गर्न सकिरहेका छैनौँ ।

के यहाँ त्यो सेप्टेम्बर ११ भन्दा अगाडि कुनै घटना भएका थिएनन् ? कि रिसर्च भएका छैनन् ? त्यहाँभन्दा अगाडि तमिल टाइगर्सले विश्वका विभिन्न ठाउँमा आतंकवादका घटना गरिरहेको थियो । उनीहरु हिन्दू थिए । त्यसैले त उनीहरुलाई आतंकवादसँग कसैले पनि तुलना गरेन ।

तर, अहिले विश्व नै इस्लामलाई आतंकवाद भन्न तत्पर छ, अगाडि बढिरहेको छ ।

म आज यहाँ एउटा कुरा भन्न चाहन्छु । मैले भन्न लागेको यी कुराहरु गुगलमा पनि छन्, तपाईंहरुले पनि हेर्न सक्नुहुन्छ । मैले भन्न लागेको विषय हो आरएसएस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यसका आजीवन सदस्य हुन् । कतिलाई थाहा छ, आरएसएस मुसो लिनी र हिटलरबाट प्रभावित संस्था हो । उनीहरु आफूलाई एउटा विश्वासमा दृढ बनाएर राखिरहेका छन् । त्यो उनीहरुले गर्ने विश्वास हो– जातीय नरसंहार । उनीहरुले आफूलाई जे मान्छन्, त्यसले पनि जातीय नरसंहारलाई प्रेरित गर्छ । उनीहरु मान्छन् कि स्वर्ण युगलाई हिन्दू सभ्यताले अगाडि बढाइरहेको थियो तर मुस्लिमहरुले त्यसलाई रोकिदिए । उनीहरु मान्छन् उनीहरुको स्वर्ण युग अगाडि बढाउन नदिएकाले मुस्लिम र क्रिश्चियन उनीहरुका दुश्मन हुन् ।

यही विश्वासका कारण भारतमा महात्मा गान्धीको हत्या भयो । यही विश्वासका कारण नरेन्द्र मोदीले आफू गुजरातको मुख्यमन्त्री हुँदा लगातार तीन दिनसम्म अभियान चलाएर २ हजार मुस्लिमको हत्या गरे, गुन्डाहरु प्रयोग गरेर हजारौँ मुस्लिमहरुलाई घरबारविहिन बनाए । त्यही कारणले त नरेन्द्र मोदी अमेरिका पनि आउन पाएनन् ।

अहिले कश्मिरमा पनि यस्तै दुखद अवस्था सिर्जना भएको छ । 

त्यहाँ हजारौँ मानिसहरु ४५ दिनदेखि थुनिएका छन्, घरमा । मानौँ लन्डनमा सयौँ जनावरहरु त्यसरी थुनिएका थिए भने के यो विश्व यस्तै चुपचाप बसिरहन्थ्यो ? तर, त्यहाँ त मानिसहरु थुनिएका छन् । विश्व किन बोल्दैन ?

यो सब नरेन्द्र मोदीको अतिवादी सोचका कारण भइरहेको छ । विभिन्न संघसंस्थाहरुले गरेका विभिन्न अध्ययनले देखाएका छन्, कश्मिरमा अहिलेसम्म हजारौँ मानिसहरु मरिसकेका छन्, सयौँ महिलाहरुमाथि बलात्कार भएको छ ।

अहिले त्यहाँ कफ्र्यु लगाइएको छ । जब त्यहाँ कफ्र्यु हटाइन्छ, त्यहाँ ठूलो रक्तपात हुने अवस्था सिर्जना हुन्छ । हुन त मोदीले यसलाई त्यहाँको विकासका लागि भनेका छन् । तर, विकास गर्ने ठाउँमा ९ हजारभन्दा धेरै सेना किन चाहिन्छ ? के यसबारे मोदीले सोचेका छन् कि जब कश्मिरमा कफ्र्यु हट्छ, त्यहाँको अवस्था के होला ? 

त्यहाँ अहिले मानिसहरुलाई कुनै अधिकार दिइएको छैन । कतिसम्म भने नेताहरुलाई पनि थुनिएको छ । १३ हजार युवाहरु समातिएका छन्, उनीहरुलाई कहाँ लगिएको छ भन्नबारे कसैलाई थाहा छैन । यसका कारण त्यहाँ रक्तपात हुन्छ । तर, जब त्यहाँ रक्तपात हुन्छ, भारतले पाकिस्तानलाई दोष लगाउने छ । उसले भन्नेछ— पाकिस्तानका कारण यस्तो भयो ।

भारतका एक मन्त्रीले भनेका छन्— पाकिस्तानले कश्मिरमा पाँच सय जना आतंकवादी युवा पठाएको छ । उनीहरुले ९ हजार सेना पठाएको ठाउँमा हामीले किन पाँच सय युवा पठाउने ? हामी किन त्यस्तो गर्छौँ ?

तर, अब भन्नका लागि पनि भारतसँग कुनै कथा छैन । उनीहरुसँग भएको एउटै कथा भनेको हामीलाई दोष लगाउने हो । 

तपाईंहरु सोच्न सक्नुहुन्छ ? अहिले मुस्लिमहरु के सोचिरहेका होलान् ? यदि त्यहाँ रक्तपात भयो भने भोलि के हुन्छ होला ? मुस्लिमहरुमाथि अन्याय हुँदा विश्वले के सोचिरहेको छ ?

म मुस्लिम हुँ । मानौँ अहिले म कश्मिरमा छु । ४५ दिनदेखि म घरमा थुनिएको छु । तर, मैले प्रत्येक दिन सुनिरहेको छु कि घरघरमा गएर भारतीय सेनाले महिलामाथि बलात्कार गरिरहेको छ । मेरो दिदीबहिनीमाथि बलात्कार गरिरहेको छ ।

यस्तो अवस्थामा हुँदा म के गर्थेँ होला ? 

म पक्कै पनि बन्दुक उठाउने थिएँ ।

  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १६:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया