काठमाडौं– तत्कालीन सभामुख कृष्ण बहादुर महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको पहिलोपटक अन्तवार्ता लिएका अजयबाबु सिवाकोटीलाई प्रहरीले सुरक्षा निगरानी दिन थालेको छ ।
सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए । पछिल्लो समय सिवाकोटीले उठाएको इस्यु चर्चामा रहेकोले सुरक्षाका दृष्टिले प्रहरीले निगरानी गरेको उनको भनाइ छ । तर, उनको सुरक्षामा सुरक्षाकर्मी नै खटाएको भने छैन ।
सिवाकोटीले सो घटना बाहिर आएलत्तैबाट आफूलाई र आफ्नी पत्नीलाई विभिन्न अपरिचित नम्बरबाट निरन्तर फोन आइरहेको, राजधानीका दुईवटा रेष्टुरेन्टमा बसेर केही व्यक्तिले आफूलाई सिध्याउन योजना बनाएको सूचना थाहा पाएको बताएका छन् । ‘केही व्यक्तिले रेष्टुरेन्टमा बसेर मलाई केही न केही गर्नुपर्ने सल्लाह गरिरहेको सूचना पाएपछि मैले प्रहरीलाई मौखिक जानकारी गराएको छु,’ उनले भने।
सोमबार रोशनीले सिवाकोटीसँग अन्तर्वार्ता दिँदै महराले आफूलाई बलात्कार गरेको बताएकी थिइन् । सो अन्तवार्ताको भिडियो हाम्रा कुरा डटकममार्फ प्रसारण भएको थियो ।
नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका सिवाकोटी सो अनलाइनका सम्पादक हुन् । सोही अन्तर्वार्ता प्रकाशित भएको भोलिपल्ट मंगलबार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
महराको राजीनामापछि भने अर्को मिडियासँग भिडियो अन्तर्वार्ता दिँदै उनले अघिल्लो दिन आफू आवेशमा आएर सभामुखलाई झुटो आरेप लगाएको बताएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।