Thu, 12 Dec, 2019


[ब्लग] फ्रेन्च स्कुलकाे त्याे पहिलाे दिन
सुवर्ण थापा
फरकधार / असोज ११, २०७६

हामीले सुन्दै आएका छौँ– बाह्र वर्षपछि खोलो पनि फर्किन्छ । तर, मलाई फ्रान्सबाट नेपाल फर्किएर आउन १२ होइन, २० वर्ष लाग्यो । यसको अर्थ के होइन भने म बीचमा नेपाल कहिल्यै आइनँ । यसपटक चाहिँ म नेपाल नै फर्किएर आएको छु । थाहा छैन, यो राम्रोका लागि हो या अरु केही ।



२० वर्षजस्तो फ्रान्समा बसे पनि म रंगमन्च र सिनेमाको स्वादमा रमाउन थालेको २५ वर्ष भइसकेछ । त्यसैले पनि मलाई कहिलेकांही लाग्छ— म यो क्षेत्रमा २५ वर्षे लक्का जवान हुँ । फर्किएर हेर्ने हो भने मैले आफ्नो जीवनको उत्कृष्ट वर्षहरु यही क्षेत्रमा बिताएँ, उत्पादनमूलक वर्षहरु यही क्षेत्रमा बिताएँ । यसको अर्थ के पनि हो भने मेरो सिकाइ र भोगाइ सबै यही क्षेत्रको नै छ ।

यतिका वर्ष यो क्षेत्रमा बिताए पनि म यो क्षेत्रमा कुनै योजना बनाएर प्रवेश गरेको थिइनँ, यो त एउटा कागताली थियो, कुनै योजनाविहिन प्रवेश थियो ।

भनिन्छ– शब्दहरुभन्दा पनि तागतिलो हुन्छ शून्यता । मैले रंगमन्चको शुन्यतामा शब्दहरुका आवाज खोज्दै फ्रान्सको यात्रा तय गरेँ, मसँग केही थियो त ड्रामा स्कुलको कन्भोकेसन मात्र थियो । त्यो मेरो मनमा, मेरो मस्तिष्क र मेरो काखीमा थियो । र, मेरो यात्रा थियो– नयाँ मुलुक, नयाँ भाषा र नयाँ परिवेशमा । म जहाँ जाँदै थिएँ, त्यसले मेरो क्षितिज फराकिलो बनाउने थियो । त्यही फराकिलो क्षितिजलाई मनमा बुनेर नयाँ परिवेशमा पुगेको थिएँ म एक आउटसाइडर ।

एउटा परीषामा दाखिल भएर आफूलाई अब्बल छु भनेर प्रमाणित गर्न म फ्रान्स पुगेको थिएँ । फ्रान्समा पुग्नेवित्तिकै मैले फ्रेन्च क्लासिक प्लेबाट एउटा सिन, फ्रेन्च कन्टेम्पोररी प्लेबाट एउटा सिन र मातृभाषामा एउटा सिन गर्नु पर्ने हुन्थ्यो । यसमा म पास नभएको खण्डमा गएको केही समयमा नै फ्रान्सबाट नेपाल फर्किनु पर्ने हुन्थ्यो । म पास भएँ । 

सन् १९९९ को नोभेम्बरमा पेरिसको एउटा ड्रामा स्कुल (कोर्स फ्लोरेन्ट)ले मलाई क्लासे लिब्रेमा अंगीकरण गर्ने भयो । दुई वर्ष मैले त्यहाँ नै पढ्ने भएँ ।

म अहिले पनि जनवरी २००० को त्यो पहिलो दिन सम्झिन्छु जब म स्कुल पुगेको थिएँ । मसँगै त्यहाँ अन्य २२ जना थिए, ५ जना युरोपेली समुदायका नै थिए । स्कुलको त्यो पहिलो दिन म खाली हात पुगेको थिएँ । विहान ९ बजेदेखि स्कुल सुरु हुँदै थियो, म खाली हात स्कुलमा पुगेको थिएँ । यो स्कुलको एउटा विशेषता नै यही थियो, त्यहाँ कापी कलम लिएर जानै नपर्ने, आफूलाई जे कुरामा बढी ध्यान छ वा मन छ त्यही सामान लिएर गए हुने ।

स्कुलमा पहिले प्रतिस्पर्धामा भेटिएका साथीहरु भेटिए । उनीहरुसँग अभिभावदनको क्रम सुरु भयो । उनीहरुमध्ये केहीले अघिल्लो वर्ष पनि छनोटका लागि प्रयास गरेका रहेछन् । कोही फ्रान्सकै अन्य प्रदेशहरुबाट आएका रहेछन् । उनीहरु सबैले राम्रो फ्रेन्चमा कुराकानी गर्थे, मेरो फ्रेन्च त्यति राम्रो थिएन । त्यसैले त्यति बेला मैले कम बोल्ने र बढी सुन्ने प्रयास गरिरहेँ ।

हाम्रो कक्षा सुरु भयो । पहिलो दिन कक्षामा परिचयात्मक कार्यक्रम भयो । हाम्रो कक्षाका लागि मुख्य शिक्षक हुनुहुन्थयो, जाँ पियरी गार्नियर ।

उहाँको हातमा हाम्रो नामको सूची थियो । उहाँले जसको नाम बोलाउनु हुन्थ्यो, उसले उठेर आफ्नो नामको अर्थ, आफू कहाँबाट आएको र कसरी त्यहाँसम्म आइपुगियो भन्नेबारे बताउनु पथ्र्यो ।

मेरो पालो आयो । मैले आफ्नो नामका अर्थ बताएँ— सुनौलो । अनि थापा आफ्नो थर भएको बताउन थालेँ । त्यहाँ मैले थोरै हाम्रो संस्कार र संस्कृति, हिन्दु रितिरिवाजबारे पनि बोलेँ । 

अनि मैले शिक्षकलाई सम्बोधन गरेको थिएँ– तपाईँ । अर्थात् भौ । अन्य साथीहरुले यसरी शिक्षकलाई तपाईं भनेका थिएनन् । मैले तपाईं भनेको सुनेर एकजना साथीले मलाई यसबारे पनि सोधे । मैले उनलाई भनेँ— यो पनि हाम्रो संस्कार नै हो, हिन्दु संस्कारले गुरुलाई सर्वश्रेष्ठ पितासमान मान्छ ।

म नेपाली हुनु वा हिन्दु संस्कारमा हुर्किनुले मलाई त्यति बेला गर्व महसुस गराएको थियो । मलाई त्यति बेला नै लाग्यो– संस्कार पनि त एउटा पहिचान हो । फेरि फ्रान्समा पनि तिमी र तपाईं दुवै सम्बोधन नभएको होइन, तर त्यहाँ छोराछोरीले बाबुआमालाई, स्कुलमा सहपाठीबीच वा विद्यार्थीले शिक्षकलाई तपाईं भन्दैनन्, तिमी भन्छन् ।

त्यहाँ पुगेपछि हामी नेपालीको एउटा बानीले चाहिँ मलाई थोरै अप्ठ्यारोमा पारेको थियो । हामी नेपालीहरु केही कुरा बुझेको भन्ने संकेत गर्नुपर्दा टाउको जसरी हल्लाउँछौँ, त्यहाँ त्यसको ठिक विपरित गरिँदो रहेछ । हाम्रो यो सिग्नेचर संकेत हो । तर, त्यसलाई त्यहाँ नबुझ्ने हुँदा जुनसुकै नेपालीले पनि त्यहाँ पुगेपछि एउटा फरक पन महसुस गर्नु पर्ने रहेछ ।

किनकि त्यहाँ पहिलो दिनमा मैले शिक्षकले भनेको कुरा बुझेँ भनेर टाउको हल्लाउँदा शिक्षकले त्यसलाई नबुझेर अवाक् हुनु परेको थियो । अरु विद्यार्थी साथीहरुले पनि मेरो रुचि यसमा रहेनछ भन्ने तरिकाले बुझेका रहेछन् । यो प्रसंग खासमा मलाई शिक्षकले नेपाली नाटकको एउटा सिन गरेर कक्षामा देखाउनु भन्ने प्रस्तावको थियो । मैले मेरो परीक्षामा मातृभाषाको नाटकको सिन गर्नुपर्दा शिक्षक पनि त्यहाँ नै हुनुहुन्थ्यो र उहाँलाई त्यो कुरा मन परेको थियो । 

यसमा थोरै बुझाइमा समस्या भयो । पछि मलाई ग्रिसको साथीले सोध्यो– मलाई हेर्न नै मन छ, कहिले देखाउँछस् ? त्यसपछि मैले पनि बोलेरै जवाफ दिएँ– मैले हुन्छ भनेको हुँ, भोलि गर्छु ।

हाम्रा प्रत्येक कक्षाहरु ९० मिनेटका हुन्थे । त्यसपछि एउटा सानो ब्रेक हुन्थ्यो । त्यो ब्रेकमा हामी चिया, कफी र चुरोट खान बाहिर निस्कन्थ्यौँ । पेरिसमा जाडो निकै थियो, धेरै साथीहरु चुरोट पिउँथे । तर, त्यहाँ खुला रुपमा चुरोट किन्न पाइँदैनथ्यो । अनि बट्टा किन्नका लागि एउटा विद्यार्थीलाई अलिक महंगो पथ्र्यो, ३.७३ युरो ।

जे होस्, मैले फ्रान्समा पढ्न सुरु गरेँ । मैले फ्रान्समा रंगमन्च पढेँ, अभिनय पढेँ र पढेँ एउटा जीवन पनि । झन्डै २० वर्षको यो अनुभवले मलाई जीवन सिकाएको छ, अनेक विषयहरु सिकाएको छ ।

(सुनगाभा, फन्को र बाटोमूनिको फूल २ लगायतका फिल्मको निर्देशन गरेका सुवर्ण थापा लामो समय फ्रान्समा बसेपछि नेपाल फर्किएका छन् । निर्देशक थापाको २० वर्षे फ्रान्स अनुभवलाई लिएर पाक्षिक रुपमा उनको ब्लग फरक धारमा प्रकाशन हुनेछ ।)
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्