Sun, 17 Nov, 2019


अमर न्याैपाने अनुभव : दसैँ त बाल्यकालसँगै छुट्यो
फरकधार / असोज १५, २०७६

सानो छँदा चाडबाडहरू एकदम रमाइला हुन्छन् । जब मान्छे ठूलो हुँदै जान्छ, चाडबाड साना हुँदै जान्छन् । सामान्य दैनिकी जस्तै बन्छन् । मान्छेको उमेर बढ्दै जाँदा दसैँको खुसी घट्दै जान्छ । उमेरको यात्रामा बहँदै–बहँदै जाँदा दसैँ बाल्यकालसँगै छुटेजस्तो लाग्छ । उमेरले मान्छेलाई वैचारिक बनाउँदै लैजाँदा मलाई पनि दसैँको उत्सवमय खुसी बाल्यकालमा नै छुटेको जस्तो लाग्छ ।



दसैँ त त्यो वेला थियो, जब वर्षभरि लगाएको एउटै लुगा फुकालेर नयाँ लुगा लगाउन पाउँथे । दसैँको समयमा ल्याईदिएको नयाँ लुगा लगाएर ओछ्यानमा सुत्दा, नयाँ लुगाको बास्नाले नै मीठो निद्रा पाउँथे । नयाँ लुगा पाउन पनि सजिलो थिएन, निकै गाह्रो पथ्र्यो, मलाई । बासँग खुब डराउँथे । नजिकै जान्थेँ र कपाल कन्याउँदै सुस्तरी लुगा भन्थेँ । बाले ‘पुरानो लुगा फाटेपछि नयाँ लुगा किन्ने हो, दसैँ आएर किन्ने होइन,’ भन्नुहुन्थ्यो । मन निकै खिन्न हुन्थ्यो । कति वर्ष त स्कुलको आकासे रंगको सर्ट र नीलो पेन्ट लगाएर दसैँमा मामाघर गइयो । अरूको अगाडि पर्न निक्कै लाज लाग्थ्यो, त्यस्तो लुगा लगाएका वेला ।  

बा–आमासँग रोई–कराई गरेर घरको दलिनमा हालिएकोे पिङसँगै मनमा दसैँ आएको खुसीले आकाश छुन्थ्यो । मध्यम परिवारमा वर्षभरिमा केही दिन मात्र माछा–मासु खाइन्थ्यो । दसैँ आयो भन्नासाथ मनमा मासु खान पाइने खुसी नाच्थ्यो । आमा–बासँग मामाघर जाँदा मामा–माइजूले दक्षिणामा पाँच–दश रुपैयाँ दिँदा बालमन खुसीले फुरुंङ हुन्थ्यो । 

सानोमा आमासँग मामाघर शुक्रनगर जान्थेँ । मामा–माइजूको हातबाट टीका लगाएपछि पाएको पैसालाई बाले ल्याइदिएको नयाँ लुगामा भएको फरक–फरक खल्तीमा हाल्थेँ । जेठो मामाले दिएको अगाडि । कान्छाले दिएको पछाडि । माहिलाले दिएको सर्टको गोजीमा । सबैसँग टीका लगाइसकेपछि शौचालय गएर पैसा गन्थेँ । कुन मामाले कति दिएका छन् भनेर हेर्थें । सबैभन्दा धेरै पैसा दिने मामा–माइजू नै सबैभन्दा जातीजस्तो लाग्थ्यो । अहिले साना नानीबाबुलाई पनि यस्तै लाग्दो हो । 

अर्कातिर मामाघरमा बाहेक कतै पनि छोरालाई टीका लगाएर दक्षिणा दिने चलन थिएन । दिदी भने पैसा पाइन्छ भन्दै सबैको घरमा टीका लगाउन जाऊँ भन्नुहुन्थ्यो । गाउँमा चलन पनि थियो, सयजनाको हातको टीका लगाउने । त्यसैलाई पूरा गर्न पनि एकपटक दिदीसँगै पछि–पछि सबैको घरमा टीका लगाउन गएँ । तर, टीका लगाएर घर फर्किंदा दिदीसँग निकै धेरै पैसा हुन्थ्यो । आफूलाई कसैले पनि दक्षिणा दिँदैन थिए । मन खिन्न हुन्थ्यो । लाज लाग्थ्यो । अर्कोपटकदेखि दिदीले जाऊँ भन्दा पनि जान सक्दिनथिएँ । सयजनाको हातको टीका लगाउने मन पनि रहेन । 

सानैदेखि चकचक गर्न कहिल्यै मन लागेन । दसैँका वेला साथीभाइहरू खुब चकचक गर्न हिँड्थे । म भने कतै पनि गइनँ । गाउँमा लिंगेपिङ लगाइएको हुन्थ्यो । तर, मलाई पिङमा चढ्न पनि डर लाग्थ्यो । सबैजना फर्किएपछि एक्लै कसैले नदेख्ने गरी पिङ खेल्छु भनेर अबेरसम्म कुरेर बस्थँे । पालो आउला भन्दाभन्दै साँझ पथ्र्यो अनि पिङ नखेली घर फर्किन्थँे । घरमा बाले लगाइदिएको सानो पिङमा मच्चिएर लिंगे पिङ खेल्न नपाएको रहर पूरा गर्थें । 

चाडबाडमा मनोरञ्जनका लागि तास खेल्ने चलन सबैतिर छ । मेरो पनि ताससम्बन्धीएउटा रोचक स्मरण छ ।

एसएलसी दिएको साल भर्खरभर्खर तास खेल्न सिकेको थिएँ । सँगै पढ्ने तारा नाम गरेको साथीको घरमा म र अर्का एकजना साथी मिलेर तास खेल्ने तयारी गरेका थियौँ । उनले एकछिन चोक जाऊँ अनि फर्केर खेलौँला भनेर  तीनैजना निस्किएका थियौँ । 

उनी त चोकमा आएर अरूसँगै तास खेल्न सुरु गरे । राति अबेरसम्म घर जाऊँ भन्दा पनि मानेनन् । ११–१२ बजेबाट तास छाडेर कौडा खेल्न सुरु गरे । अर्को साथी र म त हेरेकोहेरै बस्यौँ । हेर्दाहेर्दै रात बितेर बिहान भइदियो । त्यसपछि त तास खेल्ने रहर पनि कहिल्यै लागेन । 

दसैँको खुसी बाल्यकालमा मात्रै पाएको महसुस गर्छु, आजभोलि । अहिले त यस्तो लाग्छ, जिन्दगीले पिङ खेलाउन थालेपछि आफैँले पिङ खेल्दा पनि मजा आउँदैन रहेछ । पहिलेको जस्तो माछा–मासु खान दसै आउनैपर्ने अवस्था छैन । मन लाग्दा थपक्क पसलमा गयो, किनेर ल्यायो, पकाएर खायो । अहिले कहाँ सानो हुँदा दसैँमा खाएको मासुको जस्तो मिठास हुनु ? 

औपचारिक टीका लगाउनेबाहेक कुनै योजना बनाउन छाडेको धेरै भयो । जिम्मेवारीले थिच्दै गएपछि धेरै कुरा छुट्दै जाने रहेछन् । दसैँमा रमाइलो गर्ने, नयाँ लुगा लगाउनेलगायत कुनै पनि तयारी हुँदैन । सामान्य रूपमा आमाबाबा, साथीभाइसँग भेटघाट गरेर बित्छ दसैं । यस्तो लाग्छ, दसैँ जति मनाउनु थियो, बाल्यकालमा नै मनाइयो । अहिले त दसैँको औपचारिकता मात्र पूरा गरिएको छ ।  

(अमर न्याैपानेसँगकाे कुराकानीमा आधारित)
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्