Mon, 09 Dec, 2019


बढ्यो च्यांग्राको भाउ
फरकधार / असोज १४, २०७६

बागलुङ– यो दशैँमा पनि च्यांग्राको भाउ महँगिएको छ। रोज्जा च्यांग्राको मूल्य २९ हजार रुपैयाँ र मासुको प्रतिकिलो १४ सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । गत वर्ष एउटा च्यांग्राको मूल्य बढीमा २७ हजार रुपैयाँ थियो । 



खरिदमै मूल्य बढी परेको व्यापारी अम्मरबहादुर खत्रीले बताए । च्यांग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि च्यांग्रा महँगिदै गएको छ। गत वर्षको तुलनामा यो वर्ष चार हजारले च्यांग्रा महँगिएको व्यपारीले बताएका छन्। 'अहिले खरिदमै एक हजारभन्दा मूल्य बढी पर्‍यो', व्यापारी खत्रीले भने, 'आउँदा जाँदा बाटोमा उत्तिकै खर्च छ।' व्यापारीले एक साता लगाएर मुस्ताङदेखि च्यांग्रा ल्याउँछन्।   

स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा मर्का परेको च्याङ्ग्रा व्यापारीको गुनासो छ। खत्रीसहित चार व्यापारी मुस्ताङको कागबेनी पुगेर १ सय ७५ च्यांग्रा बागलुङ भित्र्याएका छन्।    

मुस्ताङमै च्यांग्राको मूल्य २३ हजार रुपैयाँ परेको अर्का व्यापारी महेन्द्र केसीले बताए । दुई वर्षअघि सो मूल्यमा बागलुङमै च्यांग्रा आउँथ्यो। चार वर्षदेखि च्यांग्राको व्यापार गर्दै आएका केसीले यसपालि ७५ च्यांग्रा ल्याएका थिए । 

'महँगो परे पनि मासु पुर्‍याउनै सकिएको छैन, आइतबार तीनवटा काट्दा पनि पुगेन', व्यापारी केसीले भने । नवदुर्गा मासु पसलका सञ्चालकसमेत रहेका केसीले भने काटेको मासु १३ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । अघिल्लो वर्ष भने प्रतिकिलो १२ सय रुपैयाँ थियो ।   

जिउँदो च्यांग्रा पनि अरु व्यापारीले भन्दा एक हजार कम मूल्यमै बेचेको उनको भनाइ छ। च्यांग्रा बिक्रीबाट पहिलेपहिले जस्तो नाफा निस्कन छाडेको व्यापारी बताउँछन्। एउटा च्यांग्रामा एक–दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् ।   

खरिद र ढुवानी नै महँगो परेपछि महँगोमा बेच्न बाध्य भएको व्यापारीको भनाइ छ । तिब्बतबाट कम च्यांग्रा आउँदा पनि मूल्य बढ्ने गरेको छ। मुस्ताङमा मात्रै पालिने च्यांग्राले माग धान्न नसक्ने हुँदा ठूलो संख्यामा च्यांग्रा तिब्बतबाट भित्रने गर्छन् ।   

महँगै परे पनि उपभोक्ताले दसैँमा च्यांग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्यांग्राको मासु स्वादिष्ट मानिन्छ ।बागलुङमा मात्रै दसैँका वेला बर्सेनि करिब दुई हजार च्यांग्रा भित्रने गरेको व्यापारी बताउँछन् ।   

मुस्ताङबाट झारिने च्यांग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पुर्‍याइन्छ। यो वर्ष पनि झण्डै मुस्ताङसहित डोल्पा, हुम्ला, मुगुलगायत हिमाली जिल्लाबाट च्यांग्रा भित्रिएका छन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्