महरा प्रकरणः अब प्रहरीले के गर्ला ?

काठमाडौं– प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आफूमाथि दुव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका छन् । तर, उनले दिएको राजीनामा ससर्त छ । उनले राजीनामामा लेखेका छन्– छानबिन सकिँदासम्मका लागि राजीनामा दिन्छु ।

उनलाई नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले चाहिँ सभामुख र प्रतिनिधि सभा सदस्यबाट पनि राजीनामा दिन सुझाएको थियो । तर, आफूमाथि गम्भीर आरोप लाग्दा पनि महराले सेफ साइड खोजेका छन् ।

‘उहाँले सांसदबाट पनि राजीनामा दिनु पथ्र्यो र आम नगरिकको जस्तै उहाँमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्नुपथ्र्यो,’ नेकपाका एक नेताले भने, ‘तर, यति ठूलो आरोप लाग्दा पनि उहाँले त्यसलाई गम्भीर रुपमा लिनु भएको जस्तो देखिएन । उहाँको राजीनामाको भाषा पढ्दा हामीलाई पनि अप्ठ्यारो लागेको हो ।’

नेपालमा भिभिआइपीमाथि महिलाले दुव्र्यवहारको आरोप लगाएको यो पहिलो पटक हो । योसँगै प्रश्न उठेको छ– अब प्रहरीले के गर्ला ? 

सामान्य नागरिकको हकमा हो भने प्रहरीले यो विषयमा अनुसन्धान गर्न आरोपितलाई गिरफ्तार गरेर प्रक्रिया अगाडि बढाउनु पर्ने हो । तर, महरा उच्चपदस्थ व्यक्ति भएकाले उनलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना छैन । 

‘अहिले नै पक्राउ गर्नु पर्छ भन्ने छैन,’ एक प्रहरी अधिकारीले फरक धारसँग भने, ‘यो घटनामा अनुसन्धान अगाडि बढिसकेको छ । फेरि जसले आरोप लगाएकी हुन्, उनले लिखित उजुरी पनि दिएकी छैनन् ।’



महराले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी महिलाले त आफ्नो बयान फेरेको प्रहरीले जनाएको छ । ‘मिडियामा महराले बलात्कार गरेकोसम्म कुरा आइरहेका छन्,’ ती प्रहरी अधिकारीले भने, ‘तर, हामीलाई प्राप्त भएको जानकारीअनुसार महिलाले दुव्र्यवहार मात्र भनेकी छिन् । फेरि उनले किटानी जाहेरी पनि दिएकी छैनन् । प्रहरीले आफ्नो काम गरिरहेको छ ।’

नेपाल कम्युनिस्ट पार्टीका सांसदसमेत रहेका एक नेताले चाहिँ महराको पद स्वतः गएको र सभामुखले राजीनामा दिँदा ससर्त भन्ने नहुने बताएका छन् ।



तर, उनको राजीनामा भन्दा पनि पछिल्लो समय उनीमाथि प्रहरीको छानबिन के हुन्छ भन्ने विषयमा प्रश्न उठ्न थालेका छन् । एकथरिले पीडित भनिएकी युवतीले बयान फेरेकाले प्रहरीले यो मुद्दा ‘सेटलमेन्ट’ गर्ने अनुमान गरेका छन् ।

अर्कोतिर, यही विषयमा छलफल गर्न नेपाल प्रहरीका आइजी सर्वेन्द्र खनाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ । त्यसैले याे घटनाले अर्काे माेड लिन सक्ने पनि आशंका गर्न थालिएकाे छ ।
 

  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १६:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया