एक हातमा छोरी लिएर अर्काे हातमा अवार्ड थापेँ

कुरो सन् १९९३ को आसपासको हो, सुभाष घईको फिल्म ‘खलनायक’ भर्खरै रिलिज भएको थियो । फिल्मको एक गीतलाई लिएर चरम विवाद भइरहेको थियो । सोही गीत गाउन मलाई लक्ष्मीकान्त–प्यारेलालबाट अफर आएको थियो । 

अफर मुताविक म गीतको रिहर्सलमा गएँ र गीत सुनेँ । गीतमा पहिले इला दिदीको लाइन आउँछ, त्यसपछि मेरो । मेरो भागमा परेका लाइनहरू थिए– चोली मे दिल है मेरा, चुनरी मे दिल हे मेरा, ये दिल मै दुंगी मेरे यारको । 

‘चोलीके पिछे क्या है ?’ यो मेरो लाइन थिएन । गीतका लागि हुन्छ भन्दा मैले त्यो लाइन सुनेकोसमेत थिइन । मलाई त्यो कुरा फाइनल रेकर्डिङमा जाँदा मात्र थाहा भयो । म आश्चर्यचकित भएँ र मनमनै आफैँलाई प्रश्न गरेँ, यो लाइन कहाँबाट आयो ? त्यतिवेला नै लागिसकेको थियो, यो अलि ‘नट्टी’ गीत हो भनेर । तर, त्यतिवेलासम्म सबै कुरा छिनिइसकेको थियो । मैले गर्न सक्ने केही थिएन । 

यसको अलावा जुन फिल्मका लागि यो गीत आइरहेको थियो, यसलाई ‘ह्यान्डल’ गरिरहेका थिए, मतलब लक्ष्मीकान्त–प्यारेलालको संगीत, आनन्द बक्षीको शब्द, सुभाष घईको फिल्म, माधुरी दीक्षितलगायत दिग्गज र ख्याति कमाएका कलाकारहरू । त्यसैले पनि गीतका शब्दबारे धेरै सोचिनँ । केही परिआए पनि उहाँहरूले सम्हालिहाल्छन् नि भन्ने भयो । फेरि मलाई भरोसा थियो, फिल्ममा ‘एस्थेटिकल’ गीतलाई उहाँहरूले राम्रोसँग ट्रिट गर्नुहुन्छ भनेर । 

गीत अलि अश्लील भएता पनि मीठो थियो । गीतलाई सुन्दर ढंगले प्रस्तुत गरियो । गीत सुपर हिट पनि भयो । यो म स्विकार्छु, यो गीतको सिको गर्दै पछि धेरै बने, ती त झन् अश्लील थिए । त्यतिवेला म आफ्नो करिअरको एकदमै सुरुवाती चरणमा थिएँ । त्यो भएर पनि होला, गीत गाउने मामिलामा हामी धेरै ‘सेलेक्टिभ’ हुँदैनथ्यौँ । कसरी धेरैभन्दा धेरै गाउने भन्नेमै ध्यान जान्थ्यो । 

गीतको सर्वत्र आलोचना भए पनि सुपर हिट भयो । त्यो गीतले मलाई पनि सांगीतिक क्षेत्रमा उचाइमा पुर्यायो, स्थापित गरायो । धेरथोर मान्छेहरूले चिन्न थाले । तर, त्यसपछिका केही गीत सफल हुन सकेनन् । ती गीतमा के कमी थियो, किन चल्न सकेनन् भनेर मेसो पाउनै सकिनँ । त्यो मेरा ज्ञानको दायराभन्दा बाहिरको कुरा भएर होला, भेउ पाउनै सकिन । 



पछि मान्छेहरूले भन्न थालेपछि मलाई आफ्ना कमजोरीबारे हेक्का भयो । असफल हुनुको मूल कारण थाहा पाएँ, मलाई माया गर्ने र साथ दिने श्रोतामार्फत । उनीहरू भन्थे– तिम्रा गीतका शब्दले द्विअर्थ बोक्छन् । श्रोताले नै हो, मलाई महसुस गराएको, म जे गाइरहेकी छु, त्यसका केही शब्दहरू ठीक छैनन् । 

त्यसपछि मैले कुनै गीत गाउन सहमत हुँदा शब्दलाई पनि ध्यान दिन सुरु गरेँ । तर, धेरै ‘चुजी’ हुने बानीले मलाई कहिलेकाहीँ असर पनि गर्यो । कसैले राम्रै गीत दिए पनि म त्यसमा कतै खराबी छ कि भनेर शंका गर्थें । त्यसपछि मैले ‘अन्डरलाइन मिनिङ’ प्रवृत्तिका गीत गाइनँ । 



आफूलाई दिइएको गीतमा दोहोरो अर्थ लाग्ने कुनै लाइन भएको थाहा पाउँदा नै म भन्थेँ– मलाई यो गीत राम्रो लागेन, म गाउँदिनँ । मैले पहिल्यै धेरै गल्ती गरिसकेको थिएँ, गीत छनोट गर्दा शब्दमा ध्यान नदिएर । अब त्यो गल्ती दाहोर्याउने पक्षमा थिइनँ । 

त्यहीबीचमा मैले एउटा गीत गाएँ– ‘एक दो तीन’ बोलको । यो गीतपछाडिको पृष्ठभूमि पनि बडो रमाइलो छ । पहिलोपटक यो गीत सुन्दा लागेको थियो– गीत खासमा हो के, किन यसमा गन्ती छ ? तर, पछि मैले गीत राम्रोसँग सुनेँ, त्यसपछि यो गीतको अर्थ बुझेँ । 

गीतमा प्रयोग भएका अंकले कुनै घटनाको वर्णन गर्दैथ्यो । मलाई यो गीत निकै ‘इन्ट्रेस्टिङ’ लाग्यो । यो गीत लेख्ने जावेद अख्तर साहेबप्रतिको सम्मान दुई इन्चले चुलिएर गयो । गीत ‘आइटम सङ’ भए पनि अश्लील थिएन । गीत एकदमै स्विट लाग्यो । संगीत पनि राम्रो थियो । ‘एक–दो–तीन’ भनेर गाउँदा नै बडो मज्जा आयो ।

यो गीतसँग जोडिएको एउटा अर्काे पनि रमाइलो किस्सा छ । धेरै शिक्षकले गीतकै कारण आफ्ना विद्यार्थीले गन्ती सिक्न सकेको बताए । गीत आउनुपूर्व विद्यार्थीलाई गन्तीमा समस्या हुने र गीत आएपछि गन्ती गर्न सजिलो भएको बताउँथे, उनीहरू । भन्थे– हामीले गीत गाएर सिकाएपछि उनीहरूले चाँडै सिक्छन् । 

त्यो गीत मेरो सांगीतिक क्षेत्रमा ‘ट्रेन्ड सेटर’ मात्र नभएर मेरो जीवनको पनि कोसेढुंगा साबित भयो । यसै गीतले मलाई धेरै अवार्ड पनि दिलायो । अवार्ड जित्नु मेरो कल्पनाबाहिरको कुरो थियो । मलाई गीतले अवार्ड दिलाउला भन्ने पनि कहिल्यै लाग्थेन । म त गीत पाउँदा रमाएर गाउँथे, बस् । त्यति मात्र होइन, गीत गाएरै यति पैसा कमाउँला भन्ने पनि कहिल्यै सोचेकी थिइनँ । तर, मेरो अनुमान र सोचविपरीत भयो । 

सन् १९८९ मेरी छोरी जन्मिइन् । हामीकहाँ सुत्केरी हुँदा ४० दिनसम्म बाहिर निस्किन मिल्दैनथ्यो । छोरी पाएको केही महिनापछि मलाई एउटा अवार्ड कार्यक्रममा बोलाइयो, मैले एटेन्ड गरेको, त्यो नै पहिलो कार्यक्रम थियो । मलाई ‘एक–दो–तीन’ गीतका लागि अवार्ड दिइयो । छोरी सानै भएकाले छोरीलाई पनि सँग लिएर गएकी थिएँ । मैले त्यो हातले छोरी समात्दै अर्काे हातले अवार्ड लिएकी थिएँ । त्यो समय मेरो जीवनको सबैभन्दा प्रिय समय थियो, सुखद समय थियो । जीवनले मलाई एकैपटक दुईवटा खुसी दिएको थियो, एक– छोरी, अर्को– अवार्ड । ती दुवै मेरो जीवनमा पहिलोपटक आएका थिए । 

(‘लाइभ हिन्दुस्तान डटकम’को ‘मेरी कहानी’ खण्डअन्तर्गत प्रकाशित अलका याग्निकको ब्लगको अनुदित अंश)

  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार २२:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया