Thu, 17 Oct, 2019


नारायण ढकालकाे दसैँ : पुस्तक पढ्ने उपयुक्त समय हो
नारयण ढकाल
फरकधार / असोज १६, २०७६

दसैँ त बाल्यकालमा रमाइलो थियो । नयाँ लुगा लगाउन पाइन्थ्यो । दसैँ भन्नासाथ नयाँ लुगा लगाउन पाइन्छ भनेर खुसी भइन्थ्यो । दसैँबाहेक अन्य समयमा लगाउने लुगा एक जोडी मात्र हुन्थ्यो । धुनुपर्दा खोलेर धोइन्थ्यो । दसैँले मेरा लागि नयाँ जोडी लुगा लिएर आउँथ्यो । दसैँमा अरूभन्दा पनि नयाँ लुगा लगाउन पाएकोमा खुसी हुन्थेँ ।



गाउँमा अन्य समयमा भन्दा दसैँको वेलामा खाने परिकार नि निकै बनाइन्थ्यो । पिङ हालिन्थ्यो । आमाबाबासँग मामाघर जान पाइन्थ्यो । बालसुलभ मन त हो, यस्तै कुराले खुसी भइदिने । अन्य समयमा प्राप्त गर्न नसकिने कुरा दसैँको समयमा प्राप्त हुने भएकाले पनि होला, दसैँ बाल्यकालमा नै रमाइलो थियो, मेरा लागि । छोरीचेलीलाई दक्षिणा दिने तर आफूलाई नदिँदा केही नरमाइलो लागे पनि मामाघरमा आफूले पनि दक्षिणा पाइने भएकाले मन बुझाउने बाटो थियो ।

जब–जब उमेर बढ्दै गयो, दसैँको रमाइलो पनि घट्दै गएझैँ लाग्छ । पहिलेको जस्तो अनुराग छैन । त्यो हाँसखेल, आमाको हात समाएर मामाघरसम्मको यात्रा, त्यो पिङको मच्चाइ । यस्ता अनुभूति बाल्यकालसँगै बितिजाँदा रहेछन् । अहिले चाहेर पनि बाल्यकालको जस्तो दसैँ मनाउन सम्भव छैन । तर, दसैँ नमनाई बस्ने भन्ने कुरा भने होइन । मैले बाल्यकालमा गरेका जस्तै अनुभूति अहिले बालक अवस्था हुनेले गरिरहेका छन् । भोलि अरूले गरिरहनेछन् । परिवारसँग मिलेर ठूलाको आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परालाई निरन्तर रूपमा लैजानु हाम्रो कर्तव्य हो ।

मेरा व्यक्तिगत अनुभूति आफ्ना ठाउँमा छन् । तर, दसैँको नाममा औपचारिकताको सीमालाई धेरै उच्च बनाउनुपर्ने कुनै कारण छैन । पहिले दिइने दसैँ बिदामा केही कटौती भए पनि महिना दिनसम्म अहिले पनि बिदा भइरहेको छ । जसको फलस्वरूप हरेक क्षेत्रका कार्यालय बन्द हुन्छन् । उत्पादनशील मानसिकताले पनि धेरै मात्रामा आराम पाएर काम ठप्प भएका हुन्छन् । राज्यले अरू समयमा गर्ने बौद्धिक उत्पादनमा ह्रास आउँछ भन्दा फरक नपर्ला । आराम गर्ने समय भनेर कसैले पनि मानसिक रूपमा आफूलाई व्यस्त राख्ने काम दसैँमा भएको छैन जस्तो लाग्छ ।

अर्कातिर दसैँमा लंैगिक विभेद पनि भएको महसुस गर्छु । घरायसी काममा महिला मात्र खटिरहेको देख्दा अचम्म लाग्छ । पकाउने, खुवाउने, माझ्ने, सरसफाइलगायत सबैजसो काम महिलाले मात्रै गरिरहेका हुन्छन् । पुरुषले भने महिलाको मिहिनेतले तयार भएका वस्तुको उपयोग मात्र गरेका हुन्छन् । कुनै पनि घरायसी काममा महिलाबाहेकको भूमिका निकै कम रूपमा भएको छ । 

फरक दृष्टिकोणले हेर्ने हो भने, दक्षिणाको कुरामा पनि लैंगिक विभेद भएजस्तो लाग्छ । पुरुषलाई दक्षिणा नदिने। महिलालाई मात्र दक्षिणा दिने कुराले महिला कमजोर भएकाले उनीहरूले आर्थिक रूपमा आफूलाई बलियो बनाउन सक्दैनन् भन्ने अर्थ पनि दिन्छ । महिलाले आफँै कमाउन सक्दैनन्, उनीहरूलाई दक्षिणा दिनुपर्छ भन्ने परम्पराले पनि अप्रत्यक्ष रूपमा लैंगिक विभेदलाई प्रोत्साहन दिएको महसुस गर्न सकिन्छ । एक प्रकारले भन्नुपर्दा महिलामाथि गरिने अन्यायको नाम दिन सकिन्छ, यसलाई ।

सामाजिक दृष्टिले हेर्दा दसैँमा मीठो खाने, राम्रो लगाउने भन्ने जुन मानसिकताको सिर्जना भएको छ, त्यसले धेरै दुर्घटना पनि निम्त्याइरहेका छन् । एउटा निम्नवर्गको नेपाली, जसले अन्य समयमा बिहान–बेलुकाको खाना मात्रको जोहो गर्नुपर्ने जिम्मेवारी पूरा गरिरहेको हुन्छ, उसलाई दसैँको समयमा थप जिम्मेवारीले पिरोल्छ । अरू घरपरिवारमा भएको रमझम देखेर उसले मन थाम्न नसक्नु स्वाभाविक हो । 

झन् साना बालबच्चाको मन बुझाउन पनि उसले बढी नै मिहिनेत गर्नुपर्छ । सबैतिर कामकाज ठप्प भएका वेला सामान्य रूपमा मनाउन निकै कठिन हुन्छ, निम्न वर्गका परिवारलाई । राज्यले सामान्य मानव अधिकार तथा सामाजिक अधिकारका कुरालाई निम्नवर्गको मान्छेको बीचमा पुर्याउन नसक्नुले पनि आफ्नो सामथ्र्यभन्दा बढी खर्च गर्ने बाध्यताको सिर्जना भएको छ । सबैलाई समान रूपमा विकासको धारमा ल्याएर अघि बढ्न सकेमा निम्न वर्ग पनि माथि उठ्न सक्छ । भोलि उनीहरूले दसैँ मनाउने मन हुँदा अहिलेको जस्तो ऋण काढ्ने वा कसैबाट उधारो लिनुपर्ने अवस्था रहँदैन ।

झन् पछिल्लो समय नेपाललाई धर्मनिरपेक्ष घोषित गर्नुअघिका विवाद देख्दा त अचम्म लाग्छ । दसैँ नेपालीको महान् चाड भए पनि हिन्दू परम्पराबाट सुरु भएको चाड हो । यसलाई हरेक नेपालीको चाड हो भन्नुको अर्थ छैन । कतिपय नेपाली समुदाय छन्, जसले दसैँ मनाउनुपर्दैन । हिन्दूको चाडलाई राष्ट्रिय चाडको नाम दिनु गैरहिन्दूमाथि कदापि न्यायपूर्ण होइन । भलै देशमा हिन्दूको संख्या गैरहिन्दूको तुलनामा धेरै छ । तर, गैरहिन्दूका चाड तथा परम्परालाई सामान्य रूपमा मनाएर दसैँलाई धुमधामसँग मनाउने चलनलाई कदापि पनि राम्रो भन्न मिल्दैन । गैरहिन्दूलाई दसैँ नमाउन अधिकार छ । उनीहरूले दसैँ नमान्ने भनेर विरोध गर्नु पनि एकदम जायज हो । 

जबसम्म हरेक धर्म र समुदायको परम्परा र चाडलाई समान रूपमा स्थापित गर्न सकिँदैन, एउटा मात्रै धर्मको चाडलाई प्रमुख बनाएर अघि बढ्न पनि मिल्दैन । गैरहिन्दूका चाडलाई हिन्दूले नमनाउँदा हुने, तर दसैँलाई भने सबैले मान्नैपर्ने वातावरणको सिर्जना हुनुले अन्य समुदायमाथि अन्याय भएको स्पष्ट रूपमा साबित हुन्छ । हरेकलाई समान गर्ने हो भने सबै धर्मका मानिसले सबै धर्मका चाडलाई आफैँ स्विकारेर मान्न थाल्नेछन् ।

अहिलेको समयमा खासै विरोध भएको छैन । एक–अर्काका चाड मनाउँदै आएका छन् । राष्ट्रिय एकतालाई कायम गर्नका लागि पनि सबै बीचमा समन्वय भएर चाड मान्नुपर्छ । जबर्जस्ती गर्नुपर्ने केही अर्थ छैन ।

म आफूलाई भने दसैँ पुस्तक पढ्नका लागि उपयुक्त समय लाग्छ । सबै तनाव र व्यस्तताबाट मुक्त भएको समयमा केही ज्ञान हासिल गर्ने इच्छा जाग्छ, मभित्र । साथीभाइलाई दसैँ भन्नासाथ रमझम गर्ने, मिलेर तास खेल्ने, मादक पदार्थ सेवन गर्ने समय हो भनेको सुन्छु । मलाई भने कुनै रूपमा पनि त्यस्तो लाग्दैन । दैनिकी अरू दिनको जस्तै सामान्य रूपमा नै चलिरहेको हुन्छ, दसैँमा पनि ।

केही मात्रामा पारिवारिक भेटघाट बढ्छ । त्यसबाहेक कुनै पनि फरक हुँदैन । यस्तो समयमा म पुस्तक पढेर समय बिताउँछु । अन्य दिनभन्दा दसैँका वेला पुस्तक पढ्नुमा छुट्टै मज्जा र आनन्द छ । सारा देश नै निष्क्रिय रहेका वेला आफ्नो मस्तिष्कलाई चलायमान बनाउन आनन्द लाग्छ । कहिलेकाहीँ घरमा आउनेले दसैँको समयमा रमाइलो गर्ने हो, पुस्तक पढ्ने होइन पनि भन्छन् । तर, म भने आफ्नै गतिमा पुस्तक पढिरहन्छु ।
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्