Sun, 17 Nov, 2019


डाक्टरकाे अनुभव : परिवार छाडेर पेसा राेजेकाे त्याे दसैँ
डा. अनन्त अधिकारी
फरकधार / असोज १५, २०७६

काठमाडौं– कतिपय घटनालाई सजिलै भुल्न सकिन्छ भने कुनै घटना हरपल मस्तिकमा आइरहन्छ । मान्छेको स्वभाव नै यस्तै हो । सम्झिनुपर्ने कुरालाई बिर्सिंदै गइन्छ । बिर्सिंदा राम्रो हुने कुरा भने मनमा आइरहन्छ । त्यसवेला म जिल्ला अस्पताल काभ्रेमा कार्यरत थिएँ । २०६४ सालको त्यो घटना जुन, हरेक वर्षको दसैँमा मलाई याद आइरहन्छ । 



करिब, ११ बजेको दसैँको शुभ साइतमा घरमा बुबा– आमाको हातबाट टीका ग्रहण भयो । दसैँमा ठूला मान्यजनको हातबाट टीका लगाउनका लागि ससुराली घर जाने तय भयो । काठमाडौंको कोटेश्वरबाट म र श्रीमती बस यात्रामा ससुराली घरतर्फ प्रस्थान गर्यौं । 

करिब १ बजे ससुराली घर सानेपा पगेर बुबाको हातबाट टीका लगाउँदै थिएँ । फोन आयो । फोनबाट दुःखदायी घटना सुनेँ । सिन्धुपाल्चोक जिल्लाबाट गर्भवती महिला लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स काभ्रेमा दुर्घटना भएको खबर सुनियो । गर्भवती महिलाको मृत्यु भयो भनेर ट्राफिक कार्यालय काभ्रेका एक प्रहरीले जानकारी गराए । 

पोस्टमार्टम परीक्षणका लागि तपाईं छिटै आउनुपर्ने भो भनेर बोलाइयो । कुनै साधन नभएकाले ललितपुरको सानेपाबाट तत्काल बनेपा जान सम्भव थिएन । तत्काल पुग्न ठूलो समस्या भयो । 

संवेदनशील केस भएकाले सकेसम्म छिटो आउनुपर्ने भन्दै उताबाट जवाफ आयो । मसँग कुनै साधन नभएको कारण कुनै साधनको व्यवस्था गर्दिन अनुरोध गरँे । श्रीमतीलाई छाडेर इलाका कार्यालय बनेपाको भ्यान केही बेरमै सानेपा आयो । ससुराली घरमा टीका लगाउन नै बाँकी थियो । खाना नखाएको अवस्थामा प्रहरीको भ्यानमा बसेर म बनेपा प्रस्थान गरँे । 

दसैँको समय रोडमा धेरै चलहलपहल थिएन । त्यसकारण भ्यानले तीव्र गति लियो । मलाई अहिले पनि याद छ, एक घन्टाबीचमा हामी काभ्रेको शिर मेमोरियल अस्पताल पुग्यौँ । अस्पताल पुग्दा बाहिर मानिसहरूको भिडभाड धेरै थियो । बीचमा पुगेर हेर्दा एउटी गर्भवती महिलाको लास लम्पसार पारेर राखिएको थियो । लास वीभत्स थियो । शरीरभरि रगतैरगत लागिरहेको थियो । भिड धेरै जम्मा भएको हुँदा पोस्मार्टम चाँडै गर्नुपर्ने दबाब परेको थियो, मलाई । 

पोस्टमार्टमका लागि सरकारी कर्मचारी हुनुपर्ने थियो । म ती महिलाको पोस्मार्टम गर्ने लागेँ । महिलाको पेट चिरफार गरेर हेर्दा पेटमा दुईटा बच्चा रहेछन् । बच्चाहरूको पनि मृत्यु भइसकेको थियो । त्यो क्षण मलाई एकदम धेरै नरमाइलो लाग्यो । ती मृतक बालकको दृश्य आज पनि आँखामा झलझली आउँछ । 

त्यसवेला एकमनले कता–कता आफ्नो पेसाप्रति दिक्दारी पनि लाग्यो । आफ्नो पर्सनल समय पनि नहुँदो रहेछ । फेरि अको कुरा मानवीय सेवामा समर्पित हुनु नै ठूलो धर्म नै हो जस्तो महसुस भयो । त्यो पोस्टमार्टम सकेर घर फर्किएँ । 

त्यसपछि एक हप्ता टीकाटालोमै बित्यो । तर, मलाई दसैँ नसकियून्जेलसम्म त्यो घटनाको दृश्य झलझली आइरह्यो । जुन घटना आज पनि झल्झली याद आइरहेछ । 

 

(डा. अनन्त अधिकारीसँगकाे कुराकानीकाे आधारमा )


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्