नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

काठमाडाैं– नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको सहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ मुलुक अष्ट्रेलिया भएको छ ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा मंगलबार नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

'आइकाओको प्रधान कार्याल मन्टियल क्यानाडामा (१ अक्टोबर सन् २०१९ मा) नेपाल सरकार र अष्ट्रेलिया  सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भई हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षरका साथै एक समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ,' सहसचिव आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौताअनुरुप दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्नेछन् । 

नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न पाउनेछन् । अन्य विमानस्थलमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सात उडान गर्न पाउने जनाइएको छ । पोखरा, भैरहवालगायत अन्य विमानस्थलमा सातामा २८ उडान गर्न सक्नेछन् । 
    
दुईपक्षीय समझदारीअनुसार दुई मुलुकका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान संख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने जनाइएको छ । सहसचिव आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौँ ट्राफिक अधिकार उपोग गर्न पाउनेछन् । 

उक्त समझदारीपत्रमा पर्यटन मन्त्रालयका सहसचिव आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलका तर्फबाट संघीय पूर्वाधार, यातायात, सहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका हुन् । 





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १६:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया