डा. रूइतको जीवनी लोकार्पण

काठमाडाैं— विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी सन्दुक रूइत लोकार्पण गरिएको छ । काठमाडौं धुम्बाराहीस्थित होटल अकामामा शनिबार आयोजित एक विशेष समारोहमा २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डा. रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले पुस्तक लोकार्पण गरे । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

कार्यक्रममा शर्माले आफूले २१ वर्षको उमेरसम्म पूर्ण रुपमा दृष्टिविहीन भएर जीवनयापन गर्नुपरेको र यसबीचमा डा. रुइतले आफूलाई नयाँ जीवन दिएको बताए । त्यसअघि आफूले धेरै दुःख पाए पनि डा. रुइतका कारण आफूले नयाँ संसार पाएको उनको भनाइ छ । आफ्नै हातबाट यति महान् डाक्टरको जीवनी लोकार्पण गर्न पाउनु जीवनकै अहोभाग्य भएको उनले बताए ।

यसैगरी तिलगंगा अस्पतालकी सिइओ रिता गुरुङले आफूले डा. रुइतसँग तिलगंगा अस्पतालमा सुरुवाती चरणबाटै काम गरेको बताइन् । सुरुवाती चरणमा डा. रुइतले आफूलाई सहकार्य गर्न आग्रह गर्दा आफू उनको प्रतिबद्धता एवम् काम देखेर तयार भएको उनको भनाइ छ । कर्मशील एवम् आफ्नो काममा प्रतिबद्ध रुइतका कारण आफू सधैं उनको काममा जोडिएको उनले बताइन् । कामको सिलसिलामा जहिल्यै पनि डा. रुइतबाट आफूले प्रेरणा एवम् उत्साह पाएको उनको भनाइ छ । डा. रुइतले आफूलाई काम मात्रै नदिएको उनले सामाजिक एवम् परोपकारी काममा लाग्न पनि प्रेरित गरेको उनले बताइन् ।

कार्यक्रममा पुस्तक अनुवादक संग्रौलाले पुस्तक अनुवादको चरणका रोचक प्रसंग सुनाए । माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तक अनुवाद गरेका उनले डा. रुइतको जीवनीले आफूलाई प्रभावित पारेको र त्यसका लागि तयार रहेको प्रतिक्रिया दिए । आफूले अनुवाद गरेका अन्य पुस्तकको तुलनामा यो अति उत्कृष्ट पुस्तक रहेको उनले बताए । जसले मानिसको जीवनमा ज्योति भर्नका लागि, जीवनमा नयाँ ऊर्जा थप्नका लागि केही गर्छ, त्यो वास्तवमै उत्कृष्ट हुन्छ । डा. रुइतले पनि आफ्नो जीवनमा त्यही काम गरेको लेखक संग्रौलाको भनाइ छ ।

अनाम एवम् अपहिचान एउटा व्यक्ति रुइत जसले आफ्नै संघर्ष एवम् प्रतिबद्धताका कारण डाक्टर बनेर संसारका लाखौं मानिसलाई आँखाको अत्याधुनिक प्रविधिमार्फत त्यो पनि अति कम मूल्यमा उपलब्ध गराएको उनको भनाइ छ ।

रुइत आफूलाई मन परेको लक्ष्य प्राप्त गर्ने काममा विवाद झेल्न, जोखिम उठाउन र मर्न पनि तयार रहेको एउटा व्यक्ति रहेको संग्रौलालो बताए । डा. रुइत नेपालको सांस्कृतिक वीर रहेको उनको दाबी छ । उनले भने, “सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन हो । रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ । यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन् ।”



डा. रुइत पाँचसात मिनेटमा एउटा मानिसलाई अन्धकारबाट उज्यालोमा ल्याउने व्यक्ति रहेको उनले बताए । संसारमा असलमध्ये पनि असल व्यक्ति रहेको उनको भनाइ छ ।

लेखक एवं पत्रकार विजयकुमारले डा. रुइत जीवनमा संघर्ष, आरोहअवरोह, सफलता आदिको पर्यायका रुपमा रहेको धारणा राखे । जसको जात एवम् धर्मको परिचय छैन, त्यहाँबाट उठेर जीवनमा लाखौं मानिसलाई सम्मानपूर्ण जीवन दिन सक्ने र उनीहरुको जिन्दगीमा उज्यालो दिने व्यक्ति डा. रुइत भएको उनको भनाइ छ । मानिसको जीवनका सबै किसिमका रङ यो पुस्तकमा रहेको उनले बताए । बाटो जतिसुकै अप्ठ्यारो किन नहोस्, हिँडेपछि पुगिन्छ । त्यसको एउटा उदाहरण डा. रुइत रहेको उनको भनाइ छ । आफूले अहिलेसम्म अध्ययन गरेको सबैभन्दा सुन्दर पुस्तकमध्ये एक रहेको उनी बताउँछन् ।



कार्यक्रममा डा. रुइतले पुस्तक आफ्नो जीवनको मात्र नभई परिवार, आफ्नो जीवनमा भएका उतारचढाव, सफलता, आरोहअवरोह एवम् तिलगंगा आँखा अस्पतालको संघर्षको कथा भएको बताए । डा. रुइतले भने, “अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आएकोमा म एकदम हर्षित भएको छु । मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित ग¥यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु ।”  

प्रकाशक फाइनप्रिन्टका अजित बरालले डा. रुइतको जीवनी छाप्न पाउनु आफूहरुका लागि महाचाड जस्तै भएको बताए । डा. रुइतले आफ्नो सुकर्मबाट लाखौं मानिसको जीवनलाई नयाँ जीवन दिएको र उनको जीवनीले सबैलाई प्रेरणा दिने उनले बताए ।

  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १७:१६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया