महराविरुद्ध परेकाे माैखिक उजुरीमा के गर्दै छ प्रहरी ?

काठमाडौं- नेपाल प्रहरीले सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीलाई पटक–पटक ताकेता गर्दा पनि अहिलेसम्म लिखित उजुरी दिन नआएको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लिखित उजुरी नपरेकाले मौखिक उजुरीकै आधारमा प्रारम्भिक अनुसन्धान भने चलिरहेको बताए । 

'लिखित जाहेरीका लागि प्रहरीले ताकेता गर्यो, अहिलेसम्म आएको छैन, तर जानकारी आउनेबित्तिकै प्रहरीले आइतबार रातिदेखि नै अनुसन्धान गरिरहेको छ,' सुवेदीले भने । उनका अनुसार आइतबार राति ९ः०५ बजे प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोनमार्फत मौखिक जानकारी प्राप्त भएको थियो । सोही जानकारीका आधारमा रातिदेखि नै घटनाबारे अनुसन्धान भइरहेको र घटनामा जोडिएका सबै वस्तु सुरक्षित रहेको प्रहरीले जनाएको छ । 

परिसरका प्रवक्ता होबिन्द्र बोगटीले प्रारम्भिक अनुसन्धान भइरहे पनि लिखित उजुरी नआएसम्म अन्य प्रक्रिया अगाडि बढ्न समस्या हुने बताए । सोमबार विभिन्न सञ्चारमाध्यममा  महराले आफ्नो कोठामै आएर दुव्र्यवहार गरेको जनाउँदै ती महिलाको नाम जोडेर समाचार प्रकाशन भएको थियो ।  दुव्र्यवहार गरिएको आरोप लगाउने ती महिला कर्मचारीले मंगलबार भने आफैँले घटनाको खण्डन गर्दै आफूले डिप्रेसनको औषधि खाइरहेको र आवेगमा के बोलेँ आफूलाई नै पत्तो नभएको बताएकी छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले रिसको झोँकमा सभामुख महरा परेको उल्लेख गरेकी छन् । उनले आफ्ना बाबुसमानका मान्छेसँगको सम्बन्धलाई अनावश्यक रुपमा जोडेको र उचालेको जिकिर गरेकी छन् । 





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १४:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया