ऋचा शर्माको दसैँ अनुभव : अहिले त के दसैँ ? सानोमा पो रमाइलो हुन्थ्यो

सानो हुँदा दसैँमा जति रमाइलो हुन्थ्यो, आजभोलि त्यति रमाइलो नहुँदो रहेछ ।

दसैँ मात्र पनि होइन, बाल्यकालमा जस्तो रमाइलो त अब अरु चाडबाडमा पनि नहुँदो रहेछ । यस्तो हुनुको मुख्य कारणचाहिँ कामप्रतिको जिम्मेवारी नै रहेछ । जिम्मेवारी बढ्दै जाँदा पर्व, कार्यक्रम, उत्सवमा त्यति रमाउन सकिँदो रहेनछ ।

त्यसैले अहिले मलाई लाग्छ, यो दसैँ भनेको बच्चाहरूको चाड हो । अझ भनौँ, दसैँ साना नानीबाबुको लागि हो । फेरि, बालापन एउटा त्यस्तो उमेर हो, जतिवेला स–साना कुराले पनि ठुल्ठूला खुसी दिन्छन् । सानो कुरा पाउँदा पनि मन फुरुङ्ग हुन्छ, सायद त्यसैमा भुलिन्छ ।

मलाई पनि सानोमा दसैँ भन्दैमा त्यसै खुसी लाग्थ्यो । दसैँमा टीका, जमरा लगाउनेभन्दा पनि दसैँका लागि पूरै एक महिना स्कुल बिदा हुन्थ्यो । दसैँका १५ दिन र त्यसपछि तिहारसम्मका १५ दिन बिदा हुँदा शारीरिक, मानसिक थकानबाट मुक्त भएजस्तो आभाष हुन्थ्यो ।

एक दिन बिदा छ भन्ने थाहा पाउँदा त खुसीले उफ्रिने त्यो समयमा यतिको लामो बिदा पाएपछि खुसी हुनु स्वाभाविक नै हो । हो, त्यतिवेला एक महिनाका लागि अलि धेरै होमवर्क त हुन्थ्यो, तर सबै होमवर्क म केही दिनमै सकाइदिन्थेँ । अनि बाँकी दिन खुब मस्ती गरेर बिताउँथे ।

ठ्याक्कै दसैँभन्दा पनि दसैँ आउन थालेदेखि नै रमाइलो सुरु हुन्थ्यो । घर लिपपोत हुन्थ्यो, नयाँ रङ पोतिन्यो, सेलरोटी र अरु मिठाइहरू बन्थे । जतिजति दसैँ  नजिकिन्थ्यो, त्यतित्यति मन रमाउँथ्यो ।



टाढा–टाढा पुगेका मानिसहरू पनि घर फर्किन्थे । हामी पनि दसैँ मनाउन काठमाडौंबाट गाउँ (धनगढी) जान्थ्यौँ । दसैँमा सबैजना जम्मा भएपछि सँगै रमाइलो गरिन्थ्यो । अहिले सोच्दा, त्यसवेला त म संसारकै खुसी मान्छे थिएँजस्तो लाग्छ । 

दसैँ आउँदा गाउँको माहोल नै फरक हुन्थ्यो । मनै रमाएर होला, जता हेर्दा पनि रमाइलोे लाग्थ्यो । मौसम नै फरक लाग्थ्यो । ‘दसैँ आउँदै छ’ भन्ने सोच्दा पनि मन चंगा हुन्थ्यो । 



दसैँअघि बाबाले सपिङ गर्न पैसा दिनुहुन्थ्यो । हरेक दसैँमा उत्ति नै पैसा दिँदा भने म झगडा गर्थें । ‘मलाई यत्तिले पुग्दैन’ भनेर जिद्दी गर्थें । बाबाले ‘यतिले पुगिहाल्छ’ भनेर थपिदिन नमानेपछि म अलि धेरै पैसा मिलोस् भनेर आमालाई सिफरिस लगाइदिन भन्थेँ । आमाले भनेपछि अलि पैसा थपिन्थ्यो । अनि रमाइलो मान्दै सपिङ गर्थें । 

मेरो घर धनगढी हो । हामी स्कुल बिदा भएपछि सबैजना दसैँतिहार मनाउन गाउँ जान्थ्यौँ । गाँउको रूपरंग नै फरक हुन्थ्यो । ठाउँ–ठाउँमा पिङ हुन्थे, मान्छेहरू चंगा उडाइरहेको देख्दा आफ्नो मन पनि चंगा हुन्थ्यो । सबै साथीसँग भेट्न पाइन्थ्यो । दसैँको दिन सबैसँग टीका लागएर दक्षिणा पाउँदा अझ रमाइलो लाग्थ्यो । ठूला मान्छेले आफूभन्दा सानालाई टीका लगाएको देख्दा मलाई पनि आफूभन्दा सानालाई टीका लगाइदिन मन लाग्थ्यो ।

म घरको सबैभन्दा कान्छी थिएँ । त्यसैले पनि धेरै माया पाएर हुर्किएँ । दसैँमा पनि धेरै दक्षिणा पाउँथेँ ।

हामी सबैजना टीका लगाइसकेपछि तास खेल्थ्यौँ । म पनि खेल्थेँ । एउटा रमाइलो कुरा के छ भने, मैले तास खेल्दा कहिल्यै जितिनँ । आजभोलि खेल्दा पनि त्यस्तै हो । अहिले सम्झिँदा हाँसो लाग्छ । म तासमा पैसा हारेपछि रुन थाल्थेँ । पूरै आँखाभरि आँसु देखेपछि मसँग जितेको पैसा फिर्ता दिँदै सबैले ‘योसँग त अब कहिले नि तास खेल्दिनँ’ भन्थे । अहिले सम्झिँदा मनै आनन्दित हुन्छ । 

दसैँको अर्काे पनि एउटा रमाइलो प्रसंग छ । तासको हकमा कुरा गर्नुपर्दा म कहिल्यै भाग्यमानी भइनँ । पहिले हार्दा गुनासो गर्थें, तर अहिले तास, जुवाजस्तो कुरामा कहिल्यै भाग्यमानी हुन नपरोस् भन्ने लाग्छ । यही कुरामा एउटा अर्काे रमाइलो प्रसंग पनि छ । दसैँमा बाबाहरू रातभरि तास खेल्नुहुन्थ्यो । तास खेलिसकेर जब उहाँहरू उठ्नुहुन्थ्यो, त्यसपछि म कोठा सफा गर्थें । कोठा सफा गर्दा चकटीमुनि पैसा पनि भेटिन्थ्यो । खुब खुसी लाग्थ्यो, पैसा भेट्दा । 

अहिले त्यति रमाइलो लाग्दैन । दसैँ आएको महसुस नै हुँदैन । अब ठूलो भएर पनि होला । बाबासँग जोडिएका धेरै सम्झनाहरू छन् । कहिलेकाहीँ सोच्दा निकै खल्लो लग्छ । बाबा बित्नुभएको १० वर्ष भयो । अहिले सम्झिँदा बाबा नहुँदा धेरै कुरा गुमाएजस्तो लाग्छ । दसैँमा म सबैभन्दा धेरै बाबालाई मिस गर्छु । बाबा मेरो लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो । खल्लो लाग्छ, त्यसमाथि अहिले घरका अन्य सदस्य पनि सँगै हुनुहुन्न । यस अर्थमा भन्नुपर्दा सबैजना पहिलेजस्तो सँगै नभएर पनि दसैँमा त्यति उत्साह जाग्दैन । 

जीवनको हरेक स्टेज एउटै हँुदैन । उमेरसँगै जिम्मेवारी, कर्तव्य पनि बढ्दै जान्छ । समयको बेगसँगै कुराहरू परिवर्तन हँुदै जान्छन् । यो सबैको हकमा लागू हुने कुरा हो । ढिलोचाँडो भन्नु अर्काे पाटो हो । 

कलाकार भइसकेपछि स्वाभाविक रूपमा घर, परिवार भन्न पाइँदैन रहेछ । हाम्रो काम त अझ चाडपर्वमा धेरै पर्छ । धेरै कार्यक्रममा देश–विदेश धाइरहनुपर्छ । यसपालि पनि एउटा कार्यक्रमका लागि हंगकंग जाँदै छु । तर, अहिलेसम्म जहाँ गए पनि हरेक दसैँ आफ्नै परिवारसँग मनाउन पाएको छु । यो मानेमा म भाग्यमानी ठान्छु आफूलाई । कामले कहिले पनि बाहिर बस्नुपरेको छैन । बाबा बित्नुभएको सालबाहेक कुनै पनि दसैँ मैले घरबाहिर मनाउनुपरेको छैन । बरु एउटा दसैँमा म नवमीमा घर पुगेको छु, तर मिस भने गर्नुपरेको छैन । चाहन्छु, यही सौभाग्य सधैँ जुरिरहोस् ।  

दसैँ मनाउने प्रवृत्तिमा आजभोलि धेरै परिवर्तन आएजस्तो लाग्छ । हुन त म उमेरमा त्यति पाको भएको छैन, यसो भन्न । तर, मैले आफूले बाँचेको र अनुभव गरेको समयलाई हेर्दा आजभोलि निकै परिवर्तन आएजस्तो लाग्छ ।

मान्छेहरू मनाउनलाई मात्रै मनाउँछन् आजभोलि । चंगा नउडाइने होइन, पिङ नखेलिने होइन, अनि तास पनि खेलिन्छ । तर, मोबइलमा धेरै । मान्छेहरू जे पनि मोबाइलबाटै गर्न थालेका छन् । केही हदसम्म यो प्रविधिको विकासको नराम्रो पक्ष हो जस्तो लाग्छ । पहिले–पहिले जताततै पिङ खेलेको, चंगा उडाएको देखिन्थ्यो । आजभोलि मान्छेहरू त्यसरी चाड माउँदैनन्, जसरी पहिले मनाइन्थ्यो ।

यसलाई नराम्रो प्रवृत्ति त भन्दिनँ, तर मलाई केही कुरामा त्यति चित्त बुझ्दैन । त्यो के भने, पहिले–पहिले मान्छेहरू दसैँमा टाढा–टाढाबाट घरमा टीका ग्रहण गर्न, भेटघाट गर्न आउँथे, तर आजभोलि मान्छेहरू दसैँजस्तो महत्वपूर्ण पर्व, उत्सवमा बाहिर घुम्न जान्छन् । दसैँतिहारजस्तो पर्व मनाउनुको मुख्य उद्देश्य नै धेरै समयदेखि घर छाडेर बाध्यताले टाढा बस्नुपरेका आफन्तसँग भेट होस्, सुखदुःखका कुरा गर्न पाइयोस् भन्ने हो । घर छाडेर टाढा जानुपरेका आफन्तलाई भेट गराउने मौका, बहाना हो । 

आजभोलि मान्छेहरू व्यक्तिकेन्द्रित हुँदै छन् । मान्छेहरूलाई आफ्नो सुसीसँग मात्र मतलब छ । सँगै भइरहेकाहरू पनि चाडपर्वमा टाढा हुन्छन् । यस समयमा घुम्न जानु नराम्रो भनेको होइन, तर हामीले यो समयमा सँगै बसिदिँदा परिवारलाई पनि खुसी मिल्ला भन्ने हो । मलाई दसैँ र तिहारको सुन्दर पक्ष नै यही हो जस्तो लाग्छ । हामी भेट्न, सुखदुःख बाँड्न सक्छौँ, रमाउन सक्छौँ ।

यो मानवीय गुण नै होला, आफूसँग भइरहेको कुरालाई त्यति महत्व नदिने । तर, जब हामीसँग हुँदैन, तब हामी बिलौना गर्न थाल्छौँ । मलाई लाग्छ, यो पर्व सबै सँगै बसेर मनाउँदा अझ राम्रो हुन्छ । दसैँको महत्वपूर्ण र सुन्दर पक्ष नै यही हो । 

दसैँ र तिहारमा मलाई अर्को एउटा कुराले निकै नराम्रो अनुभूति दिन्छ । आफ्नो जीवनको मुख्य मान्छे नै घरबाट टाढा भएका कारण दसैँतिहार मनाउन नपाउनेहरूलाई दसैँ निकै खल्लो लाग्छ । अझ, जीवनको मुख्य मान्छेलाई सधैँभरिका लागि गुमाउनुपरेको पीडाले त धेरै नै पिरोल्छ । पीडा हुन्छ, निकै खल्लोपनको अनुभूति हुन्छ ।

मलाई बाबाको याद त अरु वेला पनि आउँछ, तर दसैँमा धेरै नै मिस गर्छु । बाबासँग मनाएका हरेक दसैँको यादले मलाई नराम्रो पनि लाग्छ । मेरा लागि दसैँको समयमा नराम्रो कुरा नै यही हो । जीवनको महत्वपूर्ण मान्छे सँगै नहुँदा कति खल्लो लाग्छ । दसैँतिहारको समय, उत्सवको समय, कतिका लागि यो समय पीडादायी पनि हुन्छ । देशमा पर्याप्त रोजगारीको अवसर नभएर धेरै नेपाली खाडी तथा अन्य मुलुकमा श्रम गर्न गएका छन् । यो समयमा उनीहरू घर आउन नपाउँदा कत्ति खल्लो लाग्दो हो जस्तो लाग्छ । के गर्नु, हाम्रो नियति नै यस्तै छ । 

यसबाहेक दसैँको समयमा अर्काे नराम्रो पैसा नभएरै मीठो मसिनो खानेकुरा र एक जोर लुगा किन्न नसक्नेहरूलाई देख्दा पनि लाग्छ । कतिपय मान्छेका लागि यो समय पैसा नभएकै कारण खल्लो हुन्छ । सधैँ गर्न नसके पनि यो वेला जसरी भए पनि एक जोर नयाँ लाऊँ र मीठो मसिनो खाऊँ भनेर पनि यो पर्व मानिने हो, तर पैसा नभएर दसैँजस्तो रमाइलो पर्व मनाउन नसकेको देख्दा निकै नरमाइलो लाग्छ । 

अर्को कुरा के पनि हो भने, हाम्रो देशमा यही वेला महँगी बढ्छ । व्यापारीहरूले गाडीभाडादेखि रासनमा पनि मूल्य बढाउँछन्, सरकार केही बोल्दैन । सरकार आफ्नो अभिभावक हो भन्ने कुराको कसैले अनुभूति गर्न सकेका छैनन् । 
 

  • प्रकाशित मिति : असोज १६, २०७६ बिहीबार ९:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया