Fri, 15 Nov, 2019


दीपक विष्टकाे त्यो दसैँ : अरूले टीका लगाइरहँदा हामी ‘फाइट’ गरिरहेका थियौँ
फरकधार / असोज १४, २०७६

दसैँ भन्नेबित्तिकै मलाई बच्चा वेलाको याद आउँछ । आहा दसैँ भनेको त त्यो पो हो । त्यो वेला निकै रमाइलो हुन्थ्यो । हाम्रो संयुक्त परिवार थियो । स्कुल पढ्ने वेलासम्म हामी ३५–४० जना एकै ठाउँमा मिलेर टीका लगाउँथ्यौँ । 



हामी त गाउँमा जन्मेको मान्छे त्यहाँ पढ्ने र खेती गर्ने दुई काम मात्रै हुन्थ्यो । घर गाउँमा भएकाले सधँै केही न केही काम भइरहन्थ्यो । घाँस काट्ने, गाई–गोरु चराउने काम हुन्थ्यो । तर, दसैँका वेला न काम गर्नुपथ्र्यो न पढ्नुपथ्र्याे त्यसैले दसैँ मलाई निकै मन पथ्र्याे । 

दसैँ आउनुभन्दा एक–दुई महिनाअघि बाट नै हामी दसैँका बारे कुरा गर्न थाल्थ्यौँ । एक हिसाबले भन्दा दसैँको प्रतीक्षा गरिरहेका हुन्थ्यौँ । त्यो प्रतीक्षा टीकाका लागि भन्दा पनि खान–लाउनकै लागि हुन्थ्यो । त्यसैले कहिलेकाहीँ दसैँ महिना–महिनामा भए पनि हुनेजस्तो लाग्थ्यो ।
 
दसैँमा हाम्रोमा प्रायः मामाघर जाने परम्परा छ । तर, म भने दसैँमा मामाघर अहिलेसम्म गएको छैन । हाम्रो घरबाट मामाघर निकै टाढा पर्छ । दुई दिन हिँडेपछि मात्रै पुगिन्छ । त्यसैले मामाघर गएर दसैँ मनाएको अनुभव छैन । 

मामाघर नगए पनि हामी घरमा नै निकै रमाइलो गरेर दसैँ मनाउँथ्यौं । दसैँमा टीका लगाउन ३५–४० जना जम्मा हुन्थ्यौँ । अहिले त्यो वेला सम्झिँदा त्यति रमाइलो दसैँ फेरि फर्केर आउँदैनजस्तो लाग्छ । 

विदेशमा दसैँ

जब खेलकुदमा लागियो, दसैँ आए–गएको थाहा नै हुन छाड्यो । खेल्ने मान्छेको दसैँ यस्तै हुने रहेछ । दसैँको समयमा नेपालमा त खेल हुँदैनथ्यो । तर, कहिलेकाहीँ ट्रेनिङका लागि वा टुर्नामेन्टका लागि विदेश पनि जानुपथ्र्यो । त्यतिवेला दसैँ धेरै नै मिस हुन्थ्यो । 

मलाई एउटा याद छ । यो सन् २००८ को कुरा हो । हामी ट्रेनिङका लागि कोरियामा थियौँ । दसैँकै दिन हामीले दिनभरि तालिम गरेका थियौँ । हाम्रो गुरु पनि कोरियन हुनुहुन्थ्यो, उहाँलाई आज दसैँ हो नगरौँ भन्ने कुरा पनि भएन । क्यालेन्डरमा हेरेर आज दसैँ रहेछ भन्ने थाहा हुन्थ्यो । सानो छँदाको यादसँग दसैँ मनाउँथ्यौँ । 

त्यहाँ हामी मिसनमा गएका थियौँ । त्यहाँ न दसैँमा लगाउने रातो टीका हुन्थ्यो न जमरा । न हामीले दसैँमा खाने परिकार त्यहाँ पाइन्थ्यो । उनीहरूको देशमा उनीहरूले जे दिन्थे त्यही खानुपथ्र्यो, अनि दसैँजस्तो कसरी हुन्थ्यो र ! म आफैँ क्याप्टेन थिए, खेलाडी साथीसँग बेलुका गफ गरेर दसैँ मनाएको याद छ । यहाँ दसैँको दिन टीका लगाइरहदाँ हामी उहाँ फाइट गरिरहेका थियौँ । 

खेलजीवनमा मैले ५–६ वटा दसैँ विदेशमा बिताएको छु । तर, खेलका लागि विदेश रहँदा एकदमै धेरै याद भने नहुने रहेछ । 

काठमाडौंमा दसैँ

काठमाडौंमा क्याम्पमा हुँदा पनि ४ वटा दसैँमा घर गइनँ । विदेशमा हुँदा मात्रै होइन, नेपालमा हुँदा पनि दसैँमा एक्लै कोठामा ढोका लगाएर मनाएँ । म क्लोज क्याम्पमा थिएँ । दसैँको केही दिन अगाडिबाट बिदा हुन्थ्यो । फेरि दसैँ लगत्तै क्याम्पमा फर्किहाल्नुपथ्र्यो । एक वर्ष त दसैँको दुई दिनपछि नै फ्लाइट थियो । त्यसैले गाउँमा गएर ममी बाबाको हातको टीका लगाउन सकिँदैनथ्यो । काठमाडौंमा ठूलोबाबा हुनुहुन्थ्यो । कुनै दसैँ उहाँकै घरमा गएर पनि मनाएको छु । 

तर, केही दसैँ आफ्नै कोठामा एक्लै पनि मनाएको छु । एक्लै कोठामा हुँदा खाना पकाउने जाँगर पनि हुँदैनथ्यो, दिनभरि सुत्यो, दसैँ मनायो । 

यो दसैँ 

४ वर्षपछि यो दसैँमा म पुख्र्याैली गाउँ डडेलधुरा हिँडेँ । आइतबार काठमाडौंबाट चितवनका लागि निस्कियौँ । त्यसपछि हामी धनगढी लाग्छौँ । पहिलेको गाउँ डडेलधुरा भए पनि हामी धनगढी बसाइँ सर्यौँ । तर, योपटक भने दसैँ मनाउन डडेलधुरा नै जाने योजना बनाएका छौँ । यसपटक आफ्नै कुल देवताको मन्दिरमा गएर दसैँ मनाउने योजना छ ।  

यसपटक गाउँमा पुगेर पुराना आफन्त भेट्ने योजना छ । ४ वर्षअघि पहिलो छोरा जन्मेको वेला हामी त्यहाँ पुगेका थियौँ । अहिले अर्काे छोरा पनि भयो । त्यसैले यसपटक दुवै छोरासँग पहिलोपटक पुख्र्यौली गाउँ जाँदै छौँ । 

तर, अहिलेको दसैँमा केही जिम्मेवारी थपिएको महसुस भएको छ । अहिले घर जाँदा पनि सबै परिवार कसरी जाने, कहाँ बस्ने, के खाने भन्ने पनि चिन्ता हुने रहेछ । यो सबै कुराले दसैँ सानो उमेरको जस्तो रमाइलो नलाग्ने रहेछ । 

सपिङ र दसैँ

सानो वेलामा पनि दसैँमा नयाँ लुगा किन्नै पर्छ भन्ने लाग्दैनथ्यो । ममी–बाबाले किनिदिनुभयो भने ठीकै छ, नत्र यो चाहियो भन्ने इच्छा गरिँदैनथ्यो । तर, प्रायः दसैँमा केही न केही पनि किनिदिनुहुन्थ्यो ।

पछि काठमाडौं आएपछि दसैँमा नयाँ लुगा लगाउने भन्ने नै बिर्सियो । न नयाँ लुगा न मीठो खाना । पारिवारिक जिम्मेवारी भएपछि भने धेरै कुरा फेरिँदो रहेछ । यो वर्ष सबै परिवारका लागि सपिङ गर्दा दुई दिन लागेको छ । दसैँमा एक जोर नयाँ कपडा लगाउनुपर्छ भनेर प्रायः नयाँ कपडा किन्छाँै । 

सबैभन्दा रमाइलो दसैँ 

म ४ कक्षामा पढ्दाको दसैँ मलाई निकै रमाइलो लागेको दसैँ हो । त्यो दसैँमा मेरो घरमा मामाहरू आउनुभएको थियो । उहाँहरूले नयाँ कपडा पनि ल्याइदिनुभएको थियो, त्यो पनि दुई जोर । प्रायः दसैँमा एक जोर मात्रै नयाँ कपडा लगाइन्थ्यो । त्यो दसैँमा मामाहरूले दक्षिणा दिनुभयो । त्यसले थप रमाइलो भयो । त्यो दसैँमा मैले झण्डै एक सय रुपैयाँ कमाएको थिएँ । 

त्यतिवेला छुट्टै रमाइलो भएको थियो । ४ वर्षअघि हाम्रो पहिलो सन्तान भएपछि गाउँमा गएर मनाएको दसैँ पनि निकै रमाइलो थियो । नयाँ सन्तान भएको हुनाले पनि सबैमा खुसी छाएको थियो । अहिलेको दसैँमा पनि नयाँ सन्तानका साथ गाउँ जाँदै छौँ । यो दसैँ पनि रमाइलो हुने अपेक्षा छ । 

सबैभन्दा नरमाइलो दसैँ 

एउटा दसैँ छ, त्यस्तो दसैँ कसैको घरमा पनि नआए हुथ्यो जस्तो लाग्छ । ०६४ सालमा जब म दसैँ मनाउनका लागि रोमाञ्चित हुँदै गाउँ गएको थिएँ । घरमा पुगेपछि थाहा भयो, मेरो बजै बित्नुभएछ । दसैँभन्दा ६ दिनअघि बित्नुभएको थियो । त्यो दसैँ अहिलेसम्मको सबैभन्दा नरमाइलो दसैँ हो । 

(दीपक विष्टसँगकाे कुराकानीमा आधारित)
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्