भेरी बबईको बाँध र विद्युत्‌गृह निर्माण सुरु

सुर्खेत– राष्ट्रिय गौरवको आयोजना भेरी बबई बहुउद्देश्यीय डाइभर्सनको बाँध र विद्युत्गृह निर्माण सुरु भएको छ । ०८० सालसम्म ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित भेरी नदीमा बाँध निर्माण तथा बबईमा विद्युत्गृह निर्माणको काम सुरु गरिएको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिए । निर्माण ठेक्का पाएका यी दुई कम्पनीले पुलसहितको ब्यारेज, सर्जसाफ्ट (ट्यांकी) र पावरहाउस निर्माण गर्नेछन् ।

आयोजना निर्माण गर्न करिब सवा ६ अर्ब रुपैयाँ लाग्ने भएको छ । पहिलो चरणमा सुरुङ निर्माण गरेको आयोजनाले दोस्रो चरणमा बाँध र विद्युत्गृह निर्माणका लागि मुख्य चीनको गुवाङडुवाङ युएनटिएन इन्जिनियरिङ कम्पनी रहने गरी रमण जेभीसँग सम्झौता गरेकोे छ । 

दोस्रो चरणको पूर्वाधार विकास गर्ने गरी आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरी सम्झौता गरिएको हो । निर्माण कम्पनीले ४८ महिनाभित्र बिजुली उत्पादन गरिसक्नु पर्नेछ । आयोजनाको डबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जाका लागि मूल्यांकन समितिले गरेको सिफारिस पनि प्रमुख जिल्ला अधिकारीसमक्ष पु¥याइएको इन्जिनियर पण्डितले बताए । ‘डुबान क्षेत्रमा अधिकतम प्रतिरोपनी दश लाख रुपैयाँसम्म मुआब्जा उपलब्ध गराउने गरी प्रतिवेदन पेस गरिएको छ,’ उनले भने, ‘ऐलानी, दर्ता जग्गा र सडकको पहुँच भए नभएको आधारमा मूल्यांकन गरिएको छ ।’ मुआब्जाका लागि आयोजनाले ८५ करोडभन्दा बढी बजेट खर्च गरिरहेको छ ।

आयोजनाको प्रभावितलाई राहत दिन साना सिँचाइ आयोजना र तटबन्ध निर्माणलगायत कामका लागि भेरी करिडोरअन्तर्गत ६० करोड तथा बबई करिडोरअन्तर्गत २५ करोड रुपैयाँ विनियोजन गरिएको  छ । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरी सुरुङ निर्माण गरिएपछि आयोजनाले गति लिएको हो । 

पहिलो चरणमा सुरुड निर्माणको काम गरेको आयोजनाले दोस्रो चरणमा ४८ मेगावाटको बिजुली उत्पादन गर्ने र तेस्रो चरणमा सिँचाइका लागि काम गर्ने गरी योजना बनाएको जनाएको छ । यहाँबाट उत्पादित ४८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने र बाँके बर्दियाको ५१ हजार हेक्टर जमिनामा १२ महिना सिँचाइ सुविधा पु-याउन सकिने लक्ष्य आयोजनाले लिएको छ । सुरुङ निर्माणपछि प्रतिसेकेन्ड ४० घनमिटर भेरी नदीको पानी बबईमा खसालिनेछ ।





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार ११:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया