चीनले देखायो अमेरिकासम्म मार हान्ने 'विश्वकै शक्तिशाली' मिसाइल

बेइजिङ– कम्युनिस्ट पार्टीको ७० वर्ष पुगेको अवसरमा आज भव्य समारोह राखेर चीनले शक्तिप्रदर्शन गर्यो । प्रदर्शनका क्रममा उसले १५ हजार किलोमिटरसम्म मार हान्न सक्ने विश्वकै शक्तिशाली क्षेप्यास्त्र ‘डिएफ४१’ पहिलोपटक दुनियाँलाई देखायो ।

यो क्षेप्यास्त्रले चीनदेखि अमेरिकासम्म मार हान्न सक्छ । चीनको दाबीअनुसार, यो केवल ३० मिनेटमा अमेरिका पुग्छ । यसमा अलग–अलग क्षमताका १० वटा न्युक्लियर वारहेड्स लगाउन सकिन्छ । 

चीनले गरेको अहिलेसम्मकै विशाल प्रदर्शनमा १५ हजार सैनिकसँगै ड्रोन र पनडुब्बीले पनि परेड खेले । समारोहमा १६० फाइटर जेट र ५८० प्रकारका अन्य सैन्य सामग्री प्रदर्शन गरिए । 

चीनसँग विश्वकै सबैभन्दा ठूलो सेना छ, जसमा २० लाख सैनिक आबद्ध छन् । चिनियाँ वायुसेना अमेरिकी र रुसीपछि विश्वकै तेस्रो शक्तिशाली वायुसेना मानिन्छ । पछिल्लो समय चीनले बजेटको ठूलो हिस्सा सैन्य सशक्तीकरणमा लगानी गरिरहेको छ । जसका कारण विश्वशक्ति मानिने अमेरिकाले वेलावेला चिन्ता व्यक्त गर्ने गरेको छ । अमेरिका चीनलाई सबैभन्दा ठूलो प्रतिस्पर्धी मान्न थालेको छ । 

चीनले कम्युनिस्ट पार्टीको स्थापना दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ । हरेक साल यो दिन शक्तिप्रदर्शन गर्ने गरेको भए पनि ७० वर्ष पुगेको अवसरमा आजको प्रदर्शन भने अलि विशेष र भव्य बनाइएको थियो । 

परेडअघि समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले चीनलाई दुनियाँको कुनै ताकतले रोक्न नसक्ने बताएका थिए । 





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १९:७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया