स्क्रब टाइफसबाट चितवनमा दुईजनाको मृत्यु, ९९ जनामा संक्रमण

चितवन– जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुईजनाको मृत्यु भएको छ भने थप ९९ जनामा संक्रमण देखिएको छ । 

स्वास्थ्य कार्यालय चितवनका कीटनियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी महिला र एकजना रौतहटका पुरुष रहेको केसीले जानकारी दिए । जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ, रौतहट, बारालगायका जिल्लाका रहेका छन् ।

स्क्रब टाइफस ओरिएण्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइटस)लाई संक्रमणमा पार्छ । ती संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्छन् ।

यी संक्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीरमा टाँसिएर टोक्ने केसीले जानकारी दिए । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा संक्रमित किर्ना प्रशस्त हुन्छन् । ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । गर्भवतीले स्क्रब टाइफसबाट संक्रमित भए उनकोे गर्भाशयमा रहेको शिशुकाे अ‌ंगभंग हुने सम्भावना रहेकाले यस सम्बन्धी परामर्श लिनुपर्ने चिकित्सकको सुझाब छ ।

आर्थिक वर्ष २०७४–७५ मा दुई हजार २ सय ३७ जनाको नमुना परीक्षण गर्दा ४ सय १० जनामा स्क्रब टाइफस भेटिएको थियो । यस्तै डेंगुबाट संक्रमण हुनेको संख्या तीन हजार ६ सय ६९ जना पुगेको छ । केसीका अनुसार ११ हजार ९ सय २७ जनामा परीक्षण गरिएको थियो । भदौको तेस्रो र चौथो साता निकै बढेको संक्रमण बिस्तारै घट्दै गएको छ । डेंगुबाट जिल्लामा दुईजनाको मृत्यु भएको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । 





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १५:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया