Sun, 17 Nov, 2019


यसरी रचना भएको थियो ‘दसैं आयो’
फरकधार / असोज १५, २०७६

सात वर्षको भारत बसाइँपछि नेपाल फर्किएर पोखराको पिएन क्याम्पसमा इन्टरमेडिएट अध्ययन गर्न थालेको थिएँ । २०५७ सालमा आफ्नो घर स्याङ्जा जाँदा यो गीत लेखेको याद छ । 



मानिस प्रकृतिकै एउटा सन्तान न हो, प्रकृतिमा हुने बदलावले उसको जीवनमा पनि तरंगहरू आउँछन् ।

दसैंको समयमा बर्खा सकिएर घमाइलो दिन हुने, धानका बाला खेतभरि झुल्ने हुन्थ्यो । वातावरण नै पूर्ण रूपमा दसैं आएको महसुस गराउने हुन्थ्यो । दसैं कसलाई नरमाइलो लाग्ला र ?

त्यो साल दसैंमा पोखराबाट घर फर्किंदा म पनि दसैंको रमाइलो महसुस गराउने प्रकृतिमा भुलिरहेको थिए । दसैंको रमाइलोमा भुल्दाभुल्दै मैले आँधीखोलामा रहेको घरअगाडिको चौरको ‘देउरालीको ढुंगा’मा बसेर आधा गीत लेखेको थिएँ ।

घरभन्दा केही माथिको ‘जुरेठामको डाँडा’, जहाँबाट एकापट्टि आँधीखोला बगेको, अर्कातिर सेती दोभान र उँभोतिर नाउडाँडा देखिन्छ, त्यहीँ बसेर ती मनोरम दृश्यलाई महसुस गर्दै बाँकी आधा गीत रचना गरको थिएँ । 

पछि दसैं मनाएर पोखरा फर्किएँ । रचना गरेको एक वर्षपछि पहिलोपटक २०५८ सालमा पोखराकै फेवा रेकर्डिङ स्टुडियोमा तेजेन्द्र गुरुङको संगीत संयोजनमा गीत रेडर्क भएको थियो ।

म, तेजेन्द्र र स्थानीय दोहोरी गायिका बहिनी कृष्णा परियारको संयुक्त आवाजमा रेकर्ड भएको गीतलाई पोखराकै रेडियो नेपाल र रेडियो अन्नपूर्णमा दिएका थियौँ । दसैं सुरु भएपछि गीत बज्न थालेको थियो ।

त्यो वेला अहिलेको जस्तो युट्युब, अनलाइन थिएन, थियो त केवल रेडियो मात्रै । रेडियोमा रेकर्ड भएको गीतलाई कसैकसैले टेप रेकर्डरमा रेकर्ड गरेर सुनेको पनि देखेको थिएँ । सायद, अहिलेजस्तो धेरै दसैँ–तिहारका गीत नभएर पनि यो लोकप्रिय हुँदै गयो । 

ठीक एक वर्षपछि शिव रेग्मी दाईसँग भेट भयो ।

आफ्नो कलेज सकिएपछि म विन्द्यवासिनी चलचित्र मन्दिरमा एकाउन्टेन्टको काम गर्थें । शिव दाइलगायत अन्य साथीहरू कुनै फिल्मको सुटिङमा आउनुभएको थियो । मेरो रेकर्ड भएको गीत, ‘म तिम्रो राजेश हमाल’ राजेश दाइलाई सुनाउँदै गर्दा शिव दाइले, ‘जे देखे पनि गीत लेख्छौ ?’ भनी ठट्टा गर्नुभएको थियो ।

ठट्टै–ठट्टामा दाइले मेरा अन्य गीत पनि सुनौँ भन्दा ‘दसैं आयो’ गीत सुनाएको थिएँ । दाइले पटक–पटक गरेर ५/६ पटकसम्म गीत सुनाउन लगाउनुभयो । अन्त्यमा सुनिसकेपछि निकै गमेर मेरो गीतमाथि कुनै ठूलो ‘प्रोजेक्ट’ गर्छु भन्नुभयो ।

गीतमा कथा लुकेको भन्दै दाइले यसलाई अझ बलियो बनाउन आग्रह गर्नुभयो । ‘दुःख र सुख दुवै समयलाई झल्काउने गरी गीतलाई पुनर्लेखन गर्नू’ भन्नुभयो । पुनर्लेखन गरेर गीत दाइलाई दिएँ । त्यो वेला गीतमा चार अन्तरा थिए । 

आएनन् लाहुरे ज्वाइँ–चेला पनि सुनसान भो घर
हुनेलाई दसैं रंगरस लाग्छ, हामीलाई के छ र ?

यस्तै–यस्तै हरफहरू गरेर जम्मा गीतमा चार अन्तरा राखेर दाइलाई दिएको थिएँ ।

गीत दाइलाई दिएको ठीक पाँच वर्षपछि ‘मुग्लान’ चलचित्र रिलिज भयो । गीतलाई लिएर दाइले चलचित्र बनाउँछु भन्नु त भएको थियो, तर मलाई ठट्टाजस्तै लागेको थियो । जब चलचित्र रिलिज भयो, आफ्नो गीत पनि सामेल भएको थाहा पाउँदा केही सोच्नै सकेको थिइनँ ।

सामान्य रूपमा गीत रचना गरिरहेको मान्छेको गीतलाई लिएर ठूलो पर्दामा चलचित्र निर्माण हुन्छ भन्ने सोचेको थिइनँ । जब गीत सुनेँ, दुई अन्तरा मात्र थिए, दुई अन्तरा थिएनन् । पाँच मिनेटको गीतमा चारै वटा अन्तरा राख्न पनि सम्भव हुँदैनथ्यो ।

मलाई त यो पनि थाहा थिएन कि, गीतमा आवाज कसको हुनेछ । जब ‘मुग्लान’ रिलिज भयो, तब मात्र थाहा पाएँ । उदित नारायण झा र दीपा झाले आवाज दिनुभएको रहेछ ।

चलचित्रले एकाएक चर्चा कमायो । रेडियोमा मात्र सीमित भएको गीतले पनि भिडियो पायो । रेडियोमा मात्र बज्दा सानो समुदायमा मात्र सीमित गीत ठूलो मात्रामा दर्शक–स्रोता पाएपछि एकाएक चर्चामा आयो । म भने यी सबै कुरा सपना हो कि विपना, छुट्याउनै सकिरहेको थिइनँ ।

कहिले पनि गीत लेख्दा कति चल्छ भनेर सोच्ने गरेको थिइनँ । त्योपटक पनि सोचेको थिइनँ । तर, गीत नसोचेको भन्दा पनि कल्पना गर्नै नसक्ने गरी चर्चित भयो । एक तरिकाले भन्नुपर्दा चलचित्रलाई नै प्रतिनिधित्व गर्ने गरी गीतले चर्चा पायो ।

आफ्नो रचना दसैंको समयमा जताततै बजेको सुन्दा जति आनन्द आउँछ, त्यो म शब्दमा वर्णन गर्न सक्दिनँ । झन्डै २० वर्षअघि रचना भएको गीत आज पनि जताततै उत्तिकै बजिरहेको सुन्छु ।

आजभोलि महसुस गर्छु, गीतमा मैले दसैंको यथार्थलाई उतारेको रहेछु भन्ने कुरा । त्यही कारण पनि होला, गीतलाई सबैले मन पराउनुभएको । दसैंमा प्रकृति, मानिस, वातावरण सबैको अवस्थाबारे वर्णन गर्ने प्रयास मात्र गरेको थिएँ ।

तर, मेरो प्रयासलाई सबैले रुचाउनुभयो । भलै, गीत सुन्ने धेरैलाई मेरो रचना हो भन्ने थाहा नहुन सक्छ । तर, सन्तानको प्रगतिमा कुन अभिभावक खुसी नहोला ? मेरो रचना पनि मेरो लागि सन्तान हो ।

पछिल्ला समयमा पनि दसैंको विषयलाई लिएर थुप्रै गीतहरू रचना गरेँ । तर, पुरानो गीतजति कुनै पनि बजेन । समय र शब्दको संयोजनको मेल भएर होला, ‘दसैं आयो’ गीत आज दसैंको पर्याय बनेको छ । 

(कुराकानीमा आधारित)


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्