योगेश्वर अमात्यसँग दशैं संवादः दशैं कि दशा ?

नेपालीहरुको महान् चाड दशैँ आँगनमा आइसकेको छ । दशैँको छेको पारेर नेपालीहरुले विभिन्न कामहरु पनि गर्छन्, नयाँ नोट बजारमा साटिन्छ, नयाँ कपडा किनिन्छ र दशैंलाई उल्लासको चाड मानिन्छ । 

तर, जति केटाकेटी हुँदा दशैंको उल्लास हुन्छ, त्यति नै दशैंले पछि छुन सक्दैन भन्ने धेरैको गुनासो हुन्छ । कतिले त अझ दशैं आउनु आफ्ना लागि दशा आएजस्तो अनुभूत गरिरहेका हुन्छन्, त्यस्तै अनुभूति सेयर गरिरहेका पनि हुन्छन् । 

जे होस्, आफूभन्दा ठूलाबडाको आर्शिवादसहित जमरा र टिका लगाउनु, घरपरिवार र साथीभाइसँग रमाइलो उत्सवमा भुल्नु दशैंको माहोल हो जसले सबैलाई छुन्छ । असत्यमाथि सत्यको जितलाई प्रतिविम्बित गर्ने यो दशैं किन कसैका लागि दशा हुन्छ ? यसको सहज जवाफ हुनसक्छ, हाम्रो समाजमा पछिल्लो समय चाडवाडलाई भड्किलो तरिकाले मानिनु । 

अनि दशैंसँग जब दशा शब्द जोडिन्छ, योगेश्वर अमात्यको गीत दशैं नै हो कि यो मेरो दशाको सम्झना धेरैलाई हुन्छ । योगेश्वर स्वयं नेपाली चाडवाडलाई विशेष प्राथमिकता दिनु पर्ने अडान राखिरहेका हुन्छन् । तर, उनी स्वयंलाई यो गीत आफूले कुन वर्षमा गाएको हो भन्ने अहिले सम्झनामा छैन । 

‘गीत गाएको वर्ष चाहिँ ठ्याक्कै मैले बिर्सिएँ,’ योगेश्वरले भने, ‘तर, अहिले बेक्कारमा यो गीत गाएछु भन्ने हुन्छ, यो गीत सुन्दा म आफैंलाई पनि नरमाइलो लाग्छ ।’

खासमा यो गीत जन्मिएको चाहिँ संयोगले हो । योगेश्वर आफ्ना दुई साथीसँग बियर खाएर बसिरहेका थिए । ‘म, न्ह्यू ब्रज्राचार्य र प्रेम बस्नेत कान्तिपथको एउटा रेष्टुरेन्टमा यसै बियर खाएर बसिरहेका थियौँ,’ योगेश्वरले सम्झिए, ‘हामी तीन भेट्दा गीतसंगीतको कुरा हुने नै भयो । फेरि त्यति बेला चाडवाडको मौसम सुरु भइसकेको थियो । हामीले पनि दशैंको विषयमा कुरा गर्यौँ । त्यहाँ कुरा हुँदहुँदै न्ह्यूले संगीत कम्पोज गरे, प्रेमले शब्दहरु लेखे अनि मैले त्यहाँ नै गीत गाएँ ।’



त्यसपछि गाइने निश्चित भयो, योगेश्वर अमात्यले स्वर दिएको यो गीत । 

गीतमा योगेश्वरलाई पछि रेकर्डिङ गर्दा दीपकराज गिरी र दिपाश्री निरौलाले पनि साथ दिएका छन् । साथै, कोरसका लागि उनीहरुले सडक बालबालिकाको पनि प्रयोग गरेका छन् । 



गीतमा एउटा लाइन छ, 

खसी पनि घोर्ले ल्याउनु पर्छ बा यसपाली त 
पोहोरजस्तो र्याक होइन नि ल
बरु म आफैं पानी तताउँछु, आफैं खुइल्याउँछु
टाउको चाहिँ चट्ट उसिन्नु पर्छ

यो कोरसपछि फेरि योगेश्वरको स्वर छ– दशैं नै हो कि यो मेरो दशा फर्किआएको, वर्ष नै पिच्छे यो मेरो टाउको खाएको...

योगेश्वरले पछि सुन्दा उनलाई लाग्यो, ‘यो माथिको र्याक भन्ने शब्द मलाई मन परेको थिएन, र्याल भन्ने शब्द पहिले थियो । तर, दीपक त्यति बेला भर्खरको ठिटो थियो सहरमा हुर्किएको थियो, अनि र्याक भन्ने शब्द प्रयोग गरिदियो ।’

योगेश्वरलाई यो गीतमा विविधता झल्किन्छ । उनी भन्छन्, ‘यसमा सबैको स्वर छ, सबैको भावना छ । त्यसैले यसलाई धेरैले मन पराए ।’

तर, योगेश्वरलाई दशैं आएपछि यो गीतको प्रसंग आउने कुरा आजभोलि त्यति रमाइलो लाग्दैन । ‘मलाई त दिक्क लाग्छ,’ उनले भने, ‘वर्ष दिनमा आउने चाडले सबैलाई खुसी लिएर आउनु पर्छ भन्ने मेरो मान्यता हो । हुन त यसले मुख्य मान्छेलाई धेरै जिम्मेवारी थोपर्छ तर यो त खुसीको चाड हुनु पर्ने हो नि ।’

दशैंको आसपासमा योगेश्वर जब बाटोमा हिँड्छन् र मानिसहरु पसलमा झुम्मिएको देख्छन्, त्यसले उनलाई झन् नरमाइलो बनाइदिन्छ । उनी भन्छन्, ‘त्यो त पूरै देखासिकी हो भन्ने लाग्छ, उपहार र नयाँ केही किन्ने वाहानामा मानिसहरु खर्चालू भइरहेका छन्, अनावश्यक खर्च गरिरहेका छन् ।’

दशैंप्रति योगेश्वरको निकै ठूलो सम्मान छ । तर, उनलाई आजभोलि पनि कसैकसैले ‘टाउको खान्छन्’– दशैंजस्तो खुसीको समयमा पनि यस्तो गीत गाउने हो ? 

अनि उनी एकछिन सोचमग्न हुन्छन्, अनि निक्र्योल गर्छन्, ‘हो नि मैले पनि चाडवाडमा त मीठो वा खुसीको गीत पो गाउनु पर्ने थियो ।’

तर, जोजसले गाली गरे पनि वा आफूले जे निष्कर्ष निकाले पनि योगेश्वर एउटा निर्णयमा चाहिँ पुग्छन्– आखिर यो गीत नेपाली समाजको वास्तविकता हो नि । 

जे होस्, जबजब दशैं आउँछ, योगेश्वरलाई यो गीतको प्रसंग निकालेर धेरैले सम्झिन्छन् । 

‘अस्तिमात्र बेलायतबाट फर्किएर आएको थिएँ,’ योगेश्वरले एउटा यस्तै प्रसंग सम्झिए, ‘विमानस्थलमा पासपोर्ट देखाएँ, इमिग्रेसनमा । त्यहाँ दुई जना भाइहरुले मलाई भने– दुई मिनेटअगाडि मात्र तपाईंको गीतको कुरा गरेका थियौँ दाइ ।’

गीतमा जे जस्तो गाए पनि योगेश्वरलाई दशैं विशेष चाड लाग्छ । ‘सबै नेपालीको निधारमा रातो टिका होस् भन्ने मेरो कामना हुन्छ,’ उनले भने, ‘सबैले टिका लगाउनुहोस्, यसलाई दशाका रुपमा नलिइयोस् वा टाउको दुखेको सोच कसैमा नआओस् ।’

  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १२:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया